Comments Add Comment

नेपाली प्रशिक्षक भन्छन् – साग क्रिकेटमा भारत र पाकिस्तान नआउनु दुर्भाग्यपूर्ण

साग महिला क्रिकेट सोमबारदेखि, सबै ४ टिम पोखरामा

१५ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरास्थित क्रिकेट रंगशालामा महिला क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले सम्हालेकी छिन् ।

साग महिला क्रिकेटमा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स ४ राष्ट्रले भाग लिएका छन् । ४ देशलेमात्रै भाग लिएपछि खेल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । क्रिकेटको बादशाह मानिने पाकिस्तान र भारत दुवै राष्ट्र सागमा भाग नलिएपछि नेपालले जितको आश राखेको छ ।

माल्दिभ्ससँगको खेल नेपाली टोलीका लागि समूहमा सबैभन्दा सहज हुने अनुमान छ । तर, माल्दिभ्ससँग यसअघि नेपाली महिला टोलीले कुनै पनि खेल नखेलेकाले ‘भाग्य जाँच’का रुपमा पनि यो खेललाई लिइएको छ । नेपाली टोलीका प्रशिक्षक जगत टमाटा पनि माल्दिभ्ससँगको खेल सहज नै हुने बताउँछन् । भन्छन्, ‘उनीहरुको यसअघिका खेल हेर्दा पहिलो खेल नेपालकै पोल्टामा पर्ने अनुमान गरेका छौं ।’

सागमा सहभागी ४ देशमध्ये श्रीलंका र बंगलादेश टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । प्रशिक्षक टमाटा श्रीलंका र बंगलादेशसँग पनि राम्रो खेल्ने देखाउने पक्षमा छन् ।
सागमा सहभागी हुन ४ वटै राष्ट्र पोखरा आइसकेका छन् । पोखरा आएका टोलीमध्ये बंगलादेश र श्रीलंकाका खेलाडीहरुले आइतबार दिउँसो नदीपुरस्थित प्रदेश सभा भवन पछाडि र माल्दिभ्सका खेलाडीले पोखरा क्रिकेट ग्राउन्डमा अभ्यास गरेका थिए ।

‘भारत र पाकिस्तान नआउनु दुर्भाग्य’

क्रिकेटको क्षेत्रमा भारत र पाकिस्तान दुवै बादशाह मानिन्छन् । यसपटकको सागमा ती दुवै देश सहभागी छैनन् । दुवै देश सहभागी नभएकाले खेलमा केही सहज हुने सबैको अनुमान छ । तर, नेपाली टिमका प्रशिक्षक जगत टमाटा भारत र पाकिस्तान दुवै सहभागी नुहुनु नेपाली खेलाडीका लागि भने घाटा मान्छन् ।

‘दुवै राम्रा खेल्ने देश हुन् । उनीहरु सागमा सहभागी नभएर खेलाडीलाई फाइदा होइन घाटा पुगेको छ,’ प्रशिक्षक टमाटा भन्छन्, ‘उनीहरुसँग नेपाली खेलाडीले आमनेसामने भएर खेल्नु नेपाली खेलाडीलाई राम्रो एक्स्पोजर हुन्थ्यो ।’

तयारी पूरा

साग महिला क्रिकेट प्रतियोगिता पोखरास्थित क्रिकेट रंगशालामा हुने छ । खेलको उद्घाटन बिहान ११ बजे गण्डकी प्रदेश योजना तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले गर्ने कार्यक्रम छ । क्रिकेट ग्राउन्डमा १ हजार दर्शक अट्ने अस्थायी प्यारापिटसमेत तयार भइसकेको कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । ‘साग महिला क्रिकेटकै लागि चेन्जिङ रुम, हेल्थ डेस्क आदि सबै तयार भइसकेका छन्,’ उनले भने ।

प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेश भिड्नेछन् । बुधबार हुने २ खेलमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिष्पर्धा हुनेछ । राउन्ड रोबिन लिगमा शीर्षस्थानमा आउने २ टिमले पदकका लागि पुनः प्रतिस्पर्धा गर्नेछन् ।

१५ सदस्यीय साग महिला टिम

रुविना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द, सरीता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर ।

वैकल्पिक खेलाडी : 

ज्योति पाण्डे, संगीता राई र अस्मिना कर्माचार्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment