+
+
Shares

विवाहपञ्चमीमा भारतीय जन्तीलाई ५६ व्यञ्जन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १९:४८

९ मंसिर, जनकपुरधाम । यस पटक भारतको अयोध्याबाट जनकपुरधाम आउने जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा स्वागत गरिने भएको छ । प्रत्येक पाँच बर्षमा अयोध्याबाट विवाहपञ्चमीको अवसर पारेर जनकपुरधाममा जन्ती आउने गर्दछ ।

यस पटक अयोध्याबाट जन्ती हिँडिसकेको र मंसिर ११ गते आइपुग्ने जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले जानकारी दिए । उनले यसअघि जानकी मन्दिरभित्रै विवाहपञ्चमी महोत्सव मनाउँदै आएकोमा २०६१ सालदेखि प्रत्येक पाँच बर्षमा भारतबाट जन्ती आउन थालेको बताए ।

भगवान राम र माता सिताको विवाह भएको स्मरणमा प्रत्येक बर्ष विवाहपञ्चमी मनाइन्छ । त्रेतायुगमा रामको राज्य अयोध्याबाट रामसहित लक्ष्मण, शत्रुद्यन र भरत जनकपुरधाम आएर धनुष तोडी जनकपुरधाममै विवाह गरेको स्मरण गर्दै प्रत्येक पाँच बर्षमा अयोध्याबाट जन्ती आउने परम्परा शुरु भएको दासले बताए ।

‘यस पटकका लागि अयोध्याबाट जन्ती हिँडिसकेको छ’ दासले सोमबार पत्रकार सम्मेलन गरी भने, ‘जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा स्वागत गरिनेछ ।’
भारतीय जन्तीलाई मंसिर १३ गते रंगभूमि मैदानमा आयोजना गरिने कार्यक्रममा स्वागत गरिने उनले बताए ।

भारतबाट आउने जन्तीलाई स्वागत गर्दै ५६ प्रकारको व्यञ्जन खुवाइने दासले बताए । ‘झण्डै पाँच सय भारतीय जन्ती आइरहेका छन्’ उनले भने, ‘उनीहरुलाई बस्ने व्यवस्था मिलाइसकिएको छ, र त्रेतायुगमा राजा जनकले जन्तीलाई भोज खुवाएझैं ५६ प्रकारको व्यञ्जन खुवाएर स्वागत गरिनेछ ।’

यस पटकको विवाहपञ्चमीमा सांस्कृतिक कार्यक्रममार्फत त्रेतायुगको झल्को दिने दृश्यहरु प्रस्तुति गर्ने कार्यक्रमसमेत रहेको छ । यस पटकको विवाहपञ्चमी महोत्सव मंगलबारबाट प्रारम्भ हुँदैछ । सप्ताहव्यापी गतिविधि गर्दै विवाहपञ्चमी मनाउन लागिएको दासले बताए ।

महोत्सवको पहिलो दिन मंसिर १० गते मंंगलबार जनकपुरधाम नगर दर्शन, ११ गते बुधबार फूलबारी लीला, १२ गते बिहीबार धनुषयज्ञ (रंगभूमि), १३ गते शुक्रबार जानकी मन्दिर प्राङ्गणमा तिलकोत्सव, १४ गते शनिबार गंगासागर पोखरीघाटमा मटकोर, १५ गते आइतबार स्वयम्वर तथा शुभ विवाह र अन्तिम दिन १६ गते अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरिने कार्यक्रम तय गरिएको छ । जन्तीलाई वीरगञ्जसम्म विदाई गरिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?