
१९ मंसिर, काठमाडौं । मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले त्यसका तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई बोलाएको छ ।
औषधि खरिद अनियमितताबारे अनुसन्धान थालेको अख्तियारले बिहीबार डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो ।
आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क गर्न निर्देशन दिएको छ । नआएमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि आयोगले दिएको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडाले आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ मा निःशुल्क वितरण गर्ने औषधि खरिद गरेको थियो । यी दुवै आर्थिक वर्षमा औषधि खरिदका लागि छुट्याइएको विनियोजित बजेट खर्च गर्दा अनियमितता भएको उजुरी परेको छ ।
उजुरीपछि अख्तियारले छानबिन अघि बढाएको छ । छानबिनका क्रममा निर्देशनालयका जिम्मेवार व्यक्ति मुछिएका छन् । यही क्रममा अख्तियारले यसका तत्कालीन महानिर्देशक डा. सिंहमाथि बयान लिन लागेको हो ।
डा. सिंह अख्तियारको स्ट्रिङ्ग अपरेशनको क्रममा १० हजार रुपैयाँ घुससहित पक्राउ पनि परेका थिए । कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै कर्मचारीहरुबाट रकम असुलेको आरोपमा उनलाई अख्तियारले २०७४ साउन ९ गते पक्रेको थियो ।
प्रतिक्रिया 4