Comments Add Comment

विश्वचर्चित दुई साहित्यकारको प्रेमकथा : ‘डिभाइन कमेडी’ भर्सेस ‘ह्युमन कमेडी’

धार्मिक भावले जकडिएको समाजलाई चुनौती दिएर १३ औं शताब्दीमा इटालियन साहित्यकार अलिघेरी दाँतेले आफ्नी असफल प्रेमिकाको बखानमा ‘डिभाइन कमेडी’ को चर्चा गरे । एउटा असफल प्रेमीले लेखेको सो रचनाको अधिकांश भाव उनकी त्यही प्रेमिकाको बखानमा केन्दि्रत थियो ।

दैविक सुखान्तको ९ तहमध्ये सबैभन्दा उच्च बिन्दूमा उनले आफ्नी प्रेमिकाको नाम लेखेपछि त्यो कट्टर धार्मिक समाजले उनको निकै विरोध गर्‍यो । उनले न त प्रेमिकालाई पाए, न त समाजलाई । त्यही समाजमा नअटेका दाँते अहिलेसम्म विश्वका साहित्यप्रेमीहरुको मनबाट हट्न सकेका छैनन् । उनकी प्रेमिकाले उनको त्यो प्रस्ताव स्वीकारेकी थिइन् भने सायदै हामीले डिभाइन कमेडी पढ्न पाउने थियौं । उनको प्रेमको असफलताको उपहार हो डिभाइन कमेडी ।

त्यसको ४ सय वर्षपछि १८ औं शताब्दीको अन्त्यमा त्यस्तै अर्का उपन्यासकार जन्मिए हनोरे दि बाल्जाक । दाँतेले केवल आठौं स्थानर्म भए पनि जिसस -भगवान) लाई राखेका थिए । तर, बाल्जाकले  त भगवानको अस्तित्वलाई नै स्वीकारेनन् ।

जीवन जिउने क्रममा बाल्जाकले चरम आनन्दको स्वाद लिए । भनिन्छ, बाल्जाक एक दिनमा निकै कम समयमात्रै होसमा हुन्थे । त्यही होसमा हुँदा नै उनले धेरै धनाड्यहरुका श्रीमतीलाई प्रेमजालमा फसाएर आफ्नो खर्च जुटाउने गर्थे ।

एकजनालाई प्रेमजालमा फसाएपछि उनलाई केही महिनाका लागि खर्चको जोहो हुन्थ्यो । त्यो फुर्सदिलो समयमध्ये धेरै समय उनी नसामा हुन्थे भने थोरै समय साहित्य लेख्नमा खर्च गर्दथे ।

बाल्जाकले जस-जसलाई मायाजालमा फसाए, उनीहरुसँगको संगतलाई साहित्यमा पनि उतार्दै गए । अन्तमा उनको विश्वचर्चित उपन्यास ‘हृयुमन कमेडी’को जन्म भयो । त्यही उपन्यासले उनलाई विश्वचर्चित बनाइदियो ।

साहित्य क्षेत्रका यी हस्तीहरु दुबै प्रेमकहानीबाट विश्व चर्चित भएका उदाहरण हुन् । यसमा पनि दाँते असफल प्रेमीका एक पात्र हुन् भने बाल्जाक देखावटी प्रेमका । उनी अनेक महिलाहरुलाई भुलाउन सक्ने व्यक्ति हुन् ।

मानिसको सुखको स्तर पत्ता लगाउने क्रममा इटालीका साहित्यकार दाँतेले दैविक सुखान्तका ९ तहको वर्णन गरे । उनले ती नौवटा मध्ये आठौं स्थानमा जिसस क्राइस्टलाई राखे । आनन्दको उच्च बिन्दू भनेर नवौं स्थानमा आफ्नी प्रेमिका बेट्रेसलाई राखे । बेट्रेस एक धनाढ्य परिवारकी छोरी थिइन् । उनले निम्नवर्गीय परिवारमा जन्मिएका दाँतेलाई वास्ता गरिनन् । त्यसैबाट जन्मियो एउटा साहित्यकारको साहित्य । र, त्यसैले उनलाई चर्चित बनायो ।

दाँतेको जीवनमा दुई मूलभूत घटना भए । पहिलो-उनले आफूभन्दा धेरै माया गर्ने प्रेमिकाबाट धोका पाए, जसले उनलाई कवि बनायो । दोस्रो- राजनीतिमा लागेर छोटो समयमा नै आफ्नै स्थानीय नगरको प्रमुख बन्न सफल भएका दाँतेलाई प्रतिपक्षीका कारण २० वर्षसम्म प्रवासमा बिताउनुपर्ने सजायँ दिइयो । यो उनको दोस्रो टर्निङ प्वाइन्ट थियो । यसले उनलाई महाकवि बनाइदियो । त्यही सजायँको उपहार हो- ‘डिभाइन कमेडी’ । यही सजायँले पहिले उनलाई विश्वचर्चित बनायो ।

अर्काेतर्फ, आफ्नो जीवनलाई नै प्रयोगशाला बनाउने यथार्थवादी कवि हुन् बाल्जाक । उनी जीवनमा जति वर्ष बाँचे, त्यसको दोब्बर महिलाहरुसँग उनले प्रेम गरेका थिए । भनिन्छ, उनी जोसँग विवाह या प्रेम सम्बन्ध गाँस्थे, उनीहरुसँग बिताएको समयलाई नै कहानीको रुपमा उतार्थे । आम्दानीको स्रोत नै नभएका बाल्जाकलाई जीवन जिउन र पुस्तक छाप्नका लागि समेत आवश्यक पैसा थिएन । त्यसको पूर्तिका लागि उनी धनाढ्यहरुकी श्रीमतीलाई आफ्नो प्रेमजालमा फसाउँथे ।

बाल्जाकले धेरैसँग विवाह गरे । धेरैसँग प्रेम सम्बन्धमा मात्रै सीमित भए । यसरी नै उनले आफ्नो साहित्य यात्रालाई निरन्तरता दिए ।

चौधौं शताब्दीका दाँते र अठारौं शताब्दीका बाल्जाकबीच प्रेम, यथार्थता र जीवन जिउने कलामा धेरै समानता पाइन्छ । तर, उनीहरुको विचारमा भने केही भिन्नता देख्न सकिन्छ । एकले ईश्वरीय सुखान्तको वर्णन गरेका छन् भने अर्काेले मानवीय सुखान्तको व्याख्या गरेका छन् ।

फ्रान्सेली राज्यक्रान्ति र बाल्जाकको साहित्य

१८ औं शताब्दीको अन्त्यतिर फ्रान्सेली राज्यक्रान्तिको राप दन्किइरहेको थियो । लुई सोह्रौंको सत्ता ढलिसकेको थियो । मुलुकमा ४ वर्षे उग्र गणतन्त्र सकिएर उदार गणतन्त्रको सुरुवात हुँदै गर्दा सामान्य किसानका छोराका रुपमा बाल्जाकको जन्म भएको थियो ।

राज्य क्रान्तिको ज्वाला कम हुँदै गर्दा राजनीतिक पण्डितहरुमा नयाँ शासन व्यवस्थाको उन्माद चढिरहेको थियो । त्यहीबेलामा बाल्जाकले भने मानवीय सुखान्तको खोजी गर्दै ह्युमन कमेडी लेखेका थिए । उनको यो उपन्यास फ्रान्सेली क्रान्तिमा त्यहाँका मानिसहरुले भोग्नुपरेको पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास हो ।

उन्नाइसौं शताब्दी फ्रान्समा यथार्थवादको जन्म र विकासको इतिहासको पहिलो अध्याय यिनै बाल्जाकबाट सुरु हुन्छ । बीसौं शताब्दीको सुरुमा विश्वमा युद्ध र शान्तिको बहस चलिरहेका बेलामा पाश्चात्य विद्वानहरुले पाश्चात्य साहित्यमा सर्वाेत्कृष्ट उपन्यास टाल्सटायको ‘युद्ध र शान्ति’ रहेको ठहर गरे भने सबैभन्दा ठूला उपन्यासकार बाल्जाकलाई घोषणा गरिदिएका थिए ।

उन्नाइसौं शताब्दीमा नै बाल्जाकले युरोपका यथार्थवादी लेखकहरूको क्रमिक पुस्तामा गहिरो प्रभाव पारेका थिए । यसरी प्रभावित हुनेहरुमा ˆलोबियरदेखि टोल्सटोय लगायतसम्म थिए । बीसौं शताब्दीमा गोर्की र मिखायल सोलोखोदेखि चीनका लु सुन र भारतका प्रेमचन्दसम्मका अधिकांश लेखकले बाल्जाकको अनन्त महानतालाई स्वीकार गरे । उनीहरुले यथार्थवादका गुरु भनेर बाल्जाकलाई चिनाए ।

कार्ल मार्क्सको प्रसंशादेखि युजिनको चर्चासम्म

बाल्जाककै समकक्षी एक अर्का उपन्यासकार थिए युजिन सुई । उनका कृतिहरु त्यतिबेलाका युवाहरुमा निकै लोकपि्रय थिए । यद्यपि बुज्रुकहरु भने बाल्जाकको कृतिबाट आकषिर्त थिए । युजिनका पुस्तकहरु अङ्ग्रेजीलगायत विभिन्न चौध भाषामा अनुवाद भएका थिए । उनका किताबहरु किन्नेको भीड हुन्थ्यो । त्यसले बाल्जाकको मनस्थितिमा गहिरो पीडा दियो ।

जीवनलाई नबुझेका, इतिहास नजानेका युजिनले लेखेको उडन्ते साहित्यले उपन्यासलाई कुन सतहमा पुर्‍याउला भनेर उनी चिन्तित थिए ।त्यही बेलामा कार्ल मार्क्र्सले एउटा रचना प्रकाशित गरेका थिए । त्यसमा बाल्जाकको निकै प्रसंशा गरिएको थियो । त्यही साहित्यकै कारण पनि उनले विश्वमा चर्चाको शिखरमा यात्रा आरम्भ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment