
२० मंसिर, काठमाडौं । करीव तीन साताअघि भारतको आसामस्थित एक कोठीबाट उद्दार गरिएका चार नेपाली बालिकालाई पुनः कोठीमै फर्काउने चलखेल शुरु भएको छ ।
उनीहरुलाई स्वदेश फर्काउन सरकारी निकायबाट तदारुकता नदेखाउँदा कोठी सञ्चालक तथा दलालहरुले नक्कली अभिभावक खडा गरी सरकारी आश्रयस्थलबाट बाहिर निकाल्न लागेका हुन् ।
चार बालिकासहित ६ नेपाली चेलीको उद्दार गरेर फर्किएको शक्ति समूहको टोलीले शुक्रबार महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङलाई भेटेर आसाममा उद्दार गरिएका बालिकालाई द्रूतमार्गबाट स्वदेश फिर्तिको लागि समन्वय गरिदिन आग्रह गरेको छ ।
शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामीको नेतृत्वमा गएको टोलीले ढिला गर्दा दलालले नक्कली अभिभावक खडा गरेर उनीहरुको जिम्मा लगाई पुनः कोठीमा पुर्याउने भएकाले भारत सरकारसँग समन्वय गर्न आग्रह गरेको हो । एकजना बालिकाको नक्कली आमा खडा गरिएको जानकारीसमेत शक्ति समूहले पाएको उद्दार गरेर फर्किएका शक्ति समूहकै दीलिप कोइरालाले बताए ।
शक्ति समूहले आसाम सिल्चरस्थित लेन १४ को नामबाट चर्चित एक कोठीबाट उद्दार गरिएका बालिकाहरुको नाम र नेपालको ठेगाना सहितको विवरणसमेत मन्त्रीलाई बुझाएको छ । उद्दार गरिएका ६ जनामध्ये दुई महिला भने १८ वर्षमाथिका भएकाले भारतको कानुन बमोजिम उनीहरुलाई अदालतले छाडिसकेको छ ।
अन्य बालिकाको हकमा अदालतमा मुद्दा चलिरहेको छ । उनीहरुका नेपालस्थित अभिभावकको ठेगाना खोजेर शक्ति समूहले नाता प्रमाणित गरी स्वदेश फिर्ता गराउने पहल गरिरहेको छ । भारतस्थित नेपाली दूतावासमार्फत शक्ति समूहले यसअघि यस्तैगरी उद्दार गरिएका बालिकाहरुलाई नेपाल ल्याउने गरेको थियो ।
भारतका कोठीबाट उद्दार गरिएका नेपाली बालिका तथा किशोरीलाई स्वदेश फिर्ता गराउनेसम्बन्धी प्रष्ट नीति नरहेकाले स्वदेशफिर्ती जटिल बन्ने गरेको र त्यसैको फाइदा उठाएर दलालमार्फत पुनः बेचबिखनमा पर्ने गरेको शक्ति समूहकी नर्बदा सोराली मगरले मन्त्री गुरुङलाई जानकारी गराइन् ।
अहिलेसम्म स्पष्ट नीतिको अभावका कारण आपसी सहमतिमा आवश्यक कागजात पुर्याएर दिल्लीस्थित दूतावासमार्फत उद्दार भएका चेलीहरुलाई जिम्मा लगाउने गरिएको छ । उद्दार गरिएका बालिकालाई त्यहाँका चाइल्ड वेलफेयर कमिटी (सिडब्लुसी)को जिम्मा लगाउने गरिएको छ ।
सीडब्लुसीले बिभिन्न आश्रममा ती बालिकालाई राख्नेगर्छ । ३ वर्षअघि दिल्लीको जिबी रोडबाट उद्दार गरिएका ९ जना बालिका यसैगरि राखिएको संस्कार आश्रमबाट बेपत्ता भएका थिए । तीमध्ये दुईजनालाई केही महिनाअघिमात्र आसामाको कोठीबाट पुनः उद्दार गरिएको शक्ति समूहकी अध्यक्ष दर्लामीले बताइन् ।
मन्त्री गुरुङले नीतिगत कमजोरी सुधार्दै स्वदेश फिर्तीसम्बन्धी नियम कानुन बनाउन मन्त्रालयले पहल गर्ने भन्दै तत्काल चाहिँ आसाममा उद्दार गरिएका बालिकालाई सुरक्षित स्वदेश फिर्तीका लागि पहल गरिने बताए । उनले परराष्ट्र मन्त्रालयमार्फत तत्कालै पहल गर्न सचिव र सहसचिवलाई निर्देशनसमेत दिए ।
मन्त्री गुरुङले पुसको पहिलो सातासम्म सरोकारवाला सहित राखेर मानव बेचबिखन विरुद्ध आक्रामक ढंगले काम गर्न नीतिगत समस्या भए ती समेत सुधार गरेर अघि बढ्ने आफ्नो योजना सुनाए । उनले स्वदेश फिर्तीको सहज प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयसहित संलग्न रहेर भारतसँग समेत समन्वय गरी नीति बनाउन आफू लाग्ने बताए ।
मंसिर २ गते आसामको सिल्चरस्थित कोठीबाट ६ जना नेपाली महिलाको उद्दार गरिएको थियो । उद्दार गरिएकामध्ये चारजना १६ वर्ष मुनिका छन् । गत चुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्दार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो ।
नेपाली महिला र बालिकालाई जर्बजस्ति यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । तीनै तामाङको चलखेलबाट नक्कली अभिभावक खडा गरी बालिकालाई पुनः कोठीमा फर्काउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया 4