Comments Add Comment

प्रधानमन्त्रीको सरप्राइज प्याकेज : टिम इभेन्टका पदक विजेता निराश !

२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) समापन भएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तो मान्न बालुवाटार पुगेका पदक विजेता खेलाडीहरुको साझा चासो थियो, ‘सरप्राइज प्याकेज’ कस्तो होला ?

बालुवाटारको सभाहल पदक विजेता खेलाडीले भरिएको थियो । कतिपय त अटाएनन् पनि ।

खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई मञ्चमा दायाँबायाँ राखेर प्रधानमन्त्रीले सम्बोधन सुरु गरे । उनले कांस्य जित्नेले ३ लाख, रजत जित्नेले ६ लाख र स्वर्ण जित्नेले ९ लाख रुपैयाँ पाउने सुनाए । एकभन्दा बढी स्वर्ण जित्नले ११ लाख रुपैयाँ पाउने बताए । त्यसपछि टिम इभेन्टमा स्वर्ण जित्नेले पाउने रकम तोके । जस्तो फुटबल, भलिबल आदि टिममा खेलिने छन् नि भन्दै उनले टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने बताए ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को पुरस्कार रकम घोषणा गर्दा खेलाडीहरु निकै खुसी देखिन्थे । उनीहरुले समर्थनमा हुटिङ गर्दै जोडजोडले ताली बजाए । खेलाडीहरु खुसी हुनु यो स्वाभाविक पनि हो, किनकी नेपाली खेलकुदमा राज्यको तर्फबाट घोषणा भएको यो नै अहिलेसम्मको सर्वाधिक नगद पुरस्कार हो ।

तर ठूलै उत्साह बोकेर बालुवाटार पुगेका टिम इभेन्टमा रजत र कास्य पदक जितेका खेलाडी भने निराश बने । ‘टिम इभेन्टमा स्वर्ण जित्नेको पुरस्कार घोषणा भयो, तर हाम्रा लागि केही भएन’ बास्केटबल पुरुष टिमका कप्तान सदिश प्रधानले गुनासो राखे, ‘हामीले चारवटै इभेन्टमा पदक जितेका थियौं । केही घोषणा होला भनेर आश गरेका थियौ तर केही भएन ।’

उनले व्यक्तिगत र टिम इभेन्टमा खेल्ने खेलाडीमा फरक छुट्याएकोमा पनि निराशा व्यक्त गरे । ‘इभेन्टमा कुनै एक जनाले खेल्न पाएन भने बेन्चमा पनि बस्नुपर्छ । टिममा पर्न धेरै महिनेत गरेका हुन्छौं । तर खेलकुदमा लागेको व्यक्तिले एथ्लेटका विषयमा सोच्न सक्दैन भने के भन्ने ?’ सदिशले प्रश्न गरे ।

यस्तै ऐतिहासिक रजत जितेको महिला भलिबल टिमकी सदस्य सरस्वती चौधरीले पनि रजत र कांस्य जित्ने टिमको पुरस्कार घोषणा नभएको खल्लो लागेको बताइन् । उनले भनिन्, रजत र कांस्य जित्ने टिमले पाउने रकम पनि तोकिदिएको भए हुन्थ्यो ।’

बास्केटबल र भलिबल मात्र होइन, टिम इभेन्टमा स्वर्ण पदक जितेको पुरुष फुटबल टिमका खेलाडी पनि सन्तुष्ट छैनन् । ‘हामीले राष्ट्रका लागि खेलेका हौं, पैसाको लागि खेलेको होइन । तर टिम इभेन्टले स्वर्ण जित्दा कम रकम पाउने सुनेर दुःख त लागेको छ,’ यू–२३ टिमका कप्तान सुजल श्रेष्ठ भन्छन् ।

घोषित पुरस्कारअनुसार फुटबल टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगततर्फ स्वर्ण जित्दा पाउने पुरस्कार ४ लाख रुपैयाँ बढ्दा फुटबलमा बढेन । १२ औं सागमा स्वर्ण जित्दा पनि फुटबल खेलाडीले ५-५ लाख रुपैयाँ नै पाएका थिए ।

व्यक्तिगततर्फ स्वर्ण जितेका खेलाडीहरु भने प्रधाननमन्त्रीको सरप्राइज प्याकेजबाट घोषणाबाट सरप्राइज नै भए । तेक्वान्दोमा व्यक्तिगत र टिम पुम्सेमा स्वर्ण जितेकी आयशा शाक्यले पुरस्कार घोषणाबाट खुशी लागेको बताइन् । ‘सागमा सरप्राइज रिजल्ट आएजस्तै पुरस्कार घोषणा पनि सरप्राइजकै रुपमा आएको छ’ आयशाले भनिन्, ‘यसले खेलाडीहरुलाई उत्साहित बनाएको छ ।’

कराँतेकी स्वर्ण विजेता अनु अधिकारीले पनि आफूहरुले सोचेभन्दा बढी पुरस्कार घोषणा भएको प्रतिक्रिया दिएकी छन् । ‘मैले स्वर्णको ६/७ लाख रुपैयाँ अपेक्षा गरेको थिएँ’ उनले भनिन्, ‘९ लाख पाउने घोषणा भयो । हामी खुशी छौं ।’

तर उनीहरुले अरुको पुरस्कार घोषणा हुँदा पनि टिम इभेन्टतर्फ रजत र कास्य जित्नेहरुले पाउने रकम पनि तोकिदिएको भए भए राम्रो हुने प्रतिक्रिया दिए ।

पुरस्कार रकममा अलमल !

प्रधानमन्त्रीको सरप्राइज प्याजेक घोषणासँगै एउटा अलमल पनि देखिएको छ, एकभन्दा बढी पदक जित्नेले पाउने रकम कति ?

प्रधानमन्त्रीले कास्य र रजत पदक जिवेतालाई दिइने रकम घोषणा गर्दा हरेक पदक बापत भन्ने शब्द प्रयोग गरेका थिए । एकभन्दा बढी स्वर्णको पुरस्कार घोषणा गर्दा ‘एउटाभन्दा बढी स्वर्ण ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन्’ भनेका छन् । यसका आधारमा कतिपयले एक स्वर्ण बराबर ११ लाख रुपैयाँ बुझे ।

स्वयं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत त्यही ब्याख्या गरे । र, ४ स्वर्ण, दुई रजत र तीन कांस्य जितेकी गौरिका सिंहले ६५ लाख रुपैयाँ पाउने हिसाब सुनाए ।

जबकी पुरस्कार घोषणाका लागि पहल गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव सिलवालको भनाइ फरक छ । उनले प्रष्ट शब्दमा भनेका छन्, स्वर्ण जित्नेले ९ लाख र एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाख रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्रीको सम्बोधनलाई एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पाउने अर्थका रुपमा बुझिएको विषयमा प्रश्न गर्दा उनले त्यसबारे थाहा नभएको बताए । उनले भने, पुरस्कारको केही क्याटगोरी घोषणा हुन बाँकी छ । कुन विधामा कसले कति पुरस्कार पाउने क्याबिनेटबाट कार्यविधिमा पारित भएपछि थाहा हुन्छ ।’

स्वर्ण जित्न गाह्रो छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले पदक विजेताहरुको पुरस्कार घोषणा गर्नुअघि झण्डै एक घन्टा लामो भाषण गरेका थिए । यस पटक फुटबलमा नेपालले स्वर्ण जित्दा निकै आनन्द आएको समेत सुनाए । साथै फुटबल कसरी खेल्नुपर्छ भन्ने पनि सुनाए ।

यस्तै १३ औं सागमा नेपालले जितेको ५१ स्वर्ण त्यसै नआएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केहीले यसको आलोचनासमेत गरे, तर स्वर्ण जित्न कठिन छ ।’

उनले स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्ने धारणा राखे । ‘स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्छ । रजत र कास्य जित्नेले सुधार गर्नुपर्छ । ४ स्वर्ण जित्नेले आफ्नो कीर्तिमान आफैं तोड्नुपर्छ,’ १३ औं सागमा ४ स्वर्ण जितेको गौरिका सिंहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment