+
+
Shares
बहसमा सम्पदा :

दुई लुम्बिनी : पर्खालभित्र, पर्खाल बाहिर !

अरुण बराल (लुम्बिनीबाट फर्केर) अरुण बराल (लुम्बिनीबाट फर्केर)
२०७६ मंसिर १३ गते २१:१२

१३ मंसिर, काठमाडौं । भैरहवा विमानस्थलमा ओर्लेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीतिर लाग्नासाथ विरक्त लाग्न थालिहाल्छ । सांसारिक मायाबाट निर्वाण प्राप्त गरेका बुद्धलाई सम्झेर हैन, बाटोको हालत देखेर वैराग्य भाव जाग्दोरहेछ ।

भलै, यो आलेखमा लुम्बिनी जाने बाटोको हालत देखाउँदै ‘तस्वीर हेर्दा कसको मन रुँदैन’ भन्न खोजिएको होइन ।

जब ‘लुम्बिनी : सम्पदा, समृद्धि र समाज’ शीर्षकमा बहस सुरु भयो, त्यसभित्र देखिएका ‘दुईवटा लुम्बिनी’ले अर्को वैराग्य जन्मायो ।

संसारमा दुःख छ र दुःखको कारण छ भनेजस्तै शान्तिभूमि लुम्बिनीमा द्वन्द्व रहेछ । द्वन्द्वको कारण पनि रहेछ ।

बुद्धको जन्मस्थल मायादेवी मन्दिर वरपर शान्तिरुपी कार्पेटमुनि पुत्पुताइरहेको त्यही द्वन्द्वको आगोलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गर्न खोजिएको छ ।

लुम्बिनी प्रेस क्लबले अघिल्लो साता आयोजना गरेको न्युज फेस्टिभलमा बहसको एउटा सेसन थियो– ‘लुम्बिनी : सम्पदा, समृद्धि र समाज ।’

लुम्बिनी सम्बन्धी गहन बहसमा सहभागी थिए– लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं वौद्ध दर्शनका विज्ञ अवधेशकुमार त्रिपाठी, लुम्बिनीबाट संसदमा प्रतिनिधित्व गर्ने नेकपा नेता (मन्त्री) घनश्याम भुसाल र स्थानीय प्रदेशका प्रदेशसभा सदस्य फकरुद्दिन खान । साथमा पत्रकार सुधीर शर्मा र शुभशंकर कँडेल पनि थिए ।  बहसका सहजकर्ता थिए- पत्रकार चन्द्रकिशोर ।

लुम्बिनीमाथि आठ प्रश्न:

पवित्र भूमि लुम्बिनीमा के–के पाकिरहेको छ ? सुरुमा लुम्बिनी विकास कोषका पदाधिकारी एवं सरकारलाई सहभागीले सोधेका ८ वटा प्रश्न जस्ताको त्यस्तै–

सवाल नं १ – म रामविकास चौधरी, लुम्बिनी बचाऊ संघर्ष समितिको संयोजक हुँ । मैले समृद्धि, सम्पदा र समाजको कुरा गरिराखेको छु । अहिले लुम्बिनीमा दुईवटा लुम्बिनी छन् : एउटा पर्खालभित्रको लुम्बिनी र अर्को पर्खाल बाहिरको लुम्बिनी । पर्खालभित्रको लुम्बिनी साढे ११ सय विघा क्षेत्रफलमा छ । साढे ११ सय विघा क्षेत्रफल जसको गयो, ती मानिसहरु अहिले कहाँ, कुन अवस्थामा छन् ?

यो जमीन ०४२ सालमा लुम्बिनी विकास कोषले अधिग्रहण गरेको हो । त्यतिखेर कोषको उपाध्यक्षमा लोकदर्शन बज्राचार्य हुनुहुन्थ्यो । स्थानीयवासी र कोषवीच ठूलो संघर्ष चलिरहेको थियो । स्थानीयले जग्गाको बदला जग्गा माग गरिरहेका थिए । तर, त्यो भएन । लोकदर्शनजीले ‘एक परिवार एक रोजगार’ भन्ने कुरा उठाउनुभएको थियो । तर, अहिलेसम्म ती परिवारहरु कहाँ, कुन अवस्थामा छन् ? अहिलेसम्म कोषले पत्ता लगाउन सकेन । वर्तमान उपाध्यक्षजीले यसको खोजी सुरुवात गर्नुभयो, उहाँलाई धन्यवाद छ ।

उपाध्यक्षज्यूलाई मेरो जिज्ञासा छ, सूचनाको हकसम्बन्धी ऐन २०६४ आउँदाखेरि २० वर्ष पहिलेको सूचना अद्यावधिक गरेर राख्नुपर्ने हो कि होइन ? २०४२ साल टाढाको कुरा होइन । २०४२ सालमा अधिग्रहण गरिएका बेलाका जग्गाका सूचनाहरु कहाँ गए ? कसको लापरवाहीले कहाँबाट मासिए ? यसको अभिलेखीकरण कहिलेसम्म हुन्छ ? र, ती मान्छेहरु (जग्गावालाहरु) कहाँ–कहाँ छन् ?

सवाल नं २ – मेरो नाम रामचन्द्र श्रेष्ठ हो । जहाँ पनि सम्पदा संरक्षणको कुरा गरिरहँदा स्थानीय बासिन्दाले त्यसको लाभ पाउन सकेनन् भने त्यसको अर्थ रहँदैन । हामीले जति पनि लुम्बिनीको विकासको कुरा गर्छौं, वरिपरिको जनसमुदाय यसमा कत्तिको इन्गेज भइरहेको छ ? यहाँ पर्यटकहरुले किन्ने कुनै पनि सामानहरु स्थानीय उत्पादन छैन । हामीले आकाशबाट गुगल म्याप हेर्‍यौं भने वीचमा लुम्बिनी छ, यसको वरिपरि मस्जिदहरु छन् । मिलेर बसेको समाज (वस्ती) छ । तर, यो समाज लुम्बिनीबाट लाभग्राही भएन भने कालान्तरमा यसले द्वन्द्व निम्त्याउँछ भन्न सकिन्छ कि सकिँदैन ?

सवाल नं ३ – म लुम्बिनीको स्थानीय लीलामणि शर्मा । लुम्बिनीभित्र धेरै गुम्बा, मठ मन्दिरहरुलाई हामीले ठाउँ दिएका छौं । तर, यहाँ बनेका विभिन्न गुम्बा, बिहारहरुले आज अनधिकृत रुपमा होटलजस्तो सञ्चालन गरिराख्नुभएको छ । यसले गर्दा स्थानीयहरुलाई ठूलो आर्थिक क्षति पुगेको छ । यहाँ आउने पर्यटकहरुमार्फत लुम्बिनीका स्थानीयले कुनै प्रकारको आर्थिक नाफा लिन सकिरहेका छैनन् । लगभग ७५ प्रतिशत पैसा तिर्नेखालका पर्यटकहरु जम्मै भित्र बस्ने गरेको हामीले पाएका छौं ।

अर्को, लुम्बिनी भ्रमण वर्ष सञ्चालन हुनुपूर्व बाटोघाटो नबनेका कारणले लुम्बिनीको एकदमै नकारात्मक सन्देश विदेशीहरु र आन्तरिक पर्यटकहरुमा परिहरेको छ । यो बाटो बनाउनमा किन ढीलो हुन्छ ? बारम्बार प्रश्न गर्दा भनिन्छ कि बन्दैछ । तर, कहिले बन्छ ? २०२० को भ्रमण वर्ष पनि आउन थालिसक्यो, यो बाटो कहिलेसम्म बन्छ ?

यहाँका स्थानीयले लुम्बिनीमा आध्यात्मिकता भेटेनन् । अब आध्यात्मिकता खोज्न कुन ठाउँमा जाने ? यसलाई ठेक्काको ठाउँ मात्रै बनाउने कि ? यहाँ आउँदाखेरि सेल्फी खिच्ने र हल्ला गर्ने ठाउँमात्रै पाउन थालिएको छ । अब आध्यात्मिकता खोज्न हामी कहाँ जाऔं ?

सवाल नं ४ – म देवदहबासी हुँ । लुम्बिनीको गुरुयोजना पूरा गर्न ६० वर्ष लागिसक्यो । अब तिलौराकोटको गुरुयोजना बन्दैछ भन्ने मैले सुनें । कोषका सूचना अधिकारीले भन्नुभएको छ कि लुम्बिनीको विकास सकेपछि तिलौराकोटको विकास हुन्छ । मेरो जिज्ञासा के हो भने लुम्बिनी र तिलौराकोटको गुरुयोजना पूरा गर्न कति वर्ष लाग्छ ? र, देवदह, रामग्रामको गुरुयोजना बन्न कति वर्ष लाग्छ ?

सवाल नं ५ – अहिले मायादेवी मन्दिर प्रवेशमा शुल्क लगाइँदैछ । आध्यात्मिक क्षेत्रमा, कुनै पनि मन्दिरमा शुल्क किन ? यसबारेमा स्थानीय दिलिप बानियाँको नेतृत्वमा मुद्दा पनि हालिएको थियो । अदालतको आदेश पनि आइसकेको छ । आध्यात्मिक उद्देश्यले कोही मायादेवी मन्दिरभित्र प्रवेश गर्न चाहन्छ भने शुल्क लगाइनुहुँदैन भनेर अदालतले आदेश दिइसकेको छ । र, पनि अहिले शुल्क लागिरहेको छ । लुम्बिनीबासी आफ्नै भूमिमा, आफ्नै बाबुबाजेले संरक्षित गरेको मायादेवी मन्दिरभित्र प्रवेश गर्न किन पाउँदैनन् ? लुम्बिनीबासीसँग आत्मीयता बढाउनका लागि कोषले के गर्दैछ ?

सवाल नं ६ – म दीपक अनुरागी, कपिलवस्तुबाट । म घनश्याम भुसाल सरले नेपाललाई अर्धऔपनिवेशिक होइन भनेर तर्क दिएको सुन्छु । म कपिलवस्तुबासी भएका कारणले गर्दा कतै कपिलवस्तु लुम्बिनीको उपनिवेश त होइन ? अर्ध मात्र होइन, उपनिवशै पो हो किजस्तो अनुभूति म पाउँछु । कपिलवस्तुमाथि भइरहेको व्यवहारले यस्तो महसुस हुन्छ । मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तु दुई–दुईवटा बुद्धको जन्मस्थल हो भनिसक्नुभएको छ । गौतम बुद्धले २९ वर्ष बिताएको पनि कपिलवस्तुमै हो । लुम्बिनीको अवस्था देख्दा त अलिअलि दुःख लाग्छ, तर तिलौराकोटको अवस्था हेर्दाखेरि रुनै मन लाग्छ । अब तिलौराकोटको विकास कहिलेसम्म हुने हो ? अर्को कुरा, बाटो निर्माण गरिसकेपछि भ्रमण वर्षको आयोजना गरेको भए राम्रो हुन्थ्यो कि ?

सवाल नं ७ – म यही लुम्बिनी क्षेत्रले समेटेको नवलपरासीबासी जगन्नाथ खनाल हुँ । टाँगेले तयार पारेको लुम्बिनीको गुरुयोजना संशोधन भयो कि भएको छैन ? अर्को, उनले निर्णय गरेअनुसार यो क्षेत्रमा लुम्बिनीले कति भूभागलाई समेटेर बनाएको छ ? यो योजनाभित्र अहिलेसम्म के–के काम भए ? अर्को कुरा, राज्यले यसलाई बजेट पठायो कि पठाएको छैन ? पठाएको बजेट कार्यान्वयन भयो कि भएन ? नभएमा फ्रिज भएको छ कि छैन ? हामीलाई जानकारी हुनुपर्‍यो । टाँगेले बनाएको योजना पूरा गर्न तपाईहरुलाई अब कति समय चाहिन्छ ? तपाईहरु यो काम गर्न सक्षम हुनुहुन्छ कि हुनुहुन्न ? जानकारी पाऔं ।

सवाल नं ८ – लुम्बिनीको विकासका बारेमा धेरै कुराहरु उठे । मेरो प्रश्नचाहिँ के छ भने, नेपालको बेइज्यत गर्ने ठाउँ पनि यहीँ पो हो कि ? यहाँभित्र आउने, भक्तहरुलाई गिज्याउने, चाउचाउ खाएर पानीमा खोलहरु फालिदिने, नाच्ने जस्ता क्रियाकलापहरुले विदेशी पाहुनालाई दुख्छ कि ? यो हटाउनका लागि कोषको योजना के छ ?

जनप्रतिनिधिको असन्तुष्टि

अघिल्लो साता कृषि मन्त्री बनेका घनश्याम भुसाल रुपन्देहीका जनप्रतिनिधि हुन् । सरकार पुनर्गठन हुनुभन्दा अघिल्लो दिनसम्म उनी लुम्बिनीमै थिए । लुम्बिनीमा भएको बहसमा भुसालमाथि केही प्रश्नहरु आए भने केही चाहिँ उनी आफैंले प्रश्नहरु उठाए ।

लुम्बिनीबारे नेकपा नेता भुसालको भनाइ थियो, ‘हामीले बिगार्‍यौं । हामीले नबिगार्‍या भएदेखि यो बिग्रँदैनथ्यो । हामीले ठूलो मिहेनतले बिगारेको लुम्बिनी हो यो । हामीले बहुत् मेहनत गरेर यसलाई बिगार्‍यौं । यति मिहेनत हामीले बनाउन लागेको भएदेखि धेरै राम्रो बनाउँथ्यौं भन्ने लाग्छ ।’

स्थानीयबासीले उठाएको प्रश्न गुनासोप्रति लक्षित गर्दै भुसालले भने, ‘विकासको कुरा गर्दाखेरि ममा एउटा पूर्वाग्रहको तहमा विश्वास बनेको छ, रोजगारी सिर्जना गर्नेबाहेक विकासका तमाम कुराहरु गफ मात्र हुन् भन्ने लाग्छ मलाई ।’

लुम्बिनीका समस्या र स्थानीयबासीका गुनासाहरु सुनिसकेपछि रुपन्देही ५ (ख) का प्रदेशसभा सदस्य फखरुद्दिन खानले पनि आफ्ना गुनासो सुनाए । खानको गुनासो थियो– लुम्बिनीको वरिपरि करिब ७० प्रतिशत इस्लाम धर्मावलम्बीहरुको बसोबास रहेको सर्वविदितै छ । तर, लुम्बिनीसँग उनीहरुको कनेक्टिभिटी शून्य छ । कम्तिमा मञ्चमा एकजना दाह्री पालेको, टोपी लगाएको मुस्लिम समुदायको धर्मावलम्वीलाई पनि राखिदिनोस् न बाबा !’

लुम्बिनीका सवालमा स्थानीयबासी एवं जनप्रतिनिधिका प्रश्न र गुनासा सुनिसकेपछि लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले दिएको जवाफ उनकै शब्दमा–

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा सुधार भइसकेपछि राष्ट्रिय बहस थाल्छौं’

अवधेश कुमार त्रिपाठी (उपाध्यक्ष, लुम्बिनी विकास कोष)

प्रश्नहरु उठ्नु स्वाभाविक पनि हो । यहाँहरुले मबाट जवाफको आशा राख्नुभएको छ भन्ने देख्छु । म केही तथ्यहरुलाई स्वीकार पनि गर्छु । किनभने, मैले ४७ वर्षसम्म अव्यवस्थाको शिकार भएको संस्थाको जिम्मेवारी सम्हालेको छु । यहाँ केही जटिलताहरु छन् ।

लुम्बिनीका सूचनाहरु व्यवस्थित थिएनन्, यसलाई म स्वीकार गर्छु । हामीले युएनको सेक्रेटरी जनरलको कार्यालयबाट ८ सय पाना स्क्यान गरेर ल्याएका छौं । यो एउटा अर्काइभ हो ।

यहाँ जति पनि जग्गाजमीन छ, यहाँ जग्गाका नाममा बहुत राजनीति हुन्छ । जसको जग्गै छैन, उसले अफिसमा आएर झगडा गर्छ र भन्छ, मलाई मेरो जग्गा चाहियो । अहिलेको डिजिटल युगमा मभन्दा पछि कोषमा आउनेहरुलाई पनि सजिलो होस् भनेर लगत संकलन गरिरहेका छौं, छिट्टै सकिनेवित्तिकै अनलाइनमा राखिदिनेछौं ।

यहाँ स्थानीयहरुका नाममा राजनीतिकरण पनि धेरै भयो । स्थानीय को हो भन्ने पहिचान भएको छैन । यहाँको ११५५ विघा जग्गामा लगभग ३६ सयभन्दा बढी परिवारको जग्गा अहिलेसम्म ‘क्याटलगिङ’ भइसकेको छ । लुम्बिनी विकास कोषसँग यसको व्यवस्थित खाका नभएको हुनाले पुराना मालपोतका ठेलीहरु पल्टाउँदै त्यसलाई ‘डिस्प्याच’ गर्दैछौं । कतिको बाबुबाजेको नाम छ, तर अहिलेको उत्तराधिकारी को हो भन्ने पहिचान हुन सकेको छैन । यो हामीले कोषको नेतृत्वमा आउनेवित्तिकै सुरु गरेका थियौं । यो अझै चल्दैछ । शायद यसलाई पूरै ‘सर्टआउट’ गर्न आगामी ६ महिना जति लाग्छ ।

मायादेवी मन्दिरमा प्रवेश शुल्क हैन, संरक्षण शुल्क निर्धारण गरिएको छ । त्यसको पछाडिको कारण के छ भने सरकारले लुम्बिनीलाई स्वनिर्भर बनाऊ भनेर गत वर्षदेखि नै हामीलाई वार्निङ्ग आएको थियो । लुम्बिनीका कर्मचारीहरुको तलब कुनै पनि तहका सरकारले नदिने भनेको छ । हामीले यो वर्ष एक रुपैयाँ पनि प्राप्त गरेका छैनौं ।

रविन्द्र अधिकारीजी पर्यटनमन्त्री हुँदाखेरि हामीले सल्लाह गरेर मन्त्रालयकै निर्देशन अनुसार संरक्षण शुल्क जम्मा गरियो भने केही सजिलो हुन्छ भनेर गरिएको हो । उदाहरणका लागि हामी गयामा जाँदा पनि २५ रुपैयाँ भारु तिर्छौं । त्यसकारण सानो संरक्षण शुल्क राखिएको हो ।

माननीय मन्त्री योगेश भट्टराईजीसँग पनि मेरो सल्लाह भएको छ, सचिवजीसँग पनि सल्लाह भएको छ, हामी लुम्बिनीलाई कहिल्यै पनि अरुको भरमा नपर्ने बनाउन चाहन्छौं । म जुन दिन कोषको कार्यालयमा आएँ, कोषको खाताको अवस्था के छ भनेर बुझ्दा दोस्रो अन्तरराष्ट्रिय वौद्ध सम्मेलन भएका बेला १३ वटा बैंकमा खाता खोलिएका रहेछन् । इन्भेस्टमेन्ट बैंक काठमाडौंमा डेढ करोड रुपैयाँ रहेछ । बैंकसँग पत्राचार गरेर माग्दाखेरि बल्ल थाहा भयो । यी खाताहरुलाई हामीले अहिले व्यवस्थित गरेर राखेका छौं । अहिले गौतमबुद्ध शान्ति पुरस्कारका लागि अबदेखि सरकारबाट १० लाख रुपैयाँ चाहिँदैन, यसैको ब्याजबाट पुग्छ ।

हामी मायादेवी आमाको सम्झनामा अक्षय कोष निर्माण गर्न जाँदैछौं । सरकारसँग हाम्रो प्रतिवद्धता के छ भने हामी जनतासँग गएर ५० करोड जम्मा गर्नेर्छौं । सरकारले त्यसलाई ग्राण्ड म्याचिङ गरोस् । एक अर्बको अक्षयकोष निर्माण गर्ने हो भने त्यसबाट आउने वर्षको १०/१२ करोड रुपैयाँ ब्याजले कर्मचारी र सरसफाइको सबै व्यवस्थापन हुन्छ, सरकारले दिनुपर्ने वा कुनै यात्रुबाट शुल्क लिनुपर्ने हुँदैन । यो कुरा आगामी बैठकमा पेश हुन जाँदैछ । हामी छिटै नै यसलाई अगाडि बढाउँदैछौं ।

हामीले लुम्बिनीलाई सफा चाहन्छौं भने हाम्रो पनि दायित्व रहन्छ । यसका लागि कर्मचारी चाहिन्छ । तर, म पनि धार्मिक मान्छे भएको हुनाले यहाँ आउने मान्छेलाई शुल्क तिराउँदाखेरि मलाई पनि दुःख लाग्छ ।

हामीले नवलपरासी, कपिलवस्तु र नवलपरासी तीन जिल्लालाई निशुल्क प्रवेश दिइरहेको अवस्था छ । मैले गार्डहरुलाई भनेको छु, कोही मान्छे स्थानीय भनेर आयो र ऊसँग परिचयपत्र छैन भने प्रवेश दिनोस्, केही हुँदैन ।

एकजना मित्रले राख्नुभएको थियो, हेण्डीक्राफ्टको कुरा । भ्रमण वर्ष २०२० आएको हुनाले स्थानीय उत्पादनहरुको प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघसँग छलफल गरी प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो छिटै नै यहाँको माटोबाट बन्ने, कलाबाट बन्ने सामानहरुको कारखाना निर्माण गर्ने काम अगाडि बढेको छ ।

साथीहरुले भन्नुभयो, लुम्बिनीभित्रका बिहारहरुले होटलैै चलाए । यहाँभित्र रहेका मठमन्दिरहरुले सम्झौता भन्दा बाहिर गएर निर्माण गरेका छैनन् । उनीहरुले पेश गरे अनुसार बनेका छन्, तर त्यसलाई व्यवसायिक रुपमा चलाउन पाइँदैन ।

म के भन्न चाहन्छु भने यहाँ एउटा चलन चल्या छ । लुम्बिनीमा दुईसय वटा ट्याक्सीहरु दिनदिनै चल्छन् । यहाँका स्थानीय मानिसहरुले ट्याक्सी चलाएर आम्दानी गरेका छन् । डेढसय भन्दा बढी माला पसलहरु छन् । ७० भन्दा बढी होटेल छन् । घुमेर बेच्ने करिब २ सय मान्छेहरुले लुम्बिनीमा रोजगारी पाएका छन् । हाराहारीमा करिब ७/८ सय मान्छेले लुम्बिनीबाट जिविकोपार्जन गरेका छन् । कतिले घर बनाएका छन् ।

तर, लुम्बिनीको सरफाइका लागि तपाई दैनिक ५० रुपैयाँ दिनोस् भनेर भनेर आग्रह गर्दाखेरि मान्छे उचाल्ने, ताला लगाउने गरिन्छ । यसमा हामीले अध्ययन समिति निर्माण गरेका छौं । अब यसको दीर्घकालीन समाधान निस्किन्छ ।

लुम्बिनीबाट केवल बुद्धमात्र जन्मेनन्, यो समाजको जुन दर्शन जन्मेको छ, त्यसको प्रभाव संसारभरि छ । बेलाबेलामा टिप्पणी उठ्ने गर्छ, विदेशी भिक्षुहरुले यहाँ आएर स्थानीयको व्यापार खाइदिए भन्ने कुरा उठ्छ । कहिलेकाँहि भिक्षु भिक्षुणीहरुलाई आरोप लागिरहेको छ ।

छुट्टै होटलमा राखियो भनेपछि हामीले कोरियनलाई बोलाएर सोध्दाखेरि उनीहरुले के भने भने हजुरहरुकै हितका लागि यो गरिएको हो । पहिला पहिला मान्छेहरु बसका बस आउँथे । उनीहरुलाई बस्ने ठाउँ थिएन । धेरै मानिसहरु ३/४ हजार रुपैयाँ तिरेर बस्न सक्दैनन्, गरीबहरु पनि छन् । हामीले उनीहरुलाई एक रुपैयाँ नलिई राति बास बस्न दियौं, भोजन दियौं । तर, निशुल्क बस्न खान दिएपछि ४/५ दिनसम्म बस्ने थाले । त्यसपछि हामीले बाध्य भएर हजार रुपैयाँ डोनेसन एउटा बक्सभित्र स्वेच्छिकरुमा राख्न लगाउने गरेका हौं ।

यो विषयवस्तु जुन छ, लुम्बिनीको निर्माण एकल हामीले मात्रै हुँदैन । वौद्ध भिक्षुहरुले राम्रो काम गरेका छन्, त्यो पाटोलाई पनि हामीले हेर्नुपर्छ ।

माननीय ज्यूले विदेशीहरुले लुम्बिनी आएर धर्मशाला बनाए भन्नुभएको छ, त्यसको अर्को पाटो पनि छ । अहिलेसम्म लुम्बिनीका कति लगानी भयो भनेर ४० वर्षलाई फर्केर हेर्दा लगभग ६ अर्ब जति नेपाल सरकारको लागिसकेको रहेछ । तर लुम्बिनीलाई आकर्षक बनाइदिने कामचाहिँ अन्तरराष्ट्रिय वौद्धविहारहरुले गरेका छन् । उनीहरुले यहाँ आएर अहिलेसम्म गरेको लगानी हेर्‍यो भने १९ अर्बभन्दा बढी छ ।

अर्को गुनासो, सेल्फी खिच्ने ठाउँ बन्यो भन्ने आउने गरेको छ । लुम्बिनी सुन्दर भएकाले सेल्फी खिच्ने ठाउँ हुँदै हो । सेल्फीलाई एकदम नकारात्मक नजरले नहेरौं । सेल्फी खिच्न आउनेहरु पनि हाम्रै आफ्नै पाहुना त हुन् नि ।

अस्ति शनिबारको दिन कति मानिसहरु लुम्बिनी आए भनेर हेर्दाखेरि यहाँ एक दिनमा १३ हजारभन्दा बढी मानिसहरुले प्रवेश गरेका रहेछन् । १३ हजार मानिसले यहाँ आएर खानेकुरा, बिस्कुट इत्यादि खाँदाखेरि सरसफाइ गर्ने हामीसँग पर्याप्त कर्मचारी छैनन् । सरसफाइ गर्ने कर्मचारी खासै छैनन् । यहाँ स्थानीय दिदीबहिनीहरुको सहयोग लिएर हामीले काम गरिरहेका छौं । हामीसँग रहेका १० जनाको भागमा १३/१३ सय मान्छेहरु पर्न आउँदारहेछन् । यो एकदम चुनौतीको विषय हो ।

एकचोटि हामीले निर्णय गराएर मायादेवी मन्दिर प्लाष्टिकमुक्त छ भनेर घोषणा गरिएको हो । हामीले यसबारेमा सिडियोसाहेबसँग पनि सम्वाद गरेका छौं । मेयरसँग पनि बसेर सम्वाद गरेका छौं । यो पूरै क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि घोषणा गरेर मात्र पुग्दैन । अहिले पनि मायादेवी मन्दिरमा बाहिरबाट मानिसहरुले प्लाष्टिक बोकेर जान्छन् ।

अहिले तपाईहरुले देख्नुभएको कुरा चाहिँ के हो भने अहिले यहाँ भारतबाट २ सय जना भिक्षुहरु तीन दिनको शान्ति पाठ गर्ने र दीक्षान्त बनाउने काम लुम्बिनीमा गर्दैछन् । यसका लागि उहाँहरुले लुम्बिनीमा शुद्ध जल चढाउनुपर्छ । यसले गर्दा तीन दिनसम्मको कार्यक्रममा प्लाष्टिकको गिलासबाट जल चढाएको हो । त्यसपछि आफूले बटुलेर यसलाई व्यवस्थित गरेर लानुहुन्छ । यसरी विशेष परिस्थितिमा त्यहाँ प्लाष्टिकका गिलासहरु देखिएका हुन् ।

अन्तिममा म लुम्बिनीको मास्टर प्लानबारे कुरा राख्न चाहन्छु ।

माननीय घनश्याम भुसालजीले लुम्बिनीको अवस्था देखेर दिक्क लाग्छ भन्नुभयो । मलाई पनि कताकता त्यस्तै लाग्छ । तर, यसलाई मैले कुन रुपमा बुझेको छु भने हामी सबै नेपाली जनता लुम्बिनीको छिटोभन्दा छिटो विकास होस् भन्ने आतुर छौं । तर, पहिलो कुरा, यो ४० वर्षदेखिको टाँगेको गुरुयोजना किन पूरा भएन भनेर हामीले मूल्यांकन गर्‍यौं । सम्माननीय प्रधानमन्त्रीज्यूसँग बारम्बार छलफल भयो । म यहीँको भएको नाताले, एउटा वौद्ध विद्वान पनि हुँ, मैले हेरिराखेको छु, यहाँ प्रक्रियाकै त्रुटी छ ।

यो केञ्जो टाँगेले ४० वर्ष अगाडि नक्सै कोरेर दिइसकेको चिजको पनि वार्षिक कार्यान्वयन एउटा सिस्टममा हुन सकेन । यो वर्ष यति काम गर्ने, यो वर्ष यति प्रतिशत काम गर्ने भन्ने हुनुपथ्र्यो ।

लुम्बिनी एउटा विकासे परियोजना मात्र नभएर अन्तरराष्ट्रिय सांस्कृतिक सम्पदा पनि हो । आस्थाको केन्द्र पनि हो । लुम्बिनी पत्ता लागेको सन् १९७८ मा हो । यसको गुरुयोजना तयार हुनलाई कुर्नुपर्ने अवस्था आयो । तर, यसलाई नजेगेटिभ रुपमा नलिऔं, तपाई बोधगया जानोस्, सारनाथ जानोस्, भारतले अहिलेसम्म एक इञ्च पनि भूमि हटाएर विकास गर्न सकेको छैन । तर, नेपाल गरीब राज्य भए पनि हामीले १२ सय विघाजति क्षेत्रफल खाली गरेर अन्तरराष्ट्रिय केन्द्र बनाएका छौं, यसमा एकदमै राम्रो सकारात्मक काम भएको छ ।

अहिले जुन एजेण्डा प्रधानमन्त्री (केपी ओली) जीबाट अगाडि सारिएको छ, योभन्दा छोटो समयमा गुरुयोजना पूरा गर्ने अर्को छैन । नियमित मापदण्डहरु पूरा गरेर यो अगाडि बढ्दैछ । यसले अब आउँदो साढे दुई वर्षभित्र केञ्जोको मास्टर प्लानलाई सकाएर दिन्छ । यसमा एक वर्ष ढीला भयो ।

रामग्राम वरिपरिको क्षेत्रको सर्भे सकाएर हामीले सरकारकहाँ पठाएका छौं । जम्मा २ अर्ब रुपैयाँ भयो भने त्यो अगाडि बढ्छ । सरकारले गुरुयोजनाको विस्तृत खाका बनाउनोस्, त्यसपछि जग्गा किन्छौं भनेको छ । हामीले त्यसको गुरुयोजना सकाएका छौं । कपिलवस्तुमा ६१४ विघाको सर्भे गरेर मालपोतमा पेश गरिसकिएको छ, यो अब सरकारको हातमा छ । त्यो छिटै टुंगिने हो भने कपिलवस्तु र रामग्रामको गुरुयोजना यसै वर्ष अगाडि बढ्छ ।

अहिलेको हाम्रो प्राथमिकता भनेको लुम्बिनीको गुरुयोजना कार्यान्वयन हो । ४० वर्ष अगाडि विश्व समुदायमाझ नेपाल सरकार र जनताको एउटा प्रतिवद्धता के थियो भने केन्जिङ टांगेद्वारा निर्माण गरिएको जुन अन्तरराष्ट्रिय गुरुयोजना क्षेत्र छ, यो परियोजना हामीले पूरा गरेर यसलाई अन्तरराष्ट्रिय तीर्थयात्रीको केन्द्रका रुपमा बनाउँछौं । यसको प्रष्ट खाका र मापदण्ड छ । यसलाई छिटोभन्दा छिटो पूरा गरौं भनेर लागेका छौं ।

हामीले एजेण्डा रामग्राम र तिलौराकोटमा अगाडि सार्दैछौं । रामग्राम भनेको भगवान गौतम बुद्धको अस्तु धातु भएको पवित्र स्थल हो । यहाँ (लुम्बिनी) आउने १८ लाख पर्यटकहरु रामग्राम पनि जान ईच्छुक छन् । तिनलाई त्यहाँ लैजानका लागि १ वर्ष समय खर्चेर रामग्राम क्षेत्रलाई वीचमा पार्ने गरी एक किलोमिटरको सुन्दर गुरुयोजना बनाइएको छ । जग्गाको सबै विवरण आइसक्या छ । अब सरकार सामु हाम्रो अनुरोधचाहिँ त्यसलाई आवश्यक पर्ने जग्गा किनिदिनोस् र त्यसको विकास गर्नका लागि लुम्बिनीबाट सिकेका पाठहरु हामी त्यहाँ लागू गर्छौं । त्यस्तै तिलौराकोटको पनि योजना अगाडि बढ्या छ ।

विगतमा के भयो, राजनीतिक उथल–पुथल, साधन स्रोतको कमी, बेग्लै कुरा हो तर अहिले प्रधानमन्त्री(केपी ओली) ज्यू निर्देशन अनुसार प्रक्रिया अगाडि बढेको छ । हामीले यो सम्पूर्ण गुरुयोजनाको एकचोटि मूल्यांकन गरेर यसलाई अन्तरािष्ट्रय प्रतिस्पर्धाको टेण्डरमा लगेर यसलाई बहुउद्देश्यीय योजनामा राखेर साढे दुई वर्षमा सम्पन्न गर्ने कामको प्रक्रिया अगाडि बढेर अहिले इन्टरनेशनल परामर्शदाताको नियुक्तिको प्रक्रिया टुंगिने प्रक्रिया अगाडि बढेको छ ।

यो कस्तो छ भने यो बच्चा जन्मिनुजस्तै हो । गर्भवती भएपछि ९ महिना कुर्नैपर्ने रहेछ । त्यो भन्दा छोटो समयमा जन्माउन सकिँदैन । अब एक–दुई महिना धैयर्ता चाहिन्छ । हामीले गर्नुपर्ने पाटो हामीले टुंग्यायौं । १४१ जना विज्ञ, अर्बान प्लानर, इञ्जिनियरदेखि लिएर हाइड्रोलोजिष्ट सबै चाहिन्छ, वहाँले दुई तीन महिनामा प्रोजेक्ट रिभ्यु गरेर यो यो कम्पोनेन्ट यसरी सकाउनका लागि … यो ४० वर्षमा केही नयाँ संरचनाहरु, जस्तो– यहाँ बसपार्क र माला पसलहरु थपिएका छन् । यसलाई केही परिमार्जन गरेर यसले सरकारलाई एउटा क्लियर अवधारणा दिन्छ ।

सम्मानीय प्रधानमन्त्रीज्यूले बजेटको कमी छैन, छिट्टै गुरुयोजना पूरा गर्छौं भन्नुभएको छ । यसमा मैले सरकारप्रति आभारी पनि महसुस गर्छु । गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलदेखि तिलौराकोट जोड्ने बाटो यहाँ वरिपरिको चक्रपथको विकासका लागि यहाँ ५ सय मिलियन डलरभन्दा ठूलो लगानी सरकारले हाल्या छ । विडम्बना के हो भने ८/९ महिनामा यो पूरा हुँदैन, नियमित प्रक्रिया नै हो । हामी आशावादी हौं, यो छिट्टै पूरा हुन्छ ।

हामीले अहिलेबाट ठोस मास्टर प्लान सुरु गरिसक्यौं । भोलि गएर खनेर बिगार्नुपर्छ भने त्यो क्षेत्रमा आज हात नहालौं । ४ महिनापछि बनाऔंला, अहिले राज्यको सम्पत्ति त्यहाँ व्यय नगरौं भनेर ।

अहिले के गरिएको छ भने लुम्बिनी आउने पर्यटकको लुम्बिनीको बसाई सुन्दर होस्, एक/दुई घण्टा बस्दा पनि सफा सुग्घर होस् भनेर यो गुरु योजनाको मुटु मानिने सेन्ट्रल पार्कको दुबैतिर करिब–करिब ५० हजार मिटर स्क्वायरको पार्क डिजाइनमा नयाँ प्लान्टहरु थपिएको छ । बत्तीहरु बनाइएको छ । पहिले चारैतिर बिजुलीका तारहरु थिए, त्यसलाई अण्डर ग्राउण्ड गरेर नयाँ खालको बत्तीहरु बनाइएको छ ।

यहाँ रहेको अस्थायी सभाहलमा दुई वर्ष वुद्ध जयन्ती मनाइयो । यो तीन/साढे तीन वर्षका लागि हो । हामी अहिले नै सल्लाह के गर्दैछौं भने ५ हजार मानिस अट्ने स्थायी संरचना (सभाहल) को ६० प्रतिशत काम भइसक्या छ । आगामी बुद्ध जयन्ती हामीले त्यहाँ मनाउने सोचिरहेका छौं । त्यसपछि यो अस्थायी सभाहल भत्काइनेछ ।

अहिले एउटा वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना अगाडि बढेको छ । रामग्राम, लुम्बिनी, कपिलवस्तु, तिलौराकोट, अरु दुई/तीनवटा ठाउँहरुसहित सैनामैना, देवदह जोडेर एउटा सर्किटको परिकल्पना हुँदैछ । यसमा विज्ञहरुबाट कार्यपत्र आइसक्या छ । एशियाली विकास बैंकको ठूलो लगानी भएकाले त्यहाँको परामर्शदाता सबै भइसक्या छ । अब प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अलिकति सुधार भइसकेपछि हामी राष्ट्रिय स्तरको बहस थाल्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?