+
+
Shares

सागमा नेपाली तेक्वान्दो : गुमेको विरासत फर्काउने चुनौती

प्रशिक्षक दीपक विष्ट भन्छन्- आठौं सागको झल्को दिनेछौं

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १०:५१

१६ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म नेपाललाई सबैभन्दा धेरै स्वर्ण दिलाउने खेल हो तेक्वान्दो । तेक्वान्दोले सागमा अहिलेसम्म नेपाललाई सर्वाधिक २४ स्वर्ण, १४ रजत र ८ कास्य दिलाएको छ ।

सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणबाट सागमा तेक्वान्दो भित्रिएको थियो । त्यसबेला जम्मा १५ स्वर्णमध्ये १४ वटा नेपालले आफ्नो पोल्टामा पार्न सफल भयो ।

२००४ मा इस्लामावादमा भएको नवौं सागमा ६ स्वर्ण जितेको तेक्वान्दोले २००६ मा कोलम्बोमा भएको दशौं र २०१० मा ढाकामा भएको ११औं सागमा २/२ स्वर्ण मात्र जित्यो । पछिल्लो संस्करण भारतको गुहावटी र सिलोङमा हुँदा त तेक्वान्दोमा नेपाल स्वर्णबाट वञ्चित नै बन्यो । ७ खेलाडी फाइनल पुगेर पनि स्वर्ण जित्न सकेनन् ।

२० वर्षपछि साग नेपालमा फर्केको छ । के आठौं सागमा जस्तै तेक्वान्दोले यसपालि पनि अविस्मरणीय नतिजा दिन सक्ला त ? त्यो त्यति सजिलो लक्ष्य भने होइन ।

प्रशिक्षक विष्ट भन्छन्- आठौं सागको झल्को दिनेछौं

तेक्वान्दोमा नेपालका लागि लगातार चार स्वर्ण जितेका लेजेन्ड दीपक विष्ट यसपालि प्रशिक्षकको भूमिकामा छन् ।

यसपटक आठौं सागकै झल्को दिनेगरी तेक्वान्दोले तयारी गरेको उनी दाबी गर्छन् । ‘यसपटक दुईवटा विधा समावेश भएकाले आठौं सागको झल्को ल्याउनुपर्छ भन्ने सोचका साथ तयारी गरिरहेका छौँ,’ उनले अनलाइनखबरसँग भने ।

विष्टले आठौंदेखि ११ औं सागसम्म लगातार चार स्वर्ण जितेका थिए । लगातार चार सागमा स्वर्ण जित्ने पहिलो र एक मात्र खेलाडीको कीर्तिमान उनको नाममा छ ।

अहिले घरेलु मैदानमा हुन गइरहेको साग नेपालका लागि चुनौती र अवसर दुवै भएको बताउँछन् विष्ट । उनी भन्छन्, ‘हामीले होम ग्राउन्डको फाइदा लिने अवसर त छँदैछ, अर्कोतर्फ राम्रो नतिजा ल्याउनुपर्ने दबाब पनि उत्तिकै छ । खासगरी तेक्वान्दोमा सबैले आशा राखेका छन्, जुन हाम्रो लागि चुनौती पनि हो ।’

१३ औं सागमा भारतले तेक्वान्दोमा सहभागिता नजनाउने चर्चा थियो । तर अन्तिम समयमा आएर भारतले भाग लिएको छ, यसले नेपाललाई थप चुनौती दिएको छ । तर प्रशिक्षक विष्टको मत अलि फरक छ ।

यो आफैंमा दक्षिण एसियाली स्तरको प्रतियोगिता भएकाले यसमा दक्षिण एसियाका सबै देशको सहभागीता अपेक्षित रहेको उनी बताउँछन् । अन्तिम समयमा भए पनि भारतले सहभागिता सुनिश्चित गर्नु खुशीको कुरा भएको उनको ठम्याइ छ । ‘को आउँछ, को आउँदैन भन्ने छोडेर आफ्नो तयारी राम्रोसँग गर्ने हो । सबैलाई जित्न सक्ने आत्मविश्वास राख्नुपर्छ,’ विष्टले भने ।

तैपनि भारतले भाग नलिएको भए फाइदा हुन्थ्यो कि भन्ने प्रश्नमा विष्ट भन्छन्, ‘भारत बलियो टिम हो । भारत नआएको खण्डमा पक्कै पनि हाम्रो पदक सम्भावना बढ्थ्यो । तर साग भनेको सातै देशको प्रतिस्पर्धा हो, हाम्रो लागि मिनी ओलम्पिकजस्तै । सबै देशको सहभागीता भएको खण्डमा मेडल जित्दाको गौरव बेग्लै हुन्छ ।’

सबै देशका खेलाडीहरु राम्रो भएको भन्दै विष्टले कसैलाई पनि कमजोर नआँक्ने प्रष्ट पारे ।

यद्यपि यसपटक तेक्वान्दोमा नेपालले राम्रो तयारी गरेको र राम्रो नतिजाको पर्खाइमा रहेको उनी बताउँछन् । ‘यसपालि राम्रो रिजल्ट ल्याउने आशा गरेका छौं । मुख्य कुरा खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । हामीले आफ्नो तर्फबाट कुनै कसर छोडेका छैनौं,’ उनले भने ।

सागकै लागि भनेर नेपालले चीन र मलेसियाका तेक्वान्दो प्रशिक्षक झिकाएको थियो भने प्रतियोगिताहरु पनि खेलाएको थियो । त्यसबाट पनि खेलाडीहरुको आत्मबल बढेको छ ।

थप गरिएका विधामा आशा

तेक्वान्दोमा यसपटक पुम्से विधा पनि समावेश भएकाले कूल २९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीतर्फ १६ र पुम्सेतर्फ १३ स्वर्ण समावेश छन् ।

पुम्सेबाट नेपालले स्वर्णको आशा गरेको छ । यसअघि फाइटतर्फ खेलेकी आयशा शाक्य अहिले पुम्सेमा खेल्दैछिन् । ‘पुम्से नयाँ विधा हो र यसमा हामीले धेरै आशा गरेका छौँ,’ विष्टले भने, ‘दुईवटै विधाबाट सन्तोषजनक नतिजा आउनेमा आशावादी छौं ।’

सागमा खेल्नका लागि नयाँ र पुराना तेक्वान्दो खेलाडीहरु मिश्रण गराइएको छ । सबै खेलाडी उत्तिकै क्षमतावान रहेको विष्ट बताउँछन् । अझ पुराना भन्दा नयाँ खेलाडीहरुले राम्रो गर्ने उनको विश्वास छ । ‘सबै उत्तिकै महत्वपूर्ण खेलाडी छन् । कोही अनुभवी छन् भने कोही नयाँ छन् । अनुभवी खेलाडीलाई बढी दबाब हुन्छ । नयाँलाई कम दबाब हुने भएकाले खुलेर खेल्न सक्छन्,’ विष्टले भने ।

१३ औं सागको औपचारिक उदघाटन आज आइतबार बेलुका दशरथ रंगशालामा हुँदैछ । तेक्वान्दोका खेलहरु भोलि सोमबारदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा शुरु हुनेछन् । सोमबारै पुम्सेतर्फको सबै १३ स्वर्णको छिनोफानो हुनेछ ।

१३ औं साग खेल्ने तेक्वान्दो खेलाडीहरु

क्यारोगी (महिला)

काजल श्रेष्ठ (४६ केजीमुनि)

युनिशा राई (४९ केजीमुनि)

अस्मिता खड्का (५३ केजीमुनि)

निमा गुरुङ (५७ केजीमुनि)

मनिता शाही (६२ केजीमुनि)

संगिता बस्याल (६७ केजीमुनि)

अप्सरा कार्की (७३ केजीमुनि)

निशा रावल (७३ केजी)

क्यारोगी (पुरुष)

मनोज मल्ल (५४ केजीमुनि)

ज्ञानेन्द्र हमाल (६३ केजीमुनि)

गोविन्द मगर (५८ केजीमुनि)

वीर बहादुर महरा (६८ केजीमुनि)

निश्चलमान श्रेष्ठ : (७४ केजीमुनि)

किरण मगर : (८० केजीमुनि)

भुपेन श्रेष्ठ : (८७ केजीमुनि)

सक्षम कार्की : (८७ केजीमाथि)

पुम्से पुरुष

१८ देखि २३ वर्ष : कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत, दिपेन्द्र गुरुङ

२४ देखि २९ वर्ष : कमल श्रेष्ठ, जित बहादुर बोटे, प्रेम बहादुर लिम्बु

३० वर्षमाथि : रेजिन रिमाल र सन्जिव कुमार ओझा

पुम्से महिला

१८ देखि २३ वर्ष : सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ, सन्जिला तिमल्सिना

२४ देखि २९ वर्ष : पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

३० वर्षमाथि : आयशा शाक्य ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?