Comments Add Comment

मसालद्वारा नेकपाको आलोचना र प्रशंसा

१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले उपनिर्वाचनमा तालमेल गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकै पटक प्रशंसा र आलोचना गरेको छ । प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाग्लुङ–२ (ख) मा आफ्ना उम्मेदवार खिमबिक्रम शाहीलाई जिताउन सहयोग गरेकोमा मसालले नेकपालाई धन्यवाद दिएको हो ।

नेकपाको समर्थन पाएका शाहीले १४ मंसिरको उपनिर्वाचनमा ११ हजार २३५ मत ल्याएर जितेका थिए । उनले कांग्रेसका जितबहादुर शेरचनले भन्दा दुई हजार बढी मत पाए ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बाग्लुङमा बागी उम्मेदवार हुँदाहुँदै नेकपाले आफ्नो पूरा शक्ति राजमोका उम्मेदवारलाई जिताउन लगाएको थियो, यसका लागि नेकपालाई धन्यवाद दिन्छौं ।’

उपनिर्वाचनमा प्यूठानको ऐरावती गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा–जनमोर्चा गठबन्धनका उम्मेदवार भक्तबहादुर विश्वकर्मा पराजित भए । विश्वकर्माले ५०४ भोट पाउँदा नेकपाका बागी उम्मेदवार भिमेशकुमार घर्ती मगर ८५५ मत ल्याएर निर्वाचित भए ।

प्यूठानमा भने नेकपाले चुनावी तालमेलको समझदारी उल्लंघन गरेको मसालको ठहर छ । ‘यसरी समझदारी उल्लंघन हुनुमा नेकपाको प्यूठान जिल्ला कमिटी मात्र नभएर केन्द्रीय नेतृत्व पनि जिम्मेवार छ’ सिंहले भनेका छन्, ‘त्यसका लागि गम्भीर प्रकारको दुःख र क्षोभ प्रकट गर्दै नेकपाको केन्द्रीय नेतृत्वको पनि कडा शब्दमा आलोचना गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment