Comments Add Comment

सप्तरंग म्युजिक जर्नी-२ : धुमधामको घुमघाम

सन् २०२० लाई धुमधामका साथ पर्यटन बर्षको रुपमा मनाउने तयारी भइरहँदा कलाकर्मीको एउटा समूहले सातै वटा प्रदेशको फन्को लगाएका छन् । सात वटै प्रदेशका मूख्य-मूख्य सहरमा पुगेका उनीहरुको ध्येय मनोरञ्जन पेश गर्नु मात्र थिएन, स्थानिय क्षेत्रको प्रचार-प्रचार गराउनु पनि थियो । कार्यक्रमको नाम थियो, सप्तरंग म्युजिक जर्नी ।

अघिल्लो बर्ष सम्पन्न एक सांगीतिक यात्राकै सिलसिला थियो यो । अतः कार्यक्रमका लागि तारतम्या मिलाएको थियो, गृष्मा ब्रोडकास्टिङले ।

महानायकदेखि गलबन्दी गायकसम्म

कार्यक्रमका विशेष आकर्षण थिए, महानायक राजेश हमाल । यसैगरी अहिलेकी चर्चित पाश्र्व गायिका मेलिना राई, गलबन्दी फेम्ड गायक प्रकाश सपूत कलाकर्मीको लस्करमा थिएँ । गायक सुगम पोखरेल, गायक हिमाल सागर, गायक रवि ओड र हास्य कलाकार जीतु नेपाल पनि यसमा समावेश भए ।

गायन, नृत्य, प्रहसनसहितको यो यात्रा देशका सात प्रदेशको प्रतिनिधित्व गर्दै फन्को लगाएको थियो । सात वटा प्रदेशमा सात कलकार्मीले अगुवाई गरेका थिए ।

अघिल्लो बर्ष रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरा जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अन्जली अधिकारी सामेल थिए ।

बिर्तामोडदेखि पोखरासम्म

कार्यक्रमको नाम नै सप्तरंग । सप्तरंगी प्रस्तुती, थरीथरीका कलाकार । सातै प्रदेश घुम्ने । यसै मेसोमा कार्यक्रम पूर्वी नेपालको व्यापारिक शहर विर्तामोडबाट सुरु भयो । त्यसपछि वीरगन्ज, चितवन, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर हुँदै पोखरामा पुगेर कार्यक्रमले विट मारेको थियो ।

गएको कार्तिक २० गते सुरु भएको कार्यक्रम मंसिर ४ गते समापन भएको थियो ।

रैथाने कला-संस्कृति

भूगोल, समुदाय अनुसार अनेकथरी कला-संस्कृति छ, हामीकहाँ । मारुनीदेखि देउडासम्म । यी कला-संस्कृतिले स्थानियवासीको जन-जीवन, सामाजिक चेत आदि पनि झल्काउँछ ।

अतः सप्तरंगको उदेश्य यस्तै रैथाने कला संस्कृतिलाई समेट्नु पनि थियो । सोही अनुसार विभिन्न भेगका रैथाने कला-संस्कृति पनि सप्तरंगमा मिसाइएको थियो ।

पर्यटकिय क्षेत्रको खोजी

आवरणमा हेर्दा सांगीतिक रमझम जस्तो देखिएपनि कार्यक्रमको रुपरेखा फरक थियो । खासगरी सप्तरंग कार्यक्रम आयोजना गर्नुको उदेश्य स्थानिय क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारमा टेवा पुर्‍याउनु पनि थियो । त्यसैले त कार्यक्रमको नारा नै तय गरिएको थियो- सात प्रदेश, सात हामी : पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि ।

जहाँ-जहाँ कार्यक्रम आयोजना गरियो, त्यस क्षेत्रमा रहेको पर्यटकिय क्षेत्रहरुको पनि खोजी गरिएको थियो । स्थानिय क्षेत्रको पर्यटकिय गन्तव्य खोज्ने र संम्भाव्यता पहिल्याउने उदेश्य राखिएको आयोजक संस्थाका अध्यक्ष गृहेन्द्र घिमिरले बताए ।

समुदाय-प्रहरी साझेदारी

कार्यक्रमको अर्को आकर्षक पक्ष भनेको समुदाय-प्रहरी साझेदारी पनि थियो । समुदायसँग मिलेर शान्ति सुरक्षा कायम गर्ने यो अभियानसँग सप्तरंगले हातेमालो गरेको थियो ।

युवा र बालबालिकामा लक्षित यो कार्यक्रमलाई नेपाल प्रहरीले देशभरका गाउँ-विद्यालयमा पुर्‍याएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी’ नाराका साथ सञ्चालन भइरहेको अभियानमा जोडिएर सप्तरंग कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment