Comments Add Comment

पर्यावरणसम्वन्धी अनुसन्धान केन्द्रको शिलान्यास

आणविक भट्टी विष्फोटका असरबारे पनि अनुसन्धान गर्न सकिने

अनुसन्धान केन्द्र शिलान्यास गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल ।

२२ मंसिर, काठमाडौं । वायुमण्डल र पर्यावरणबारे अध्ययन गर्न नेपालमा छुट्टै अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।

बल्खुस्थित जनप्रशासन क्याम्पस नजिक बन्ने राष्ट्रिय अनुसन्धान केन्द्रको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार शिलान्यास गरेका छन् ।

अनुसन्धान केन्द्रलाई ‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी (नारेल)’ नाम दिइएको छ । सो अनुसन्धान केन्द्रमा वायु ऊर्जा, मौसम पूर्वानुमानका साथै आणविक भट्टी दुर्घटना हुँदा पर्नसक्ने असरबारेसमेत अनुसन्धान गर्न सकिने छ ।

अनुसन्धान भवन निर्माणका लागि सरकारले दुई करोड बजेट छुट्याएको थियो । यद्यपि एक करोड २३ लाख रुपैयाँमा भवन निर्माणको टेण्डर भएको छ । आवासीय सुविधासहित तीनतले सो भवनको निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।

अनुसन्धान केन्द्रमा दुई दर्जनभन्दा बढी अनुसन्धानकर्ताहरुले चौबीसै घण्टा अनुसन्धान गर्न सक्ने छन् ।

शिक्षा मन्त्रालयले हालै पारमाणविक भट्टी र रेडियोधर्मी पदार्थसँग सम्बन्धित एक विधेयक ल्याएको छ । तर, यसको औचित्य र असरबारे संसदीय समितिमा बहस भइरहेको छ । नेपालमा पारमाणविक भट्टी सञ्चालन गर्ने उद्देश्यले कानुन बनाउन लागिएको भन्दै तीव्र आलोचना भएपछि विधेयकबाट ‘पारमाणविक’ शब्द हटाएर ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी ऐन’ नामाकरण गरिएको छ ।

यसै सन्दर्भमा बन्न लागेको अनुसन्धान केन्द्रको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले अनुसन्धानका लागि चाहिने आवश्यक सामाग्री उपलब्ध गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सरकारले विज्ञान प्रविधिलाई प्राथमिकता दिने पनि बताए ।

अनुसन्धान केन्द्रका निर्देशक डा. रामप्रसाद रेग्मीले नेपालमा अध्ययन गरेर विदेशीने क्रम बढेको बेला नेपालमै अनुसन्धान केन्द्र निर्माण सुरु हुनु ठूलो उपलब्धी भएको बताए । डा. रेग्मी नेपालमा वायु प्रदुषण सम्बन्धमा पीएचडी गर्ने पहिलो व्यक्ति हुन् ।

उनले यो अनुसन्धान केन्द्र गरिबी निवारणको लागि पनि महत्वपूर्ण हुने बताए । नेपालको कुन ठाउँमा, कुन समयमा, के खेती गर्ने भनेर पनि अनुसन्धान केन्द्रले सिफारिस गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment