Comments Add Comment

नारायणगढ-बुटवल सडक विस्तारको काम सुस्त

मन्त्री वसन्त नेम्वाङद्वारा अनुगमन

२६ मंसिर, चितवन । ११३ किलोमिटर लामो नारायणगढदेखि बुटवलसम्मको सडक विस्तारको काम निकै सुस्त गतिमा भइरहेको छ । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज एक र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज दुई बनाएर निर्माण थालिएको आयोजनाको काम निकै सुस्त छ ।

दुबै प्याकेज निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । गत वर्ष पुषमा ठेक्का सम्झौता भएर चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सडकखण्डले अझै गति लिन सकेको छैन । सडकखण्ड विस्तार ढिलाइको कारण रुख हटाउने आदेशलाई देखाइएको छ । दुवै खण्डमा केही काम सामान्य ढंगले अघि बढेका छन् ।

गैंडाकोटदेखि दाउन्ने खण्डमा प्रगतिनगरदेखि कावासोतीसम्म केही काम सुरु भएको छ । कावासोतीको जंगलमा पाँचवटा कल्भर्ट र सवग्रेडको काम थालिएको छ ।

आयोजनाले ल्याउने उपकरण अझै आइसकेका छैनन् । कम्पनीको सामान पाकिस्तानबाट आउँदैछ । सो सडकखण्डका सूचना अधिकारी शिव खनालले पाकिस्तानबाट ल्याइने उपकरण आइपुग्न समय लागेको जानकारी दिए ।

पश्चिमी खण्डका आयोजना प्रमुख सुरेश न्यौपानेले भुमहीदेखि सुनवलसम्मको करिब तीन किलोमिटर सडकमा सवग्रेडको काम अघि बढाइएको जानकारी दिए । सो खण्डमा गुणस्तर मापन ल्याव, क्रसर तथा प्याचिङ प्लान्ट स्थापना गरिसकिएको उनले जानकारी दिए । कम्पनीलाई पहिलो चरणमा आवश्यक पर्ने सबैजसो उपकरणहरु ल्याइसकिएको आयोजना प्रमुख न्यौपानले जानकारी दिए । सरकारले वैदेशिक सहायताबाट बन्ने आयोजनाहरुका लागि एक प्रतिशत भन्सारमा उपकरणहरु ल्याउने नीति लिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोग विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको छ । एडीबीको ८५ प्रतिशत ऋण र बाँकी नेपाल सरकारकै लगानीमा हाल दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न खोजिएको हो ।

एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । आयोजनाको ठेक्का गएको पुष ४ गते भएको थियो यो सडक २०८० साउन २२ गतेसम्म ( साढे तीन वर्ष) निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

रुख कटानको सम्झौता गरिँदै

आयोजनाले वन डिभिजन कार्यालय नवलपुरसँग रुख कटान सम्बन्धी सम्झौता गर्ने तयारी गरेको छ । सडकखण्ड बिस्तारमा दुवै किनारामा रहेका झण्डै ५० हजार रुख काट्नुपर्ने अवस्था छ ।  ३० हजार ८ सयभन्दा बढी रुख पूर्वी खण्डमा र करिब १५ हजार रुख पश्चिमी खण्डमा पर्दछन् ।  वन विभागले दुवै खण्डमा पर्ने रुख कटानको स्वीकृती एक महिना अघि दिइसकेको छ । स्वीकृतीको झण्डै एक महिना पछि सम्झौतको तयारी गरिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । ‘सम्झौतासँगै रुख कटानको अनुमति आएपछि पहिलो चरणमा आवश्यक रुखहरुको कटान तत्काल थाल्छौं’ इन्जिनियर खनालले भने ‘रुख काटेपछि मात्रैं बिजुलीका पोल हटाउन सुरु हुन्छ ।’

आयोजनाको पूर्वी खण्ड प्रमुख सुजन अधिकारीले पहिला इस्टिमेट गरिएको भन्दा बढी रुख काट्नुपर्ने भएकोले प्रक्रियामा केही ढिलाइ भएको बताए ।  पश्चिम खण्डका आयोजनाका प्रमुख सुरेश न्यौपानले रुख कटानको काम ढिला हुँदा कामले गति लिन नसकेको बताए । ‘बिहीबार सम्झौता गर्ने तयारी थियो, फेरी प्रदेशबाट अनुगमन गर्नुपर्छ भन्नु भएको छ’ प्रमुख न्यौपानेले भने ‘यसरी प्रकृयालाई लम्बाउँदै जाने हो भने आयोजनाले कम्पनीलाई क्षतिपूर्ति दिनुपर्दछ । ’

रुख कटानसँगै विद्युत प्राधिकरणसँग सडकखण्डमा पर्ने पोल सार्ने विषय पनि अघि बढाइएको छ । विद्युत पोल सार्दा मात्रै ५० करोड बढी खर्च हुने अनुमान छ ।

मन्त्री वसन्त नेम्वाङद्वारा अनुगमन

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले केहीदिन अघि सडकखण्डको अवलोकन भ्रमण गरेका छन् ।

कावासोती जंगल नजिक ठेकदारले बनाइरहेको कल्भर्ट र सवग्रेडको कामको निरीक्षण गर्दै मन्त्री नेम्वाङले कामको गतिलाई बढाउन निर्देशन दिए । रुख कटान लगायतका समस्याहरुको समाधान भैसकेकोले तत्कालै कामलाई द्रुत गतिमा अघि बढाउनुपर्ने मन्त्री नेम्वाङको भनाइ छ । उनले राष्ट्रिय महत्वका आयोजनामा कहि कतै पनि ढिलासुस्ती हुन नहुने बताए । उनले जनप्रतिनिधीहरुले पनि विकास आयोजनाहरुलाई गति दिन आवश्यक सहयोग पु र्‍या उनुपर्ने धारणा राखे ।

यस्तो बन्ने छ सडक

तत्कालिन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गरेर २०२९ सालमा निर्माण सकिएको नारायणगढ बुटवल सडकखण्ड ५८ बर्षपछि फराकिलो बनाउन लागिएको हो ।

सडकखण्डलाई मानवबस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न लागिएको छ । विस्तार हुने सडकको गैंडाकोट–दाउन्ने खण्डमा १७.७ कि.मि. शहरी क्षेत्र पर्ने छ । यहाँ दुवैतर्फ ६ मिटरको सर्भिस लेनसहित चार लेनको सडक बन्नेछ । ग्रामीण क्षेत्र ४२.७ कि.मि पर्नेछ । यसमा सर्भिस हुने छैन । सडक ४ लेनकै हुने छ । यसैगरी दाउन्नेदेखि बुटवलसम्मको खण्डमा शहरी क्षेत्र ४५.५ किलोमिटर पर्नेछ । यसमा पनि ६ मिटरको सर्भिस लेनसहित ४ लेन, २७ किलोटिर ग्रामीण क्षेत्रमा सर्भिस रोड विना ४ लेनको सडक बन्ने छ । विस्तारित सडकको दुईतर्फको लेनको चौडाई ७–७ मिटर हुनेछ भने एक लेन साढे ३ मिटरको हुनेछ । सडकको डिभाइडरलाई हरियाली बनाइने जनाइएको छ ।

कठिन भूगोल र पहिरोको जोखिम रहेको दाउन्नेको उकालोमा पर्ने ९.९ किलोमिटर सडकमा तीन लेनको मात्रै सडक बन्ने आयोजनाले जनाएको छ ।  दाउन्ने उकालोमा गुड्ने सवारीसाधनले २ लेन र ओरालोमा गुड्ने सवारीले १ लेन प्रयोग गर्ने छन् ।

सो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहा–जहँ पुल छन्  तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल बनाउने लक्ष्य छ । साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको छ ।  सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने दाबी सडक विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment