Comments Add Comment

कर्णालीका मुख्यमन्त्रीले लिए नेकपा जिल्ला नेतृत्वको सुझाव

८ मंसिर, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा कर्णाली प्रदेशको जिल्ला नेतृत्वबाट सुझाव लिएका छन् । सबै जिल्लाका इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवबाट सुझाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार २ दिनसम्म अन्तरक्रिया गरी सरकार सञ्चालन सम्बन्धी सुझाव संकलन गरिएको हो ।

अन्तरक्रियामा सरकार र पार्टीका सबै तहका अंगहरुलाई जनताको आधारभूत जीवनमा देखिने गरी परिवर्तन गर्दै समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निश्कर्ष निकालिएको सहभागी रुकुम पश्चिम अध्यक्ष गोपाल शर्माले जानकारी दिए ।

पार्टी एकतापछि पहिलो पटक भएको अन्तरक्रिया कार्यक्रममा पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवहरुले सुझाव राखेका थिए भने दोश्रो दिन जिल्ला सह-इञ्चार्ज तथा इञ्चार्जहरुले सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्याहरुको चर्चा गरेका थिए ।

अन्तरक्रियाका सहभागीबाट पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, सामूहिक काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्ने लगायतका सुझाव दिइएको नेकपा केन्द्रीय सदस्य एवं रुकुम पश्चिमका इञ्चार्ज राजकुमार शर्माले बताए ।

पार्टी नेतृत्व र सरकार बीचको यस्तो अन्तरक्रियाले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए ।

सुझाव लिएपछि मुख्यमन्त्री शाहीले सरकारको सफलताका लागि पार्टी र सरकारबीच आपसी समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment