Comments Add Comment

इमरजेन्सी अगाडि उपचार पर्खंदै बेवारिसे दुई बिरामी

१८ मंसिर, विराटनगर । सरकारी स्वामित्वमा रहेको कोसी अस्पतालको इमरजेन्सी वार्ड अगाडि दुई बेवारिसे बिरामी बसेको तीन दिनभयो । इमरजेन्सी वार्ड अगाडिको बाटोमा चिकित्सकको ओहोर दोहोर बाक्लो हुन्छ ।

चिकित्सकले देख्ने गरी बाटोमा बसेका दुई बेवारिसे बिरामी उपचार पाइन्छ की भन्ने आशामा छन् । तर तीन दिन भयो उनीहरुको उपचारमा अस्पतालले चासो दिएको छैन ।

भर्खरै जिम्मेवारी सम्हालेका संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल उपचार नपाएर नेपालीले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँछन् । तर कोसी अस्पताल अगाडि दुई विरामी मृत्युसँग लडिरहँदा अस्पतालले उपचारमा चासो दिएको छैन ।
सिकिस्त बिरामी भएका उनीहरुसँग पैसा र आफन्त साथमा छैनन् ।

विराटनगरका ४२ वर्षीय दिलिप मुखिया छेउछाउ देखिनेसँग उपचारका लागि याचना गर्छन् । तर पथरीका करिब ५५–६० वर्षिय पुरुष भने बोल्न सक्दैनन् । उनले हातको इसारा मात्र गर्न सक्छन् ।

विराटनगरको अशोक चोक घर भएका ४२ वर्षिय मुखियालाई तीन दिनअघि भाइले ल्याएर छाडेर गएका हुन् । पथरीका वृद्धलाई भने कसैले ल्याइदिएका हुन् ।

भाइले छाडेपछि अस्पतालका कर्मचारीले दिलिपलाई घिसारेर इमरजेन्सी अगाडिको फलैंचामा छाडिदिएका छन् । पथरीका पुरुष भने इमरजेन्सी अगाडिबाट बग्ने निकास नालाको स्वाभमाथी लडिरहेका छन् ।

लागूऔषधमा फसेका कारण परिवारबाट तिरस्कृत भएका मुखिया आफ्नो इच्छा बाच्ने भएको बताउँछन् ।

चिसो भुँईमा लडिरहेका उनको याचना अस्पतालले सुनेको छैन् । उनको दुइवटै खुट्टामा गम्भिर चोट छ । उपचार नपाएका कारण उनको खुट्टाको घाउ बढ्दैछ ।

इमरजेन्सी प्रवेश द्धार अगाडि छटपटाइ रहेका पथरीका करिब ५५ वर्षीय पुरुषको बोली बुझिँदैन् । उनी इसाराका भरमा उपचार गरिदिन भन्छन् ।

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलका उपचारका लागि आएका व्यक्तिलाई अस्पतालले बेवारिसे अवस्थामा छाडेको बताउँछन् । बेवारिसे अवस्थाका पथरीका बिरामीलाई कसैले ल्याएर छाडिदिएका हुन् ।

यता अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर गुणराज लोहनी टेलिफोन उठाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment