Comments Add Comment

बोक्साको आरोपमा वडाध्यक्षलाई जुत्ताको माला, मलमुत्र खुवाउने प्रयास

कुटपिटपछि भरतपुर अस्पतालमा उपचार गराउँदै वडाध्यक्ष पञ्चबहादुर प्रजा ।

२३ मंसिर, चितवन । बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्षमाथि कुटपिट भएको छ । उनलाई कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत भएको छ ।

वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् ।

जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए । ‘उनीहरुले दिसापिसाब पनि खुवाउँछौं भनेका थिए, मैले प्रतिकार गरेँ,’ वडाध्यक्ष प्रजाले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘घटना भएको बेला मसँग २/३ जना दाजुभाइ हुनुहुन्थ्यो, उहाँहरुमाथि पनि कुटपिट भएको छ ।’

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेेको छ ।

नेकपाद्वारा कारबाहीको माग

पञ्चबहादुर चेपाङ इच्छाकामना गाउँपालिका वडानम्बर २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवसमेत हुन् । यसैबीच नेकपाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसको प्रजातान्त्रिक कुसंस्कार आम जनताबीच छर्लङ्ग देखिएको छ ।’

यस्तै नेपाल चेपाङ संघका अध्यक्ष भिमबहादुर चेपाङले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment