Comments Add Comment

सागमा प्रधानमन्त्रीको ध्यान : रंगशाला निरीक्षण, खेलाडीलाई सम्बोधन

१० मंसिर, काठमाडौं । दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली यसको व्यवस्थापन, खेलाडीको मनोबल वृद्धिलगायतमा केन्द्रित हुन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दक्षिण एसियाली खेलकुद (साग) का खेलाडीलाई विशेष सम्बोधन गर्दैछन् । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद (साग) का खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

दुई दशकपछि यही मंसिर १५ गतेबाट नेपालमा साग खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू काठमाडौंसहित पोखरा र जनकपुरमा हुँदैछन् ।

साग आउन ५ दिन बाँकी रहँदा प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुने खेलाडीको मनोबल बढाउने ध्येयका साथ सम्बोधन गर्न लागेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकका लागि केही प्याकेज घोषणा गर्ने ठानिएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय महिला भलिबल खेलाडीहरूलाई पुरस्कार दिने तयारी पनि छ । बंगलादेशमा भएको एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल अटिमले स्वर्ण जितेको थियो । उनीहरू नेपाल फर्किएलगत्तै खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पुरस्कार वितरण गर्ने घोषणा गरेका थिए । यही घोषणाअनुरूप आज प्रधानमन्त्रीको हातबाट पुरस्कृत गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले आजै साग खेलकुदको तयारीबारे पनि जानकारी लिने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार, प्रज्ञाको सम्बोधनपछि ओलीले दशरथ रंगशालाको मर्मत कार्य अवलोकन गर्नेछन् । सागको उद्घाटनसँगै विभिन्न फुटबललगायतका खेल दशरथ रंगशालामा निर्माण हुने भए पनि अझै यसको मर्मत सकिएको छैन ।

आजै साँझ ५ बजे प्रधानमन्त्री अध्यक्ष रहने उच्चस्तरीय निर्देशन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । यो समितिमा साग खेल आयोजना हुने प्रदेशका मुख्यमन्त्रीहरू, युवा तथा खेलकुद मन्त्री, खेलकुद मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment