Comments Add Comment

खुलामञ्च खाली गर्न उपमेयर खड्गीले लेखिन् महानगरकै कर्मचारीलाई पत्र

१८ मंसिर, काठमाडौं । खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् ।

उनले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिन आग्रह गरेकी छन् ।

टुँडिखेल अतिक्रमणबाट जोगाउन सुरु अकुपाई टुँडिखेल अभियानका अयिान्ताहरुको आग्रहपछि केहि दिनअघि उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले खुलामञ्च सर्वसाधारणको पहुँचबाट टाढा पुगेको भन्दै यथाशीघ्र आवश्यक काम गर्न आग्रह गरेकी छन् ।

खुलामञ्चमा अनधिकृत तरिकाले सवारी साधन पार्किङ हुने गरेकाे भन्दै उनले यसलाई हटाउनसमेत पत्रमा भनेकी छन् । अनुगमनका क्रममा देखिएका सात तथ्यहरु उल्लेख गर्दै उनले त्यसलाई के गर्न सकिन्छ भनेर लेखेकी छन् ।

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै तीन साताअघि अकुपाईं टुँडिखेल अभियान सुरु भएको थियो । कात्तिक २३ गते पहिलो चरणको विरोधस्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो । गत शनिबार भने साहित्यिक जमघट गरेर विरोध जनाइएको थियो ।

अव्यवस्थित पार्किङ, अनधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर टुँडिखेल मासिँदै गएपछि सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।

कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment