Comments Add Comment

उपेन्द्र यादवले कानुन मन्त्रालयबाटै संविधान संशोधनको पहल गर्ने

९ मंसिर, काठमाडौं । सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

कानुन मन्त्रालयका सचिव राजिव गौतमलाई खबर गरेर आउँला भनेका उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादव पाँच दिनदेखि सिंहदरवार छिरेका थिएनन् । पोखराबाट काठमाडौं फर्किएलगत्तै सोमबार अपराह्न उनी मन्त्रालय गए र कार्यभार सम्हाले । कार्यभार सम्हाल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अलि बढी नै माया गरेको बताए ।

मन्त्रिपरिषद हेरफेरमा स्वास्थ्यबाट कानुन मन्त्रालयमा सारिएका यादवले मन्त्रीका रुपमा मन्त्रालयमा पदबहाली पनि गरेका थिएनन् । यद्यपि मन्त्रालयले उनको नेमप्लेटदेखि वेवसाइटमा समेत मन्त्रीको नाम अद्यावधिक गरिसकेको थियो ।

यादवलाई थाहै नदिई मन्त्रालय फेरिएको र स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई हटाएको भन्दै उनीमाथि सरकार छाड्न पार्टीभित्र दबाब परेको छ । पार्टीमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले सरकार छाड्न दबाब दिइरहेका बेला यादव भने एकपटक प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका विषयमा छलफल गरौं भन्ने पक्षमा उभिएका छन् ।

यादवले तत्काल सरकार छाड्दा आफ्नो ठाउँमा ओलीले राजपा नेताहरुलाई मन्त्री बनाउने र प्रदेश २ मा समेत नेपाल कम्युनिस्ट पार्टी र राजपा मिलेर सरकार बनाउँदा समाजवादी पार्टी एक्लो हुने भन्दै सरकार छाड्न आनाकानी गरेका छन् ।

कानुन मन्त्रालय पाएका बेला संविधान संशोधनको पहल गरेको भनेर जनतामा सन्देश दिने गरी एकपटक प्रयास गर्ने चाहना यादवको रहेको उनी निकट एक नेताले बताए ।

यद्यपि डा.बाबुरामले पोखरामा आइतबार आफूविरुद्ध गरेको उत्तेजक भाषणबाट प्रधानमन्त्री ओली आक्रोशित बनेको र त्यसको असर यादवको मन्त्री पदमाथि समेत पर्न सक्ने डर उनी निकटस्थहरुको छ ।

यादव निकट एक समाजवादीका नेताले भने ‘उपेन्द्र यादवलाई सरकारबाट ओलीले हटाइदिउन् भन्ने ढंगले डा.बाबुरामले पोखरामा नचाहिँदो उत्ताउलो भाषण गर्नुभयो । बालुवाटारको बैठकमा संयमित भएर भारतसँग वार्ता गरौं भन्ने, अनि पोखरा गएर उग्रराष्ट्रवादको डम्फू बजाउने मुख्य नियत चाहिँ उपेन्द्रलाई अप्ठेरो पार्नुनै हो ।’

यता प्रधानमन्त्री ओलीमाथि पनि उपेन्द्रलाई सरकारबाट हटाउन दबाब परिरहेको छ । सत्तामा रहेर पनि सत्तापक्षको भूमिका नदेखाएको र बाबुराम भट्टराईले निरन्तर सरकारको उछितो काढेकोमा ओली असन्तुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment