Comments Add Comment

प्रदेश १ मा दश वर्षभित्र ७ हजार किलोमिटर सडक विस्तार गरिने

फाइल फोटो ।

१७ मंसिर, विराटनगर । प्रदेश १ मा आगामी दश वर्षभित्र ७ हजार किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखिएको छ । प्रदेश १  सरकारले आगामी दश वर्षभित्र ७ हजार २ सय २६ किलोमिटर सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना बनाएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘सडक सञ्जाल गुरुयोजना सन् २०२०–०३०’ सार्वजनिक गर्दै दश वर्षभित्र प्रदेश १ का १३७ स्थानीय तहलाई जोड्दै ७ हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको हो । प्रदेश सरकारको लक्ष्य अनुसार सडक निर्माण गर्दा प्रदेशमा ४६० वटा पुल निर्माण गर्नुपर्ने लक्ष्य राखिएको छ ।

विस्तार गरिने सडकमा प्रादेशिक लोकमार्ग १ हजार ७ सय १७ किलोमिटर दुई लेनको हुनेछ । सहायक प्रादेशिक लोकमार्ग २ हजार ७ सय ८६ किलोमिटर हुनेछ । अन्य प्रादेशिक ८३ किमि ग्रावेलस्तरको हुनेछ । तराई र पहाडमा जनघनत्वको विवरण फरक भएकाले दुवैको छुट्टै प्राथमिकीकरणका आधारमा विस्तार गरिने छ ।

प्रदेश सरकारले प्रत्येक वर्ष सडक निर्माणमा ८ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । वार्षिक पाँच प्रतिशतको वृद्धिका आधारमा आगामी दश वर्षमा १०५ अर्बको खर्च हुनेछ ।

प्रदेशअन्तर्गतका प्रादेशिक लोकमार्गका सडक ४४, सहायक लोकमार्ग ११२ र अन्य प्रदेशिक सडक १५६ रहेका छन् ।

गुरुयोजना सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राईले सडक सञ्जालले प्रदेशको समृद्धिमा ठूलो टेवा पुग्ने बताए । विकासको प्रमुख आधार सडक भएकाले सबै सडक स्तरउन्नतीका लागि गुरुयोजना निर्माण गरिएको उनले बताए ।

सडक सञ्जालको विकासँगै जनतालाई रोजगार, कृषि, जलविद्युतको विकासका लागि आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी भएको राईले बताए ।

मुख्यमन्त्री राईले प्रदेशको विकासका लागि लगानी सम्मेलनमा ठूला २६ र मध्यम ६५ योजनामा प्रस्तुत गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment