Comments Add Comment

३६ लाख सवारीको व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा !

राजधानीकै सडकमा छैनन् ट्राफिक लाइट

१७ मंसिर, काठमाडौं ।

‘सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन,

ट्राफिक पुलिस सिठ्ठी फुक्छ कोहीले सुन्ने हैन

त्यति जाबो ट्राफिक लाइटलाई कति लाग्छ खर्च

हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ’

पशुपति शर्माले युट्युबबाट हटाउनु परेको ‘लुट्न सके लुट कान्छा’ गीतभित्रका यी चार हरफ नै नेपालमा ट्राफिकको अस्तव्यस्तालाई उदाङ्गो पार्न पर्याप्त छन् ।

अन्य शहरको कुरा छाडौं, राजधानी काठमाडौंका सडकमा नै ट्राफिक लाइट छैनन् । सरकार आफैंले लगानी गरेर जोड्ने कुरा त परै जाओस्, जापान सरकारले ठूलो लगानी गरेर जोडिदिएको लाइट पनि पत्रु भइसकेको छ । ट्राफिक लाइट नहुँदा ट्राफिक प्रहरीलाई हैरानी मात्रै छैन, सवारी चालक र यात्रुलेसमेत सास्ती खेप्नु परेको छ ।

देशभर करिब ३६ लाखभन्दा बढी सवारी दर्ता छन् । काठमाडौंमा मात्रै हाल करिब १४ लाख सवारी दर्ता रहेको यातायात व्यवस्था विभागका अधिकारी बताउँछन् । यति धेरै संख्यामा रहेका सवारी साधनहरु ट्राफिकले हात हल्लाएकै भरमा व्यवस्थापन गरिन्छ । विश्वले सवारी व्यवस्थापनका प्रविधिहरुमा फड्को मारिरहँदा नेपालमा भने परम्परागत सिठ्ठी र ईशारामा भर पर्नुपर्ने अवस्था लाजमर्दो भएको बताउँछन् ट्राफिक प्रहरी अधिकारीहरु ।

प्रविधिको प्रयोग नगर्दा काठमाडौंमा सवारी व्यवस्थापनको काम दिनदिनै थप चुनौतीपूर्ण बन्दै गएको ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सिताराम हाछेथुको भनाइ छ । ‘अन्यत्रको कुरा छाडौं, विस्तार भएको ८ लेनको रिंगरोडमा पनि ट्राफिक लाइट जोडिएन,’ उनी भन्छन्, ‘यसले गर्दा यात्रु, सवारी चालकलाई मात्रै समस्या छैन, बीच बाटोमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको ज्यान नै जोखिममा छ ।’

यो पनि पढ्नुहोस काठमाडौंका ट्राफिक प्रहरीः कसैको खुट्टो भाँचियो, कसैलाई क्यान्सर

ट्राफिक लाइट नजोडिँदा ट्राफिक जनशक्तिले नियमनभन्दा सवारी र जाम व्यवस्थापनमै बढी ध्यान दिनुपर्ने अवस्था छ । विहानदेखि रातिसम्म धुँवाधुलो खाँदै सडकमा खटिनु निकै चुनौतीपूर्ण र स्वास्थ्यका हिसावले जोखिमयुक्त रहेको बताउँछन्, हाछेथु ।

हाल काठमाडौं उपत्यकामा १ हजार ३ सय ६८ जना ट्राफिक प्रहरी छन् । विभिन्न ४० वटा इकाइमा विभाजित भएर उनीहरुले ड्यूटी गर्दै आएका छन् । यो संख्या अपर्याप्त रहेको गुनासो महानगरीय ट्राफिक प्रहरी महाशाखाको छ ।

महाशाखाका प्रमुख भीम ढकाल अहिलेकै अवस्थामा काठमाडौंका सवारी व्यवस्थापन निकै चुनौतीपूर्ण भएको बताउँछन् । ट्राफिक प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउँदै स्मार्ट प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

फेल भएको ‘स्मार्ट’ योजना

सरकारले दुई वर्षअघि एसियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ को योजना बनाएको थियो । त्यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड रुपैयाँ पनि ‘फ्रिज’ भएर गयो । काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले पूर्वयोजना अनुरुप ट्राफिक लाइट जडान नगर्ने गरी उक्त सिस्टमका सबै कार्यक्रम खारेज गर्नुपर्‍यो ।

यो पनि पढ्नुहोस यो हो ट्राफिक जामको समस्याबाट मुक्ति दिलाउने प्रणाली

तीन पटक टेन्डर गर्दा पनि ‘ओभर बिड’ अर्थात् लागत अनुमान भन्दा बढीको आर्थिक प्रस्ताव आएकाले कार्यक्रम स्थगित गर्नु परेको बताउँछन् सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा । एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋण सहयोगमा उक्त सिस्टम जडान गर्ने योजना थियो ।

यो योजना सफल भएको भए काठमाडौंको ट्राफिक व्यवस्थापन चुस्त हुने थियो । तर, स्टिमेट नै सही नभएपछि योजना मात्रै तुहिएन, ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जोड्ने च्याप्टर नै बन्द भयो ।

विभागका उपमहानिर्देशक सापकोटा त्यतिबेला एडीबीको परामर्शदाताले तयार गरेको अध्ययन रिपोर्ट पुनरावलोकनका लागि तयारी गरिएको बताउँछन् । ‘हामीले रिपोर्ट पुनरावलोकन गरेर इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम जोड्ने योजना अघि बढाउन खोजेका छौं, बजेट पनि छुटि्टएको छ, अर्थसँग परामर्शदातालाई डलरमा भुक्तानी दिन सहमति मागेका छौं,’ उनले भने, ‘यदि अर्थले स्वीकृति दियो भने रिपोर्ट पुनरावलोकन गरेर इस्टमेट र डिजाइन परिमार्जन गछौर्ं र लाइट जोड्छौं ।’

मुख्य चोकमा कामचलाउ बत्ती

विभागले यस्ता योजना बनाउँदै गर्दा काठमाडौंका केही मुख्य चोकमा पुरानै लाइट मर्मत गरेर चलाउने गरी तयारी पनि गरिएको छ । काठमाडौंमा थप ८ वटा चोकमा केही समयभित्रै ट्राफिक लाइट बल्ने विभागको दावी छ । महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफल भएपछि नयाँ चोकहरुमा पनि त्यसलाई विस्तार गर्न लागिएको प्रवक्ता सापकोटाले बताए ।

मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको विभागले बताएको छ । निर्धारित चोकमा नयाँ लाइटहरु जोड्ने काम सकाएर ट्राफिकसँग सेवा सुरु गर्नेबारे छलफल भइरहेको सापकोटाले बताए ।

यो पनि पढ्नुहोस ट्राफिक लाइटमा नेपाली प्रविधिकै परीक्षण, युरोपियनभन्दा ५ गुणा सस्तो !

काठमाडौंमा बढी व्यस्त हुने सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बानेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिँदैछ । तीनकुने, कालिमाटी, पुरानो बानेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिएको हो । अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउन अन्तिम तयारी भएको छ । यो कामका लागि भ्याट रकमबाहेक ५७ लाख खर्च भएको छ ।

अघिल्लो वर्ष काठमाडौं महानगरपालिका, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार नयाँबानेश्वर र महाराजगञ्जको बत्ती मर्मत गरेर परीक्षण गरिएको थियो । नयाँबानेश्वरमा बत्ती मर्मत गर्न १५ लाख लाग्यो भने महाराजगञ्जमा २७ लाख । महाराजगञ्जको मर्मत खर्च काठमाडौं महानगरले ब्यहोरेको थियो ।

यो पनि पढ्नुहोस काठमाडौंको ट्राफिक जामः बाटो ठूलो हुँदैमा हट्दैन

बानेश्वर र महाराजगञ्जमा लाइट सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन केही सहज भएको दावी सडक विभागको छ । ‘छिट्टै मुख्य चोक ठाउँमा लाइटहरु बाल्छौं,’ विभागका प्रवक्ता सापकोटा भन्छन्, ‘काठमाडौंमा सवारी जाम र व्यवस्थापनको कठिनाइ हटाउन यो काम तत्कालै गर्न जरुरी छ ।’

तर, बानेश्वर चोकको ट्राफिक लाइटमा भने पटक-पटक समस्या आइरहेको छ । लाइट नहुँदा दुर्घटना बढिरहेकाले तत्काल मुख्य चोकहरुमा यसको व्यवस्थापन गर्नुपर्ने माग महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक-पटक गरेको छ ।

लाइट नहुँदा आवश्यकताभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरीलाई सडकमा सवारी व्यवस्थापनका लागि खटाइरहनु परेको महाशाखा बताउँछ । विभागले गरेको अध्ययनमा काठमाडौंमा करिब दुई सय स्थानमा ट्राफिक लाइट राख्नुपर्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस कसरी छानियो ट्राफिक बत्तीको रङ ? यस्तो छ इतिहास यो पनि पढ्नुहोस पोखरामा ट्राफिक लाइट : एकादेशको कथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment