+
+

छैटौं दिन नेपाललाई ५ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते २०:३२
५ हजार मिटर दौडमा स्वर्ण जित्ने गोपीचन्द्र पार्की ।

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले शुक्रवार ५ स्वर्ण जित्यो । गौरिका सिंहले एकै सागमा व्यक्तिगतर्फ दोस्रो स्वर्ण जितेको दिन नेपालले एथ्लेटिक्स, भारोत्तोलन र गल्फमा पनि स्वर्ण जित्यो ।

गल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जित्दै एकै दिन दुई स्वर्ण जित्ने भाग्यमानी खेलाडी बने । शुक्रवार ५ स्वर्ण थपेपछि नेपालको पदक संख्या ४१ पुगेको छ ।

दिनको शुरुवात एथ्लेटिक्सका गोपिचन्द्र पार्कीको स्वर्णबाट शुरु भएको थियो । उनले ५ हजार मिटर पुरुष स्पर्धामा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जिते ।

चौथो दिन एथ्लेटिक्समा ८  स्वर्णको लागि भएको स्पर्धाको नेपालले जितेको त्यो नै एक मात्र स्वर्ण हो

सागमा पहिलो स्वर्ण जितेपछि गोपीले १४ वर्षको मेहनतले सफलता हात पारेको बताए । साथै उनले राजेन्द्र भण्डारीको २००६ मा  खोसिएको स्वर्ण फर्काउन सफल भएको सुनाए । ‘खोसिएको स्वर्ण फर्काए अब म्याराथनमा बैकुण्ठ मानन्धरको रेकर्ड तोड्न चाहन्छु’ उनले भने । स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गरे ।

सोही स्पर्धामा भारतका सनिल दवारले रजत जित्दा  नेपालकै हरिकुमार रिमालले कास्य पदक जिते । भारतका सुनिलदबार निर्धारित दुरी पूरा गर्न १४ मिनेट ५५.२१ र हरिले १४ मिनेट ५८.५७ सेकेण्ड खर्चिए ।

उता पोखरामा भइरहेको भारोत्तोलनमा विकास थापाले स्वर्ण जिते । सन् २००६ मा कमलबहादुर अधिकारीले स्वर्ण जितेयता नेपालले भारोत्तोलनमा एकै संस्करणमा दुई स्वर्ण जितेको हो । बिहीवार सन्जु चौधरीले स्वर्ण जित्दै सागमा भारोत्तोलनतर्फ स्वर्ण जित्ने नेपालको पहिलो महिला खेलाडी बनेकी थिइन् ।

विकासले ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । भारोत्तोलनमा शुक्रबार नेपालका लागि २००६ का स्वर्ण विजता कमलबहादुर अधिकारीले भने कास्य जिते ।

यस्तै शुक्रबार सुवास तामाङले गल्फमा व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण जिते । गोकर्ण गल्फ कोर्समा भएको खेलमा सवासले व्यक्तिगततर्फ चार दिनमा कूल १४ अन्डर २७४ स्कोर गरे। यस्तै टिम इभेन्टमा उनले शुक्रबहादुर राई टंकबहादुर कार्की र निरज तामाङसंग मिलेर नेपाललाई स्वर्ण जिलाए ।

‘सागका लागि एक बर्षदेखि तयारी गर्दै आएको थिएँ । तयारीमा संघका अध्यक्ष तासी घलेले धेरै सहयोग गर्नुभयो । मैले चिप र पटमा राम्रो गर्दा उपाधि जित्न सकें । भविष्यमा गल्फमा अझै राम्रो गर्ने छु,’ ललितपुर लेलेका १७ वर्षीय सुवासले भने ।

पुरुष व्यक्तिगतमा शुक्रले कास्य जित्दा महिला टिम इभेन्टमा कश्मिरा शाह रविना श्रेष्ठ र सुसमा कोइरालाको टिमले नेपाललाई कास्य दिलाए ।

नेपालको लागि छैटा दिनको पाँचौ स्वर्ण गौरिका सिंहले दिलाइन् । बिहीबार २ सय मिटर फ्रिस्टायलमा कीर्तिमानसहित स्वर्ण जित्दै सागमा व्यक्तिगततर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी गौरिकाले शुक्रवार २ सय मिटर ब्याकस्ट्रोकमा पनि कीर्तिमान सुधार गर्दै स्वर्ण जितिन् ।

१३औं संस्करणमा दुई स्वर्ण जित्ने उनी तेस्रो खेलाडी बनिन्। यसअघि करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले पनि दुई-दुई स्वर्ण जितेका थिए । गौरिकाको अझै स्पर्धा बाँकी रहेकोले उनले थप स्वर्णसमेत जित्ने आशा गरिएको छ । शुक्रबार ७ स्वर्णको लागि भएको प्रतिस्पर्धामा भारतले सर्वाधिक ५ स्वर्ण जित्दा नेपालका लागि गौरिकाले मात्र स्वर्ण जित्न सफल भइन् । यस्तै श्रीलंकाले १ स्वर्ण थप्यो ।

भारतमा २०१६ मा भएको १२ औं संस्करणको सागमा एक रजत र ३ कास्य जितेकी गौरिकाले १३ औं सागमा २ स्वर्ण र १ कास्य जितिसकेकी छिन् । उनको पदक संख्या २ स्वर्ण १ रजत र ४ कास्य भएको छ ।

यसबाहेक शुक्रबार भएको अन्य खेलमा नेपालको प्रदर्शन मिश्रित रह्यो । क्रिकेटमा नेपालको पुरुष टोलीले माल्दिभ्सलाई सहजै पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवित राख्दा महिला टोली भने श्रीलंकासंग पराजित भयो । महिला टोलीले अब कास्यका लागि प्रतिस्पर्धा गर्नेछ ।  पुरुष टोलीले भने लिग चरणमा शनिवार बंगलादेशको यू२३ संग खेल्नेछ ।

यसैगरी शुक्रवारदेखि शुरु भएको बक्सिङतर्फ नेपालका ३ खेलाडी बाउट जित्दै सेमिफाइनल पुगे । उनीहरुङ्को कम्तीमा कास्य पक्का भएको छ । एक खेलाडी भने पहिलो खेलमै पराजित हुँदै बाहिरिए ।

यस्तै टेबलटेनिसमा पुरुष सिंगल्समा नेपालका श्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य जिते ।  अघिल्लो दिन समान २ स्वर्ण जितेको साइक्लिङमा भने नेपालले शुक्रबार कुनै पदक जित्न सकेन ।

सुटिङ र फेन्सिङको स्वर्णमा भारतीय खेलाडीले दबदबा बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment