Comments Add Comment

चीनको प्रतिवेदन : यसरी बनाउन सकिन्छ काठमाडौं–पोखरा र पोखरा लुम्बिनी रेलमार्ग

२० मंसिर, काठमाडौं । चीनले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको छ । प्रतिवेदनमा दुबै रेलमार्ग कसरी बनाउन सकिन्छ भन्ने उल्लेख छ ।

नेपाल चीनबीच भएको केरुङ–काठमाडौं सीमापार रेल निर्माण गर्ने समझदारीमा नै काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग बनाउने उल्लेख थियो । त्यसअनुसार चीनले गरेको प्रारम्भिक अध्ययनमा दुबै रेलमार्ग बनाउन भौगोलिक कठिनाइ नभएको देखिएको छ ।

‘हाम्रो लागि निकै खुसीको कुरा हो कि लम्बिनीको बुद्ध जन्मस्थलसम्म नै रेलमार्ग बनाउन सकिने गरी अध्ययन भएको छ,’ रेल्वे विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकार भन्छन् ।

उनकाअनुसार काठमाडौं–पोखरा रेलमार्ग करिब १६८ किलोमिटरको हुनेछ । यो रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै त्रिशुली नदीको किनारैकिनार पोखरा लैजान सकिने अध्ययनले देखाएको छ ।

यसैगरी पोखरा–लुम्बिनी रेलमार्ग कुरिनटारबाट भरतपुर हँदै बुटवल र त्यहाँबाट लुम्बिनीको मायादेवी मन्दिरको परिसरसम्म पुग्नेछ ।

यो रेलमार्ग करिब १५७ किलोमटर लामो हुनेछ । यसमा भरतपुरबाट बुटवलसम्म पूर्वपश्चिम रेलमार्गमा जोडिने सम्भावना छ । बुटवलबाट लुम्बिनीसम्म भने थप रेलमार्ग बनाउनुपर्नेछ ।

योजनाअनुसार रेलमार्ग निर्माण भएमा चीनबाट चढेका यात्रु काठमाडौं हुँदै सीधै पोखरा र लुम्बिनीमा उत्रनेछन् । काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग निर्माण पनि केरुङ–काठमाडौं रेलमार्गभन्दासहज हुने चित्रकारले बताए ।

‘केरुङ काठमाडौं रेल ४ हजार मिटरबाट १४ सय मिटरमा झर्नुपर्छ,’ उनी भन्छन्, ‘तर काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि तुलनात्मक रुपमा त्यति धेरै भौगोलिक चुनौती छैन ।’

दुबै रेलमार्ग निर्माण गर्दा १० देखि १२ किलोमिटर मात्रै सुरुङ निर्माण गरे पुग्नेछ । जबकी केरुङ–काठमाडौं रेलमार्गमा भने अधिकांश खण्डका सुरुङ र पुल बनाउनुपर्ने देखिएको थियो ।

काठमाडौं–पोखरा रेलमार्गका लागि करिब ३ खर्ब ५० अर्ब र पोखरा–लुम्बिनी रेलमार्गका लागि करिब ३ खर्ब लागत अनुमान गरिएको छ । ‘दुबै रेलमार्ग बनाउन खास कति लाग्छ भन्ने सम्भाव्यता अध्ययन पछि थाहा हुन्छ,’ प्रवक्ता चित्रकारले भने, ‘यो प्रारम्भिक अनुमान मात्रै हो ।’

नेपाल र चीनबीच गत हप्तामात्रै काठमाडौं–केरुङ, काठमाडौं पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ । चीनले आफ्नै खर्चमा यी रेलमार्गको सम्भाब्यता अध्ययन सुरु गर्दैछ । रेलमार्गको वातावरणीय अध्ययन भने नेपालले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment