Comments Add Comment

संघीय सरकारको नीतिलाई महानगरले सफल बनाउने

२० मंसिर, काठमाडौं । संघीय सरकारको नीतिलाई काठमाडौं महानगरले सफल बनाउने योजना बनाएको छ । आर्थिक वर्ष २०७५–७६ को बजेट वक्तव्यमा उल्लेख भएको ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने संघीय सरकारको योजना सफल बनाउन महानगरले अभियान शुरु गर्ने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

केहि साता अघि भरतपुर महानगरलाई सडक मानवमुक्त सहर घोषणा गरिएको थियो । त्यसलाई निरन्तरता दिदै काठमाडौं महानगरले समेत सडक मानवमुक्त सहर घोषणा गर्ने निर्णय गरेको थियो । यसका लागि महानगरले अभियान नै बनाएर काम गर्दैछ ।

अभियानलाई सफल बनाउन गठन गरेको मुल व्यवस्थापन समितिले शुक्रबार सरोकारवालाहरुसँग छलफल समेत गरेको छ । छलफलका क्रममा मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका मेयर शाक्यले ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा अभियानलाई प्रभावकारी बनाउने बताए । काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसर पारेर यहि मंसिर २९ गते अभियानको घोषणा गर्ने तयारी गरेको समेत मेयर शाक्यले जानकारी दिए ।

‘काठमाडौँ महानगर क्षेत्र भित्र भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन् भन्ने मूल नारासहित मानव सेवा आश्रमको सहयोगमा हामीले यस्तो अभियनको घोषणा गर्न लागेका हौँ,’ मेयर शाक्यले भने, ‘सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचारपश्चात् घर पहिचान भएकालाई परिवारमा पुनःमिलन गराउने लगायतका कार्यमा हामी जुटिरहेका छौँ । हामी पहिलो चरणमा त्यस्ता व्यक्तिहरुको पहिचना गरी उठाएर ‘स्क्रिनिङ सेन्टर’ मा लैजान्छौँ । त्यहाँ हामीले खाने–बस्ने र सामान्य उपचारसहित मनोपरामर्शसम्म गर्ने व्यवस्था मिलाएका छौँ ।’

मेयर शाक्यले स्क्रिनिङ सेण्टरमा उनीहरु सडकमै बस्नु पर्ने कारण पत्ता लगाई घर फर्किने अवस्थामा रहेकाहरुलाई घर–ठगाना पत्ता लगाई घर पठाउने, आफन्तको जिम्मा लगाउने, स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने र केही र कोही नभएका साच्चिकै बेसहाराहरुलाई मानवसेवा आश्रमको सहयोगमा खाने र वस्ने व्यवस्था गरिदिने पनि बताए ।

‘काठमाडौँ महानगरपालिका भौतिक पूर्वाधार र सम्पदा पुननिर्माणमा मात्रै होइन मानवीय सहयोगका काममा पनि उत्तिकै दत्तचित्त भएर लागिरहेको छ भन्ने सन्देश दिनका लागि पनि हामीले यो प्रयासलाई अघि बढाएका हौँ,’ मेयर शाक्यले भने, ‘भोक मेट्नकै लागि सडकमा बस्नुपर्ने बाध्यता भएकालाई खुवाउने र औषधोपचारसहित घर हुनेलाई पारिवारिक मेलमिलापको वातावरण मिलाउनेसम्मका काम गर्न महानगर तयार छ । यसका लागि आश्रमले अलिक बढी मेहनत गर्नुपर्छ ।’

मेयर शाक्यले आव २०७५–७६ को बजेट वक्तव्यमा समेत ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने विषयलाई समावेश गरेको भन्दै सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउन राज्यका अन्य निकाय जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सामाजिक संस्थालगायतसँगसमेत सहकार्य गरिरहेको समेत जानकारी दिए ।

उपमेयर हरिप्रभा खड्कीले पनि यो अभियानलाई पूर्णता दिएरै छाड्ने बताए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेस थापाले पनि काठमाडौँ महानगरपालिकाले पुण्यको काम अघि बढाएको भन्दै महानगरपालिकाले अघि बढाएको काममा सहयोग गर्न तयार रहेको जानकारी दिए । ‘हामी सबै लागेपछि यो काम पूरा भएरै छाड्छ,’ उनले भने ।

अभियानलाई प्रभावकारी बनाउन मेयर शाक्यको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । जसमा उपमेयर खड्की, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेस थापा, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकाल, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख सनतकुमार थापा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, काठमाडौँ शिक्षा विभागका तारापती खरेल, काठमाडौँ महानगरपालिका कानुन महाशाखाका प्रमुख बसन्त आचार्य, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्य, नगर प्रहरी महाशाखाका प्रमुख धनपती सापकोटा सदस्य रहेको छ भने शहरी सुव्यवस्था विभाग प्रमुख हरि कुँबर सदस्य सचिव रहेको छ । त्यसैगरी अभियानलाए प्रभावकारी बनाउन ९ सदस्यी कार्यान्वयन उपसमिति पनि गठन भएको छ । त्यस्तै परिचालनका लागि ६ सदस्यी समिति पनि बनेको छ ।

महानगरपालिकाले २०७४ मंसिर १ गतेदेखि आश्रमसँग सहकार्य गर्दै आएको छ । सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचार पश्चात् घर पहिचान भएकालाई परिवारमा पुनःमिलन गराउने लगायतका कार्यमा जुटिरहेको मानवसेवा आश्रमलाई महानगरले विभिन्न खाले सहयोग समेत गर्दै आएको छ ।

अश्रित व्यक्ति बसेका बुढानिलकण्ठ र सामखुशीका दुई भवनको भाडा समेत महानगरपालिकाले तिर्दै आएको छ । त्यसैगरी आश्रमलाई गाडी खरीदका लागि पनि महानगरपालिकाले १६ लाख सहयोग गरिसकेको छ । पिभवन निर्माणमा समेत महानगरले रु ३ करोड सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

मानव सेवा आश्रमले अहिलेसम्म करीब दुई हजारको उद्धार गरेको र ६०० लाई परिवारमा मिलन गराएको जानकारी दिए । अहिले करीब ८०० सहयोगापेक्षी आश्रमको संरक्षणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment