Comments Add Comment

बिच भलिबलमा महिलालाई कांस्य

श्रीलंकालाई २ स्वर्ण र २ रजत

२२ मंसिर, पोखरा । १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कास्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो ।

नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । पुरूषतर्फ नेपालको दुवै टिम लिग चरणबाट बाहिरिए । श्रीलंकाको महिला र पुरुष दुबैतर्फ २/२ टिम फाइनल पुग्दै स्वर्ण र रजत जित्न सफल भए ।

पुरुषतर्फ श्रीलंकाको प्रदीप आसंका र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सेटमा हराउँदै स्वर्ण जित्यो । महिलातर्फ श्रीलंकाकै दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जित्न सफल भयो ।

पुरुषतर्फ पाकिस्तानले कांस्य जित्यो । पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर कांस्य जित्न सफल भयो ।

बिच भलिबलमा महिलातर्फ नेपाल, श्रीलंका र माल्दिभ्स सहभागी थिए । पुरूषतर्फ नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश र माल्दिभ्स सहभागी थिए । सागमा पहिलोपल्ट यो खेल समावेश भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment