Comments Add Comment

तालिमका बेला छोराहरु मिस गर्छु : आयशा शाक्य

१६ मंसिर, काठमाडौं । यसपालिको सागमा नेपालले स्वर्णको आशा गरेकी तेक्वान्दोकी लिजेन्ड हुन् आयाशा शाक्य । दुई सन्तानकी आमा भएर पनि तेक्वान्दोमा उनको जोश उमंग रत्तिभर घटेको छैन ।

नेपालका कीर्तिमानी खेलाडी दीपक विष्टकी पत्नी पनि हुन् आयशा । तीनवटा सागमा स्वर्ण जितेका दिपक भने अहिले प्रशिक्षकको भूमिकामा छन् । यता आयशाले आफ्नो परम्परागत विधा परिवर्तन गरेर सागमा भाग लिएकी हुन् ।

पहिलोपटक तेक्वान्दोको पुम्से विधालाई सागमा समावेश गरिएको छ । यसमा फाइट हुँदैन, खेलाडीले आफ्नो स्किल मात्रै देखाउने हो । बढ्दो उमेरसँगै शारीरिक क्षमता कमजोर भएपछि आयशाले फाइटको साटो पुम्से रोजेकी हुन् । 

साना छोराहरुलाई मामाघरमा छोडेर सागमा स्वर्ण जित्ने अभियानमा जुटेकी आयशा अनलाइनखबरसँग यसरी खुलिन् :

तयारी त राम्रो भएको छ । सबैले अभ्यासमा सतप्रतिशत दिएका छौं । यसपालि नयाँ क्याटेगोरी ‘पुम्से’ थपिएकाले उत्साह पनि छ ।

पुम्से र फाइटमा धेरै फरक हुन्छ । हाम्रो देशमा दुवैलाई तेक्वान्दो नै भनिन्छ । तर, पुम्से भनेको फरक हो । फाइटमा गरिने स्किललाई ब्यालेन्स गर्ने र त्यही स्किलहरुलाई प्रदर्शन गर्ने हो ।

म पहिलोपटक पुम्सेमा भाग लिइरहेकाले उत्साहित छु । मलाई सानोदेखि यो क्याटेगोरी मन पर्थ्यो ।

फाइट स्पिड र टेक्निकको खेल हो पुम्से । ब्यालेन्स देखाउने चुनौति चाहिँ छ । पहिला स्पिडमा गर्ने मान्छे, अहिले त्यही चिजलाई ब्यालेन्समा गर्न गाह्रो हुन्न ।

****

नेपालमा आठौं साग हुँदा ड्याडीसँग गएर हेरेकी थिएँ । त्यतिबेला निकै रोमाञ्चकता थियो । आफूले पनि यसरी देशभित्रै खेल्न पाए कति समर्थन पाइने रहेछ भन्ने लाग्थ्यो । त्यसैले यसपालि नेपालमा साग भइरहँदा मैले छोड्न लागिसकेको गेममा फर्किएँ । रमाइलो लागिरहेको छ । डर पनि छ, प्रदर्शन कस्तो होला प्रदर्शन भनेर । जे भए पनि आफ्नो होम ग्राउण्डमा साग खेल्न पाउनु पनि ठूलो भाग्यको कुरा हो ।

शारीरिकरुपमा ममा धेरै परिवर्तन आइसकेको छ । अब अलिकति बुढी भएँ कि भन्ने फिलिङ्स आउँछ । तर पनि मानसिकरुपमा चाहिँ आफूलाई जवान नै सम्झेर खेल्दैछु । तयारी पनि राम्रो गरेको छु । शारीरिक रुपमा अलिकति कमजोर भए पनि मानसिक रुपमा उत्तिकै बलियो छु ।

मुख्य त मेरो विधा परिवर्तन भएको । पहिला स्पीडमा खेल्नुपर्ने गेम अहिले विस्तारै ब्यालेन्सिङ र स्लो मोसनमा गर्नुपर्ने छ । पहिला जस्तो स्पीड गर्न सक्दिनँ पनि ।

****

आफ्नो पारिवारिक पाटो पनि छ । पहिला खेल्दा परिवारको सपोर्ट त थियो नै, समस्या पनि केही हुँदैनथ्यो । आफूले आफ्नो मात्र तनाव लिए पुग्थ्यो । म कसरी खेल्ने भनेर सोचे मात्र हुन्थ्यो ।

अब अहिले चाहिँ दुई जना बच्चा छन् । कहिले बिरामी परिदिन्छन्, कहिले के हुन्छ । फेरि श्रीमान कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ भन्ने प्रेसर पनि पर्दोरहेछ । यो सबैको प्रभाव आफ्नो खेलमा त पर्न दिनु भएन । पहिले परे पनि अहिलेको महत्वपूर्ण समयमा त्यसलाई बिर्सिराछु ।

दीपक विष्ट र आयशा शाक्य

खेलको बेला बच्चाहरुको याद त आउँछ । एकदम मिस हुँदो रहेछ । खेलको बेला दिमाग गेममा भए पनि रेस्ट टाइममा, ट्रेनिङकै बेला पनि बाहिर गएर बच्चाहरु देख्दा आफ्नो बच्चाको याद आउँछ । तर पनि अब जुन उद्देश्य लिएर अगाडि बढेकी छु, मैले केही न केही त कम्प्रोमाइज गर्नैपर्छ । कि बच्चातिर लाग्नुपर्‍यो, कि खेलतिर लाग्नुपर्‍यो । मैले खेल्न लागेको बच्चाहरुको लागि पनि हो । ‘आई क्यान डु दिस’ भनेर मैले बाबुहरुलाई मामाघरमा छाडेर आएकी छु ।

उनीहरुको रेस्पोन्स पनि राम्रो हुन्छ । ठूलो छोरालाई सबै थाहा भइसकेको छ । म यसरी खेल्दै छु भनेर उसले बुझेको छ । सोध्छ कहिलेकाहीँ, मामु कस्तो भइराछ गेम ? कहिले छ गेम ? हामी हेर्न आम् ? भनेर । उसले पनि मिस गर्छ । कहिले सकिन्छ गेम ? कहिले आउने घर ? भनेर प्रश्न गरिराको हुन्छ । त्यतिखेर चाहिँ साह्रै माया लाग्छ ।

अर्को छोरो सानै छ, केही बुझेको छैन । म कहाँ छु, के गरिराछु भनेर उसलाई थाहा हुँदैन । बच्चाहरुलाई भेट्दा इमोसनल हुन्छु । किन आएछु गेममा जस्तो पनि लाग्छ कहिलेकाहीँ । तर उनीहरुकै लागि खेलिराछु भन्ने सोचेर आफूलाई खुशी राख्छु ।

मैले इभेन्ट चेन्ज गरेको भएर हाम्रो तेक्वान्दो प्रशिक्षक (श्रीमान दीपक विष्ट) सँग त्यति धेरै भेट हुँदैन । पुम्से र फाइटको छुट्टै हुन्छ र उहाँले छुट्टै हेर्नुहुन्छ । कहिलेकाहिँ कमेन्ट गर्नुहुन्छ । ट्रेनिङ टाइममा उहाँलाई पतिको रुपमा नभई कोचकै रुपमा हेर्छु । उहाँ मभन्दा सिनियर पनि हुनुहुन्छ ।

****

मान्छेको आ-आफ्नो सोचाइ हो । मैले पनि सुनेको छु, आयशालाई दीपकले गर्दा सजिलो भइराछ भनेर । म किन आएँ, कसरी आएँ, त्यसका लागि मैले कति मिहिनेत र त्याग गरेको छु भनेर उहाँहरुलाई थाहा छैन ।

म कसैलाई दोष पनि दिन चाहन्नँ । तर अरुको लाइफ नबुझी त्यसरी कमेन्ट गर्नु राम्रो हुँदैन जस्तो लाग्छ । मैले सजिलै यो अवसर पाएको होइन, भनेर उहाँहरुले बुझ्नुहोस् भन्न चाहन्छु ।

पुम्से नयाँ विधा हो । नेपालमा मात्र नभएर सागमै नयाँ क्याटेगोरी हो । यो जति वर्ष उमेरकाले पनि खेल्न सक्छन् । मैले स्टडी पनि गरेकी छु, हेरेकी पनि छु । वर्ल्ड च्याम्पियनसिप हुँदा पुम्सेमा ६५ वर्ष माथिकाले पनि खेलिरहन्छन् । उहाँहरुबाटै म प्रभावित भएकी हुँ ।

पहिला फाइट खेल्दा जबसम्म मेरो शरीर छ, तबसम्म खेल्छु भन्ने थियो । तर उमेर बढ्दै जाँदा आफ्नो स्टामिना घट्टै जाँदो रहेछ । आफ्नो शक्ति क्षिण हुँदै जाँदा ला ! अब मैले निरन्तर खेल्न नपाउँला कि भनेर खिन्न बन्थेँ । तर पुम्से शुरु भए पछिसम्म खेल्न पाउँछु भनेर यसमा लागेकी हुँ  । आशा छ, फाइटमा पूर्णविराम लगाए पनि पुम्सेमा चाहिँ खेलिरहन सक्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment