+
+
Shares

पदाधिकारी विवादले लिखु तामाकोसीको काम ४ महिनादेखि ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १४:२२

१० मंसिर, रामेछाप । पदाधिकारीबीचको विवादले लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि विकास निर्माणका कुनै काम सुरु गर्न सकेको छैन ।

गाउँपालिकाको वडानम्बर-१ दुरागाउँमा विद्युतीकरण गरिएको रकम भुक्तानीको विषयमा गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्का, उपाध्यक्ष दीपशिखा दाहाल, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहति कार्यपालिकाका अन्य सदस्यहरु बीच गत असारदेखि विवाद छ ।

गाउँपालिका अध्यक्ष खड्काले विद्युतीकरण गर्दा करिब १० करोड खर्च भएकोले उक्त रकम कार्यपालिका बैठकले छुट्याउनु पर्ने प्रस्ताव गरेका थिए ।

तर उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत एव्म अन्य सदस्यहरुले पालिकाको अनुगमन समितिले अनुगमन गरेपछि मात्र खर्च भुक्तानी गर्नु पर्ने अडान लिएका थिए । उनीहरुले अध्यक्ष खड्काले एकलौटी रुपमा गरेको कामको अनुगमन नगरी रकम भुक्तानी गर्न नसकिने बताएपछि बैठकमै हात हालाहालको अवस्था आएको थियो ।

गाउँपालिका अध्यक्ष खड्काले कुर्सी उचालेर आक्रमण गर्न खोजेपछि बैठक त्यतिकै रोकिएको लिखुतामाकोसी गाउँपालिका-७ का वडाअध्यक्ष सुवाष बोहोरा बताउँछन् ।

घटनापछि असुरक्षित भएको भन्दै गएको असार महिनादेखि गाउँपालिका छाडेका प्रमुख प्रशासकीय अधिकृत गाउँ फर्किएका छैनन् । गाउँपालिकामा लेखाका कर्मचारी पनि गएका छैनन् ।

गाउँपालिकामा काम गर्ने कर्मचारीको तलबनै रोकिएपछि दशैंअघि उपलब्ध कार्यपालिका सदस्यहरुको सदरमुकाम मन्थलीमा बैठक बसी दशैंसम्मको तलब फुकुवा गरिएको थियो । त्यसपछि पालिकाको कुनै पनि काम अघि बढ्न सकेका छैनन् ।

असारको बैठकमा विवाद भएपछि काठमाडौं गएका गाउँपालिका अध्यक्ष गोविन्द खड्काले सोही पालिकाको वडानम्बर ७ का बाबुराम तामाङ्विरुद्ध २ करोड रुपैयाँ माग गरी धम्क्याएको उजुरी प्रहरीमा गरे । उजुरीको आधारमा प्रहरीले तामाङलाई स्वयम्भूबाट गोली हानी पक्राउ गर्‍यो ।

उनलाई पक्राउ गरेपछि खड्काले गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल, वडाअध्यक्ष सुवाष बोहोरा र सोही पालिकाका नेकपाका नेता ध्रुब कार्कीले प्रयोग गरी उनलाई रकम माग्न लगाएको भन्दै प्रहरीमा किटानी जाहेरीसहितको मुद्दा दर्ता गरे ।

सोही घटनापछि आफ्नै निर्वाचित जनप्रतिनिधि र पार्टी नेताविरुद्ध झुठा मुद्दा लगाएको भन्दै उनलाई पार्टीको प्रदेश कमिटीले साधारण सदस्यबाट समेत निलम्बित गर्‍यो ।

उजुरी परेका न्यौपाने, बोहोरा र कार्की अदालतको आदेशबाट धरौटी बुझाएर छुटेका छन् । यसले गर्दा विवाद अझ बढेको छ ।

गाउँपालिका अध्यक्ष गोविन्द खड्का यो आफ्नो प्रतिष्ठाको लडाइ भएकोले कोहीसँग सम्झौता नगर्ने बताउँछन् ।

नागरिक समाजको तर्फबाट जताको काम रोकिएकोले एकपट सबै जना सँगै बसेर कुरा गरौं भन्ने प्रस्ताव राख्दा अध्यक्ष खड्काले जनताको काम रोकिए उनीहरु आफैं जाग्ने, यसमा अरु कसैले टाउको दुखाउन आवश्यक नरहेको जवाफ दिएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ बताउँछन् ।

समस्या समाधानको लागि गाउँपालिका उपाध्यक्ष र अन्य पधाधिकारीले पनि कुनै चासो देखाएका छैनन् । ७ वटा वडा रहेको गाउँपालिकामा वडानम्बर २ बाहेक अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा तत्कालीन नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

सबै पदाधिकारीहरु आफ्नै पार्टीर्का निर्वाचित भएर पनि पालिकामा ४ महिनादेखि विवाद भइ कामकाज ठप्प हुँदासमेत पार्टीले पनि समस्या समाधानको लागि कुनै पहल गरेको छैन ।

– नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?