Comments Add Comment

यस्तो बन्नेछ २८ तले ‘स्काई वाक टावर’

डेढ वषैमै तयार हुने दाबी

२१ मंसिर, काठमाडौं । हेर्दै आङ सिरिङ्ग हुने अग्लो टावर । त्यो पनि सिसैसिसाको । विकसित देशहरुमा देखिने यस्तो टावर पहिलोपटक नेपालमा निर्माण हुन लागेको छ ।

डेढ वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित निर्माण सुरु भएको यो ‘स्काइ वाक टावर’ नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो हुनेछ ।

टावर निर्माणका लागि शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिलान्स गरे । शिलान्यास कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रदेश एकका मुख्यमन्त्री शेरधन राईसमेत थिए ।

यस्तो बन्नेछ टावर

काठमाडौंको केन्द्र कमलादीमा १३.२ रोपनी क्षेत्रफलमा उक्त टावर नेपालमै नयाँ प्रविधिको परियोजना रहेको परियोजना व्यवस्थापन निर्देशक इन्जिनियर सञ्जीव रोकाहाले बताए । उनका अनुसार परियोजनाको कूल लागत २ अर्ब रुपैयाँ अनुमान गरिएको छ । स्काइवाक भ्यू टावर आउने १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको राकाहा बताउँछन् ।

नेपाली भवन ढाँचा अनुसार झन्डै २८ तल्ला बराबरको उचाइ रहने ७८ मिटर अग्लो उक्त टावर वन्डर्स नेपाल प्रालिले निर्माण गर्न लागेको हो । निर्माण कम्पनीले दिएको जानकारी अनुसार जग्गा भाडामा लिएर निर्माण सुरु गरिएको टावर पूर्णरुपमा ‘स्टिल स्ट्रक्चर’ रहने छ । टावर निर्माणका लागि स्थानीय जग्गा २८ वर्षका लागि लिजमा लिइएको कम्पनीले जनाएको छ ।

टावरभित्र राखिने लिफ्ट जमिन सतहदेखि सिधै ६८ मिटरमा माथि पुगेर रोकिनेछ, जहाँ सिसाको हिँड्ने बाटो बनाइएको हुन्छ । हिँड्ने ठाउँभन्दा तल्लो तहमा केही कोठाहरु र मिटिङ हल आदि निर्माण हुने छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सन कम्पनीले पाएको छ ।

टावरको ७५ मिटर उचाईमा सिसामाथि हिँड्न सकिने बताइएको छ । त्यहाँबाट सीधै तल भुईमा हेर्न सकिने भएकाले अवलोककर्तालाई आकाशका हिँडेको जस्तै अनुभूति हुने निर्माण कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए ।

टावरको माथिल्लो भागमा ओपन रेस्टुरेन्टसहित नाइट क्लब पनि हुनेछ । भुईँ तल्लाको भागमा भने कफी तथा सोभिनियर सपहरु राखिनेछन् । टावरमा इभेन्टहरु पनि गर्न सकिने पोखरेलले बताए । यो टावरमा प्रवेश गर्दा निश्चित शुल्क लिइनेछ । टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ ।

टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिनेछ । टावरलाई सुरक्षित पर्यटकीय र मानेरन्जनको गन्तब्य बनाउने योजना कम्पनीको छ ।

‘सुरुमा पत्याएको थिइनँ’

शनिबार टावर शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले सुरुमा आफूले यो बन्ला भनेर विश्वासै नगरेको बताए । तर आफैले शिलान्यास गर्न पाउँदा भने धेरै खुसी लागेको उनको भनाइ थियो ।

‘सुरुमा टावरको अवधारणा ल्याउँदा मलाई नै विश्वासै लागेको थिएन, केही साथीहरुले ल्याउनु भयो तर बन्छ भन्नेमा शंकै थियो,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘आज उद्घाटनका लागि आउँदा १८ महिनामै निर्माण सम्पन्न हुने योजना सुनेपछि भने म निकै हर्षित छु ।’

पर्यटनमन्त्री भट्टराईको भनाइमा टावर निर्माण अझ अलि छिटो सुरु भएको भए आगामी वर्ष मनाउन लागिएको भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने थियो । ढिला भए पनि भ्रमण दशकलाई यसले राम्रो हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment