Comments Add Comment

१३ औं साग : पुरुष क्रिकेटमा नेपालले बंगलादेशसँग खेल्दै

२१ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले शनिवार स्वर्ण दाबेदार बंगलादेश यू २३ सँग खेल्दैछ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्ने छ ।

पाँच राष्ट्र सहभागी राउण्ड रोविन लिगको पहिलो खेलमै श्रीलकासँग ६ विकेटले पराजित भएको नेपालले त्यसयता भुटान र माल्दिभ्सविरुद्ध सहज जित हात पारेको छ ।

स्वर्णको दाबेदार दुई राष्ट्र श्रीलंका यू २३ र बंगलादेश यू २३ बीच खेल हुनै बाँकी छ । यस्तोमा नेपालको लागि शीर्ष दुईमा रहँदै फाइनल पुग्न शनिबार बंगलादेश विरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । पराजित भएमा भने नेपालको स्वर्ण सम्भावना समाप्त हुनेछ ।

श्रीलंका लगातार तीन खेल जित्दै ६ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । बंगलादेशको २ खेलबाट ४ अंक छ । दुवै टिम अपराजित छन् । माल्दिभ्स र भुटानले समान ३ खेल खेलिसकेका छन् भने सबैमा हार बेहोरेका छन् । शनिबारै भुटान र माल्दिभ्सबीच पनि खेल हुनेछ ।

त्यसभन्दा अघि नै बिहान ९ बजे कीर्तिपरस्थित टीयू मैदानमा नेपालले बंगलादेश यू २३ सँग खेल्नेछ ।

नाजमुल हुसेन सान्तोको कप्तानीमा रहेको बंगलादेशी टोलीमा २३ वर्षको माथीका सिनियर खेलाडी ३ जना मात्र रहेपनि अन्तर्राष्ट्रिय खेल खेलिसकेका ६ खेलाडी छन् । त्यसैले पनि नेपालको लागि खेल केही कठिन हुन सक्नेछ । यसअघि बंगलादेशमै भएको इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । सागको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध १७२ रनको स्कोर बनाए पनि फिल्डिङ गल्ती गर्नुका साथै ४ क्याच छाडेपछि हार बेहोर्नुपरेको थियो ।

त्यसपछि कमजोर दुई टिमविरुद्ध जित हात पारे पनि नेपालको असली परीक्षा बंगलादेशसँग हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment