Comments Add Comment

परम्परागत तरिकाले काम गरेर समृद्धि आउँदैन : मन्त्री बस्नेत

१८ मंसिर, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनअपेक्षा अनुरुप काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बुधबार मन्त्री बस्नेतले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा गर्न असम्भव रहेको बताए ।

‘काम गराइको पुरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन’, मन्त्री बस्नेतले भने, ‘निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पुरानै आउँछ ।’

वर्तमान सरकारले मुलुक निर्माणका लागि नयाँ पहलकदमी लिएको चर्चा गर्दै मन्त्री बस्नेतले त्यस क्रममा नयाँ चुनौती आउन सक्ने बताए ।

मन्त्री बस्नेतले समग्र कर्मचारीतन्त्रबाट अपेक्षित काम हुन नसक्नुमा मानसिकता, विधि प्रक्रिया वा वस्तुगत परिस्थिति र योजनाबीच तालमेल नहुने के हो भन्नेबारे सोच्नेबेला आएको पनि बताए ।

बढ्दो वातावरण प्रदूषण रोक्न उद्योग, भौतिक, सहरी विकास र गृह मन्त्रालयका साथै महानगर र नगरपालिकाहरुसँगको समन्वयमा प्रभावकारी कदम चाल्न वातावरण विभागलाई मन्त्री बस्नेतले निर्देशन दिए ।

वन तथा वातावरण मन्त्रालयको समीक्षा गोष्ठीमा मन्त्रालयका सचिव, सह-सचिव, विभागीय प्रमुख, प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव र मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment