Comments Add Comment

कलैयामा खुल्यो पहिलो सुविधासम्पन्न बरेवा होटल, बिहारका पर्यटक तान्ने योजना

१२ मंसिर, वीरगञ्ज । पर्यटन तथा होटल व्यवसायमा लगानी गर्नेहरुले बाराको कलैयामा खासै सम्भावना देखेका छैनन् । तर नेपाली सेनाका पूर्व लेफि्टनेन्ट कर्णेल किरण विक्रम शाहले फरक तरिकाले सोचे । उनको फरक सोचको नतिजास्वरुप जन्मेको छ, ‘बरेवा दरबार होटल एन्ड बेंक्युट’ नामक तीनतारे होटल ।

हरेक पाँच वर्षमा हुने प्रख्यात गढीमाई मेला बारामा जारी छ यतिबेला । दर्शनार्थीको घुइँचो दिनदिनै बढिरहँदा आयोजकलाई मेला व्यवस्थित बनाउन र व्यापारीहरुलाई खानपिनको प्रवन्ध गर्न चटारो छ । निःशुल्क भोजन र आवासको व्यवस्थापन गर्न विभिन्न संघ-संस्था समाजसेवी खटिएका छन् ।

यता, शाह भने गढीमाईमा आउने पर्यटकलाई कसरी आफ्नो सुविधासम्पन्न होटलमा तान्ने भन्ने ध्याउन्नमा छन् । गढीमाई मेलामा आउने पर्यटकलाई सेवा दिन सके आफ्नो व्यवसायले रफ्तार लिने विश्वास उनको छ ।

उनकै पितापुर्खाले बनाएको ‘बरेवा दरबार’ कलैयामा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा चर्चित थियो । त्यही नामलाई सापटी लिएर ‘बरेवा दरबार होटल एण्ड बेंक्युट’ निर्माण गरिएको हो ।

यस होटलमा स्वीट, डिलक्स र स्टान्डर्ड गरी २४ वटा कोठा छन् । एउटा कोठाको भाडा २ हजारदेखि ४५ सयसम्म छ । साना-ठूला गरी ४ वटा हल छन् । यहाँ नेपाली, भारतीय र चाइनिज खाना पाइन्छ । होटलको मध्यभागमा प्रशस्त खाली ठाउँ भएकाले विवाह जस्ता कार्यक्रमका लागि पनि उपयुक्त छ ।

मंसिर महिना विवाहको सिजन भएकाले ६ वटा विवाहका लागि होटल बुकिङ भइसकेको छ । स्वीमिङ पुलसहित १९ कठ्ठा १० धुरमा निर्माण गरिएको होटलमा ११ करोडभन्दा बढी लगानी भइसकेको शाह बताउँछन् । यसमा १८ जना स्थानीय सहित ३० जनाले रोजगारी पाएका छन् ।

 

कलैया नगरपालिकाको कार्यालय नजिकै रहेको ‘बरेवा दरबार’को पुरानो संरचना लगभग समाप्त भइसकेको छ । स्वर्गीय रामराजा मोहन विक्रम शाहले कलैयाको बरेवामा निजी आवासको रुपमा निर्माण गरेको दुई तल्ले ‘रातो बंगला’ नै अहिले ‘बरेवा दरबार’ को नामले परिचित छ । पूर्व कर्णेल किरणले त्यही हिस्सालाई संरक्षण गरेर निजी आवास बनाएका छन् ।

के छ सम्भावना ?

यसअघि कलैयामा सुविधासम्पन्न होटल थिएन । विश्व प्रसिद्ध गढीमाई मेला मात्रै नभएर ऐतिहासिक सिम्रौनगढ, द्रुतमार्ग, पर्सा राष्ट्रिय निकुञ्जलगायतले गर्दा यस क्षेत्रमा चहलपहल बढ्ने शाहको विश्वास छ । स्वदेशी मात्रै नभएर भारतीय पाहुनाको लागि उपयुक्त वासस्थान कलैया हुने अनुमान उनले गरेका छन् ।

कलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि होटल सञ्चालनमा ल्याएको उनी बताउँछन् ।

‘बिहारसम्म होटलको प्रचारप्रसार गर्ने योजनामा छु,’ शाहले भने, ‘त्यसबाहेक, गढीमाई, सिम्रौनगढ लगायत ऐतिहासिक स्थल बारामा प्रशस्तै छन् । ती स्थलको प्रवर्द्धनमा योगदान दिन सक्छु भन्ने छ ।’

कलैयामा स्टार होटल नभएका कारण घरकै पाहुनालाई समेत वीरगञ्जमा राख्नुपर्दाको तितो अनुभव शाहसँग छ ।

‘अहिले बसेको बरेवा दरबार मर्मत भइरहेको थियो, पाहुना आउँदा राख्ने राम्रो खालको होटल कलैयामा थिएन, त्यसैले वीरगञ्ज लगेर राख्नुपर्‍यो,’ शाह सम्झन्छन्,  ‘त्यही बेला रिटायर्ड भइसकेपछि एउटा होटेल खोल्छु भन्ने सोच आएको हो । अब कलैया आएका पाहुना राम्रो होटल खोज्दै अन्यत्र जानुपर्दैन ।’

होटलभित्रै जीम क्लब र क्यासिनो सञ्चालन गर्ने योजना उनको छ । सँगसँगै पाहुनाका लागि विभिन्न प्याकेज पनि बन्दैछ ।

‘काठमाडौंमा दुई-तीन वटा ट्राभल एजेन्सीसँग कुरा भइसकेको छ । लास्ट फ्लाइटमा सिमरा आएर एक रात कलैया बसेर भोलिपल्ट बिहान गढीमाई दर्शन, सिम्रौनगढ भ्रमण, पर्सा राष्ट्रिय निकुञ्ज सफारीपछि फर्कनेगरी प्याकेजको कुरा गरेको छु,’ उनले भने ।

‘बरेवा दरबार’ को इतिहास

वि.सं. १९४२ सालमा धीरशमशेरका छोराहरूले सत्ता हत्याउन रणोद्दीप सिंहको हत्या गरे । त्यसबेला उनीहरुलाई जंगबहादुरकी छोरी दीपकुमारी (बागकी कान्छी मैयाँ) ले पेस्तोल दिएर सघाएकी थिइन् भन्ने इतिहासमा पढ्न पाइन्छ । तिनै शमशेर खलकले केही वर्षपछि दीपलाई काठमाडौं बागदरबारबाट दाङ धपाए । पछि दाङबाट समेत धपाइएपछि उनी बरेवा पुगेको बताइन्छ । त्यहीँ उनले दरबार बनाउन थालेकी थिइन् । दीपकुमारीको भुपेन्द्र विक्रम शाहसँग विवाह भएको थियो ।

भुपेन्द्र राजा सुरेन्द्रविक्रम शाहका खलक थिए । तर दरबार निर्माणको काम रामराजा मोहन विक्रम शाहले वि.सं. १९७० तिर पूरा गरे । रामराजा दीपकुमारी र भुपेन्द्रका नाति हुन् ।

त्यसबखत दरबार ५३ बिघामा फैलिएको थियो । तर अहिले त्यो पुरानो दरबार छैन । दरबारको डिजाइन  फ्रान्स र बेलायतका वास्तुकारले गरेको र सजावटका धेरै सामग्री चन्द्रशमशेरले उपलब्ध गराएको जानकार बताउँछन् ।

एकपटक बारामा शिकार खेल्दा घाइते भएका चन्द्रशमशेरलाई रामराजाले उपचारसँगै खातिरदारी गरेका थिए । सेवाबाट प्रसन्न भएका चन्द्रशमशेरले सिंहदरबार सजाउन झिकाइएका मध्येकै केही सामग्री रामराजालाई दरबार बनाउन दिएको बताइन्छ ।

त्यसबखत बरेवा दरबारको भुइँ तल्लामा ठूलो पुस्तकालय थियो । इष्ट इण्डिया कम्पनीसँग राम्रो सम्बन्ध भएका रामराजा विद्वान र ऐतिहासिक पुस्तक-कागजपत्रका संकलक थिए । पुस्तकालयमा कास्की र तनहुँका राजा तथा पृथ्वीनारायण शाहबीच लेखालेख भएका पत्रहरू समेत थिए ।

तर, अंग्रेजले रामराजालाई बिहारको पश्चिम चम्पारन (रामनगर) मा लगेर राखेपछि उनका अंशियारले मूल्यवान सामान कौडीको भाउमा बेचे । वि.सं. १९९० सालको भुइँचालोमा दरबारको अगाडिको भाग भत्केर पुस्तकालयका ऐतिहासिक दस्तावेज, भोजपत्र, ताम्रपत्र र पेन्टिङहरू पुरिए, त्यसपछि पुनर्निर्माण हुन सकेन ।

अंशियारले दरबारको ऐतिहासिक महत्व बुझ्न सकेनन् । आफ्नो भागको जमिन प्लटिङ गर्दै बेच्न थालेपछि दरबारको अस्तित्व लगभग समाप्त भयो । एउटा रातो भवनले पुरानो दरबारको अस्तित्व जोगाएर राखेको छ । त्यसैको भित्तामा पुरानो दरबारको चित्र सजाएर राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment