Comments Add Comment

सिराहाको लक्ष्मीपुर पतारी तनावग्रस्त, झडपमा वडाध्यक्षसहित आधादर्जन घाइते

२२ मंसिर, लहान । गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आइतबार झडप भएको छ ।

झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन् । आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

गाउँपालिकाको बजेट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको भन्दै सम्पूर्ण हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित स्थानीय आन्दोलनमा उत्रिएको हो । जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा फोरमका कार्यकर्ताले आफ्ना कार्यकर्ताको टाउँको फुटाइ दिएपछि आफूहरु तोडफोडमा उत्रिएको आन्दोलनकारीले बताएका छन् ।

आन्दोलनकारीले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउनुका साथै कार्यालयभित्र रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

कुल छ वटा वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाकामा तीन वटा वडामा सङ्घीय समाजवादी फोरम, दुई वटा वडामा नेपाली कांग्रेस र एक वटा वडामा नेकपाले जितेका छन् । गाउँपालिकामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस र नेकपाले आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment