Comments Add Comment

प्रधानमन्त्रीलाई केही दिन आईसीयूमै राखिने

मनमोहनमै नियमित डायलासिस थालियो

११ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार आएको छ । तर उनलाई अझै केही दिन सघन उपचार कक्ष (आईसीयू)मै राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार सबेरैदेखि पेट दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि इलेक्टिभ भेन्टिलेटरमा राखिएको उनलाई बुधबार विहान आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार ओलीले बुधबार करिव आघा घन्टा कुर्सीमा बस्नुका साथै कालो चिया पिएका थिए । उनले ‘मिडियामा के आएको छ, मेरो स्वास्थ्यबारे ?’ भनेर चिकित्सकहरुसँग चासोसमेत राखेका थिए ।

अझै केही दिन आईसीयूमै राखिने

प्रधानमन्त्री ओलीलाई आईसीयूमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

प्रधानमन्त्री ओलीको अस्पताल बसाई ८/१० दिन भन्दा लामो हुनसक्छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिसको अप्रेसन गरिएका विरामीलाई सामान्यत ८/१० अस्पतालमा राखिनेछ ।

नेताहरुलाई समेत भेट गर्न दिइएको छैन । बुधबार दिउँसो अस्पताल पुगेका विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत भेट्न पाएनन् । सेन्टर पुगेका उनले उपचारमा संलग्न चिकित्सकहरु र प्रमुख सल्लाहकार विष्णु रिमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

उपचारमा संलग्न चिकित्सक र निजी सचिवालयका केही सदस्यले मात्र भेट्ने गरेका छन् ।

करिव १० वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम नगरिरहेका बेला एपेन्डिसाइटिसको अप्रेसन गरिएकाले संक्रमण नहोस् भन्नेमा चिकित्सकहरु सतर्क छन् । अस्पताल स्रोतले भन्यो, ‘सोचेभन्दा राम्रो सुधार भएको छ, तर अझै २/४ दिन सघन उपचार कक्षमा नै राखेर उपचार गर्नुपर्छ होला ।’

र, प्रधानमन्त्री ओलीको अस्पताल बसाई ८/१० दिन भन्दा लामो हुनसक्छ । चिकित्सकहरुकाअनुसार एपेन्डिसाइटिसको अप्रेसन गरिएका विरामीलाई सामान्यत ८/१० अस्पतालमा राखिनेछ । प्रधानमन्त्री मिर्गौलाको समस्यासँग पनि जुधिरहेकाले अस्पताल बसाई अझ लम्बिनसक्ने बताइएको छ ।

नियमित डायलासिस

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार लगातार डायलासिस पनि गरिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १३ कात्तिकमा ग्राण्डी अस्पताल पुगेका उनको त्यही दिन डायलासिस गरिएको थियो । त्यसयता चार पटक डायलासिस गरिएको छ ।

नियमित डायलासिस वा पुनः प्रत्यारोपण मध्ये के रोज्ने भन्ने छलफल चलिरहेका बेला एपेन्डिसाइटिसको अप्रेसन गर्नुपर्‍यो । त्यसैले मंगलबार र बुधबार लगातार डायलासिस गरिएको छ । अस्पताल स्रोतले भन्यो, ‘अरु बेला सातामा एक पटक जस्तो डायलासिस हुन्थ्यो । हिजो र आज दैनिक गरिएको छ ।’

तर अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मध्ये के गर्ने भन्ने कुनै निर्णय भएको छैन । एपेन्डिसाइटिसको उपचार सकिएपछि मात्र यसबारे थप छलफल हुने उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment