Comments Add Comment

बलात्कृत ६ वर्षीया बालिकाद्वारा अभियुक्तको पहिचान

२० मंसिर, वीरगञ्ज । बाराको कलैयामा बलात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सुधार आएको छ । उनले अभियुक्तको पहिचानसमेत गरेकी छन् । अनुसन्धानकै क्रममा रहेको र आरोपी पक्राउ नपरी सकेकोले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा प्रहरीले घटनास्थल वरपरका केही युवकको तस्वीर ल्याएर देखाएको थियो । त्यही तस्वीरमध्येबाट बालिकाले बलात्कारीको रुपमा एक युवकको पहिचान गरेकी हुन् ।

त्यसैको आधारमा प्रहरीले शंकास्पद व्यक्ति माथि अनुसन्धान शुरु गरेको छ । आरोपीविरुद्ध प्रमाण संकलन भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

भारत बिहार घर भएकी बालिका आमाबुवासँगै गढीमाई मेला भर्न मामा घर कलैया आएकी थिइन् । मंगलबार दिउँसो २ बजेतिर कलैया–४ सुन्दर बस्ति टोलमा ‘चकलेट मिठाई दिन्छु’ भनी ललाई फकाई लगेर बालिकाको बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले भने साँझतिर मात्रै घटनाबारे जानकारी पाएको थियो ।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले गम्भीर ढंगले अनुसन्धान भइरहेको बताएका छन् । ‘मंगलबार दुई बजेतिरको घटना रहेछ, साँझ मात्रै थाहा पायौं, जानकारी पाएलगत्तै बालिकाको उपचारसँगै अन्य अनुसन्धान प्रक्रिया शुरु गरेका हौं,’ प्रहरी उपरीक्षक खनालले भने ‘पहिलो कुरा त बालिकाको स्वास्थ्यमा सुधार आएको छ, अनुसन्धानबाट पनि केही कुरा आएको छ । तर अहिले नै सार्वजनिक गरिहाल्ने अवस्था छैन ।’

घटनापछि बालिकाको परिवारले उपचारका लागि उनलाई वीरगञ्ज ल्याएका थिए । तर तत्काल उपचार गर्नुको साटो वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजले यता र उता भनी दौडाइदिएको आरोप बालिकाका अभिभावकको छ । पछि वीरगञ्ज हेल्थ केयरमा बालिकाको घाउको उपचारका लागि शल्यक्रिया गरिएको थियो ।

तर नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अतुलेश चौरसियाले उपचार नहुने केस भएकोले नै रिफर गरिएको दावी गरेका छन् ।

‘रेप केस भनेर प्रहरीले ल्याएको थिएन, इन्जुरी भएर आएका थिए । डा सल्मा बानुलगायतका चिकित्सकले हेरेका हुन्,’ डा चौरसियाले भने ‘भित्रसम्म टियर (च्यातिएको) थियो । नारायणीमा उपचार हुनै नसक्ने केस थियो । अलमल गर्दा घाउमा इन्फेक्सन हुन सक्ने भएकोले अन्य अस्पतालमा जान सल्लाह दिइएको हो ।’

रोटरी क्लबद्वारा २५ हजार सहयोग

बालिकाको उपचारका लागि रोटरी क्लब अफ वीरगञ्जले २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको अभिभावकको आर्थिक अवस्था कमजोर देखिएकोले उपचारका लागि आर्थिक सहयोग गरिएको रोटरी क्लब अफ वीरगञ्जले जनाएको छ ।

रोटरी क्लब वीरगञ्जका अध्यक्ष एवं बाल रोग बिशेषज्ञ डां. आनन्दकुमार झाले ५ हजार रुपैयाँ र क्लबका अन्य सदस्यहरुबाट सहयोग बापत २० हजार रुपैयाँ संकलन गरिएको थियो । संकलित रकम शुक्रबार पीडित बालिकाकी आमालाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment