Comments Add Comment

गिधनिया बस्तीमा अवरोध हटाएर तार बिछ्याउन सुरु

१२ मंसिर, काठमाडौं । दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा मोरङको गिधनिया बस्तीमा भएको अवरोध हटेको छ । यो सँगै बस्ती क्षेत्रमा तार टाँग्ने र बिछ्याउने काम सुरु भएको छ । यो काम महिनौंदेखि रोकिएको थियो ।

ग्रामथानको हात्तिमुडा चोकबाट तार भूमिगत गर्ने काम सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिकास्थित गिधनिया बस्तीमा प्रशारण लाइनका कारण स्वास्थ्यमा असर पर्ने भन्दै स्थानीयले तार टाँग्न दिएका थिएनन् । दुहबी-कटहरी खण्डमा १३ किलोमिटर क्षेत्रमा काम सकिए पनि तीन किलोमिटर क्षेत्रमा अवरोध थियो ।

स्थानीयबासीले रुट परिवर्तन गर्न माग गर्दै आएका थिए । अन्डर ग्राउन्ड गर्दा पनि जोखिम हुने भन्दै उनीहरुले अवरोध कायम राखेका थिए । स्थानीय प्रशासनले सुरक्षाकर्मी लगाएर बलपूर्वक काम अघि बढाउने संकेत गरेपछि स्थानीयले अवरोध हटाएका हुन् । काम सुरु भएपछि उनीहरुले विरोध गर्न छाडेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेका अनुसार रोकिएको क्षेत्रमा तार टाँग्ने काम लगभग सकिएको छ

समस्या समाधानका लागि मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदी गिधनिया पुगेका थिए । उनलाई यसअघि यो प्रसारणलाइनमा अवरोध गर्न सघाएको आरोप लागेको थियो ।

अवरोध हटाउन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले १ कात्तिकमा त्यस क्षेत्रका संघीय सांसद मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष शिवनारायण माझी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका थिए । छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय भएको थियो ।

नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेका अनुसार रोकिएको क्षेत्रमा तार टाँग्ने काम लगभग सकिएको छ

‘करिब २५ सय मिटरमा तार बिछ्याउने पूर्वयोजनाअनुसार तार भूमिगत गर्ने काम पनि अहिले धमाधम भइरहेको छ,’ उनले भने, ‘करिब पाँच सय मिटरभन्दा बढी तार भूमिगत गर्ने काम सकिएको छ ।’

यो प्रसारण लाइन बन्न नसक्दा मोरङका उद्योग तथा आम उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत पाउन सकिरहेका थिएनन् । प्रसारणलाइनको ग्रामथानको गिधनीया टोलमा ३ किलोमिटर क्षेत्र बाहेक सबै स्थानमा सबस्टेसन निर्माण भइसकेको छ । तार तानिसकेपछि प्रसारण लाइन र सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइने छ ।

अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन ।

प्राधिकरण १ नम्बर प्रादेशिक कार्यालयका प्रमुख पाण्डेका अनुसार यो ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउनासाथ कटहरी-रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिने छैन ।

दुहबी सबस्टेशनदेखि कटहरी स्टेशनसम्म प्रसारणलाइन विस्तारमा ग्रामथान गाउँपालिका- ५ गिधनियाका सर्वसाधारणको अवरोधका कारण ७ महिनायता काम अघि बढ्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment