Comments Add Comment

म्यूजिक भिडियोमा आकासियो मोडलको पारिश्रमिक

डेढ लाखसम्म लिन्छन् नाम चलेका मोडल

एउटा गीतको म्युजिक भिडियो तयार गर्न कति समय लाग्न सक्छ ? सजिलै जवाफ आउँछ, एक दिन । कुनै कुनै भिडियोलाई भने दुई दिन पनि लाग्न सक्छ । तर, बजेटका कारण भिडियो मेकरहरु सकेसम्म एक दिनमै भिडियो तयार पार्छन् ।

एक दिनमै तयार हुने म्यूजिक भिडियोमा मोडलिङ गरेवापत कलाकारले कती पारिश्रमिक लिन्छन् होला ? सुन्दा अचम्म लाग्छ, १० हजारदेखि १ लाख ५० हजार सम्म । भिडियोमा माग भएका मोडलले एउटा भिडियोबाट १ लाख ५० हजारसम्म पारिश्रमिक लिने गर्छन् । सजिलो भाषामा भन्दा, एक दिन काम गरेर एक चलेका मोडलले डेढ लाख कमाउँछन् ।

पछिल्लो समयमा नाम चलेका मोडलहरु पल शाह, आँचल शर्मा, निराजन प्रंधान, वर्षा राउत, एलिसा राई लगायतको पारिश्रमिक छोइ नसक्नु नै छ । म्युजिक भिडियोमा काम गर्ने कलाकारहरुले लिने पैसा भिडियोको मेकिङको खर्च भन्दा धेरै छ । क्यामेरा, लाइट, मेकअप, भान्सा सबैको खर्च एक कलाकारको पारिश्रमिकको नजिक पनि पुग्दैन ।

यसो भन्दै गर्दा सबै कलाकारले १ लाख ५० हजार पारिश्रमिक लिन्छन् भन्ने होइन । कोही कोही त आफैले पैसा हालेर पनि भिडियो खेलेका छन् । पछिल्लो समयमा त यस्तै मोडल बन्ने रुची भएकाहरुका कारण म्यूजिक भिडियो बनेका छन् भन्दा पनि हुन्छ । भिडियोमा अनुहार देखाउने रहरका कारण अहिले धेरै जना लगानी गरेर मोडल बनेका छन् । उनीहरुकै रहरले भिडियो क्षेत्र एक हदसम्म बाँचेको छ भन्दा पनि हुन्छ ।

म्युजिक भिडियोमा नाम चलेका कलाकारले भने ५० देखि ८० हजारसम्मको पारिश्रमिक लिने गर्छन् । यदि, चलचित्रमा पनि काम गरिसकेका चल्तीका कलाकार छन् भने ८० हजारदेखि १ लाख ५० हजारसम्मको डिमाण्ड गर्ने गरेका छन् ।

कलाकारहरुले लिने पारिश्रमिक बढी भएको निर्देशक शान थापा बताउँछन् । उनी भन्छन्–‘यहाँ त मेकिङको खर्च भन्दा पनि धेरै पैसा कलाकारहरुलाई दिनुपर्छ । कलाकारहरुको पारिश्रमिक बढी हुँदा मेकिङमा असर परिरहेको छ ।’

त्यस्तै अर्का निर्देशक सुव्रतराज आचार्य कलाकारहरुले आफूखुसी पारिश्रमिक बढाउने गरेको गुनासो गर्छन् । उनी भन्छन्–‘एउटै कलाकारलाई दुइवटा भिडियोमा काम गराउनुपर्दा पारिश्रमिकमा अन्तर आइसकेको हुन्छ । यसले भिडियो मेकिङमा पनि ठूलो समस्या परेको छ ।’

तर, भिडियो बनाउने अफर बोकेर म्युजिक भिडियो निर्देशकसम्म पुगेका गीतकार, संगीतकार अथवा गायक आफैले कलाकारको छनोट गरिदिन्छन् । कोही त, फलानो कलाकार वा कलाकारको जोडी राखेमा जती पनि पैसा तिर्न तयार हुन्छन् । यस विषयमा निर्देशक शान थापा भन्छन्–‘यहाँ त भिडियो बनाउनेले नै कलाकार छनोट गर्छन् । गीत अनुसार, कस्तो कलाकार राख्दा ठीक हुन्छ भनेर निर्देशकले निर्णय लिन पाउँदैनन् । राम्रो काम गर्नेलाई अवसर भन्दा पनि जो हिट छ त्यसैलाई लिने प्रचलन बढी छ । जसले गर्दा चलेका कलाकारहरुलाई हौसला पुगेको छ र पारिश्रमिक बढाइरहेका छन् ।’

आफ्नो गीतमा कुनै पनि खालको आत्मविश्वास नहुँदा गीतकार, संगीतकार तथा गायकले चलेको कलाकार लिएर युटुबमा भ्यूजको आशा गर्छन् । गीत बजारमा दर्शकले सुनेका छन् या छैनन् भन्दा पनि भ्यूज यति गयो भनेर मख्ख पर्नेको जमातले म्यूजिक भिडियो नगरी लथालिङ्ग बनेको छ ।

यसमा आचार्य भन्छन्–‘चलेको कलाकार राख्दा भिडियो बनाउने गायक–गायिका, गीतकार, संगीतकार भने छायामा पर्छन् । भिडियोमा आएका कमेन्टहरु सबै भिडियोमा देखिएका अनुहारको लागि हुन्छ । अनी गायकले म फलानो गीतको गायक हुँ भनेर परिचय दिदै हिड्नुपर्ने हुन्छ ।’

गीतहरुमा अनुहार हाबी हुदै गएको निर्देशक आचार्यको पनि बुझाई छ । यसलेगर्दा सर्जकको श्रृजनालाई नै असर पुगेको आचार्य बताउँछन् ।

चर्को पारिश्रमिक लिने कलाकारमा व्यवसायिकता पनि हराउँदै गएको छ । भिडियोमा मोडलिङ गरिसकेपछि काम सकियो भनेर ठान्ने धेरै मोडलहरु युटुबको लिंक आफ्नो फेसबुकमा शेयर गर्न पनि आवश्यक ठान्दैनन् । उनीहरु पैसामुखी भएका छन्, व्यवसायिकता हराउँदै गएको छ ।

अहिले भिडियोमा लगानी गर्नेहरुको आम्दानी युटुबको आम्दानी हो । भ्यूज राम्रो गएन र दर्शकले हेरिदिएनन् भने न त गीत चल्छ, न त लगानी नै फिर्ता आउँछ । स्टेज कार्यक्रमबाट पैसा कमाउनेहरु त निकै कम हुन्छन् । धेरैलाई त यहाँ रहरले नै भिडियो बनाउनुपरेको छ ।

निर्देशक शान थापा युटुबबाट राम्रो रकम कमाउन सकिने बताउँछन् । उनी भन्छन्–‘कुनै कुनै भिडियोले त २० लाखसम्म कमाउँछन् । सामान्य भिडियोले पनि २–३ लाख त कमाउँछ । तर, अधिकांश भिडियोहरुको लगानी युट्युबबाट उठ्दैन ।’

निर्देशक आचार्य भने कलाकारहरुले स्टेज शोबाट पनि पैसा उठाउन सक्ने बताउँछन् । उनले भने–‘यदि गीत हिट भइदियो भने त कलाकारले स्टेज शोहरु पाइहाल्छन् । स्टेज शो आम्दानीको मुख्य श्रोत हो ।’

कलाकारको बढिरहेको पारिश्रमिकको समाधान खोज्न लागिरहेका छन्, निर्देशकहरु । उनीहरु कलाकारलाई दिने रकम मेकिङमा खर्च गरेर नयाँ कलाकारलाई प्रोत्साहन दिने सल्लाह गरिरहेका छन् । भिडियो बनाउनको लागि अफर लिएर आउने क्लाइन्टलाई पनि फकाइरहेका छन् निर्देशक । यदी नयाँलाई प्रोत्साहन गरेर मेकिङमा ध्यान दिए राम्रो हुने उनीहरुको बुझाई छ ।

तर, सुव्रत भने यो समस्याको समाधान नहुने बताउँछन् । उनले भने, ‘अहिलेका कलाकारहरुलाई नलिएर नयाँलाई लिए पनि उनीहरुले बिस्तारै आफ्नो पारिश्रमिक बढाइहाल्छन् । त्यसैले यसको समाधान छैन् जस्तो लाग्छ ।’ दिनेले दिन्छन् भने लिनेले लिदाँ केही नहुने सुव्रतले बताए ।

अहिले केही म्यूजिक भिडियो छाड्ने हो भने, धेरैमा स्तरियता पनि हराउँदै गएको छ । नाम चलेकै कलाकार पनि पैसामुखी हुँदा जस्तो गीत र भिडियोमा पनि अभिनय गर्न पछि पर्दैनन् । केही दिन अगाडि अनलाइनखबरसँग एक गीतको छायांकनमा भेटिएकी चर्चित नायिकाले आफूसँगै काम गरिरहेका मोडल नै कोहो भनेर थाहा नभएको बताएकी थिइन् । ती यूवा पैसा हालेर मोडल बन्ने रहर पुरा गरिरहेका थिए भने, नायिकाले पनि पैसाकै लागि भिडियोमा काम गरेकी थिइन् ।

यो समस्या अहिले चलचित्रमा काम गरेर राम्रै पैसा कमाएका नायक–नायिकामा देखिन्छ । यो समस्या समाधान नहुने धेरै भिडियो निर्देशकहरुको छ । भिडियो बनाउनेलाई नयाँ मोडल लिएर राम्रो भिडियो बनाउन प्रोत्साहन गर्ने निर्देशकहरु पनि यहाँ छन् । तर, एक दुइवटा भिडियो चलेपछि तीनै मोडलहरु पनि पारिश्रमिक बढाउन हानथाप गर्छन् ।

यसले, केही समयका लागि मोडल, निर्देशकले पैसा त कमाउलान् । तर, उनीहरुप्रतिको विश्वसनियता भने दर्शकबाट हराउँदै जाने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment