Comments Add Comment

उपल्लो मुस्ताङको यस्तो गाउँ, जहाँ छुटै राजा छन्

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको जीवनशैली

ज्ञानेन्द्र शाहले गद्दी त्याग गरेसँगै नेपालमा राजाको अस्तित्व पटाक्षेप भएको हो । तर, नेपालकै यस्तो भूगोल, जहाँ छुटै राजाको राज चल्छ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा रैथाने राजाको स्थान अझै सुरक्षित छ । र, त्यो स्थानमा अहिले जिग्मी सिङ्गे परवल बिष्ट छन् ।

नेपाल सरकारको प्रतिनिधिको रुपमा गाउँपालिकाहरु भएपनि गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल गुरुङले समेत राजालाई मान्ने गर्छन् । उनी भन्छन् ‘राजालाई हामीले अहिलेपनि मान्ने गरेका छौं । हामी कुनैपनि सांस्कृतिक कार्यक्रम राजा बिना मनाउने गर्दैनौं । त्यसैले अकै गाउँपालिका भएपनि राजदरबारमा नै गएर हरेक पर्व मनाउने गरिएको छ ।’

स्थानियवासीले उनलाई आस्था र विश्वासको केन्द्रको रुपमा मान्ने गरेका छन् । उनी सांस्कृतिक राजा हुन् । त्यहाँ राजाले प्रशासनिक हस्तक्षेप भने गर्दैनन् । आसपासका क्षेत्रमा हुने कुनैपनि कार्यक्रममा उनलाई सम्मानपूर्वक र हार्दिकतासाथ स्वागत गरिन्छ ।

भौगोलिक हिसाबले एउटा अचम्मको जिल्ला हो मुस्ताङ । यो जिल्ला ३५७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तर, यहाँ केवल ० दशमलव ९३ वर्गकिलोमिटर क्षेत्रफलको मात्रै लालपुर्जा वितरण भएको छ । बाँकी सबै सरकारी स्वामित्वका जमिनहरु हुन् । त्यही जिल्लाको अर्काे रोचक ठाउँ हो लो-घेकर दामोदरकुण्ड गाउँपालिका । कूल १३४४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो गाउँपालिकामा जम्मा १४२३ जनाको मात्रै बसोबास रहेको छ । अर्थात्, एक किलोमिटर क्षेत्रफलमा एक जना मानिसहरुले बसोबास गरेको खण्डमा पनि लगभग त्यो पर्याप्त हुन्छ ।

यही भूमिले अहिलेसम्म बौद्ध धर्म र भोटे संस्कृतिको साख जोगाएको छ । तिजी पर्वमा लामाहरुले गरेको विश्वशान्तिको पूजाकै कारण शान्त छ मुस्ताङ । नयाँ वर्षको अघिल्लो दिन नौ चिज मिसाएको खोले (घुथुग) खाएर सबैले लोसार मान्छन् । यो शतप्रतिशत बौद्धमार्गीहरुको भूमि हो । यही खोले खाँदा मरेपछि पनि शान्ति पाइन्छ भन्ने स्थानीयको विश्वास छ । त्यसैले यसलाई स्थानीय भाषामा थुङने सि ना सि भन्ने गरिएको छ ।

जिल्ला सदरमुकाम जोमसोमबाट ३० किलोमिटर उत्तर तर्फको दुरीमा एउटा सुन्दर र बिकट गाउँ छ ताङ्या । त्यहाँ यही भदौ महिनासम्म पनि टेलिफोनको कुनै सुविधा थिएन । न त टेलिफोन न त बिजुली बत्ती । यस्ता सुविधाबाट मुक्त ध्ये र ताङ्याको जीवनशैली अब बदलिँदै छ । भदौदेखि त्यहाँ टेलिफोनको सुविधा पुगेको छ । बिजुली त यी दुबै गाउँमा पुगेको छैन । बिजुलीको पनि अब बिस्तारै सुविधाहरु थप्ने तयारीमा गाउँपालिका जुटेको छ । यार्ताेनले वर्षा सकिएको अनुभूति दिलाउँछ । खेतको काम सकेर फुर्सदमा बसेको बेलामा फाग्ङेले मनोरञ्जन दिने गर्छ । आफ्नो संगिनी र उमेरका पुरुष महिलाहरु भेला भएर घुईज्याङ खेल्न थालेपछि ७/८ दिनसम्म पनि नछुट्ने संस्कृति यही मुस्ताङमा अझैपनि पाइन्छ ।

छोर्तेनहरुले आत्माको शान्ति गराइरहेको छ । प्राचीनकालको प्रमाण बोकेर बसेका छन् उपल्लो मुस्ताङी गुफाका गुम्बाहरु । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल गुरुङका अनुसार उपल्लो मुस्ताङलाई सरकारले स्थानीय निकायको रुपमा भौगोलिक नक्साहरुले छुट्टाएको भएपनि उनीहरुको एकता छुटेको छैन । उनीहरु अर्कै गाउँपालिका लोमान्थाङमा पुगेर राजाको उपस्थितिमा सबै किसिमका सांस्कृतिक पर्वहरु मनाउने गरेका छन् । त्यहाँ जाँदा सबै अनिवार्य रुपमा सांस्कृतिक पहिरनहरुमा सजिएर जान्छन् ।

गाउँपालिकाको तथ्यांक अनुसार लो-घेकर दामोदरकुण्ड गाउँपालिकोको सबैभन्दा दुर्गम क्षेत्र भनेको ताङ्या र ध्ये भन्ने ठाउँ हो । जुन अहिले वडा नं ५ मा पर्छ । अहिले ताङ्यामा २८ घर छन् भने ध्ये मा २१ घरहरु छन् । यही बस्तीले अब मुस्ताङको विकास कुरेर बसेको छ । सडकको अनुभव गरिसक्यो । अब त्यही बाटोमा मोटर गुडेको हेर्ने चाहा राख्छन् स्थानीय पम्पा गुरुङ । ‘ट्रयाक खुलिसकेको छ । तर, गाडी गुड्ने गरेको छैन’  गाउँपालिकाका प्रमुख लोप्साङ भन्छन् ‘सबै तिर कच्ची बाटाहरु बनिसकेका छन् । मुस्ताङ जिल्लामा एकाध बाहेक कतैपनि पिच रोड छैन ।’

उनलाई पूर्वाधारको अभावले गाउँमा दुःख भएको भन्ने अनुभूति छैन । उनी बरु आफूहरु अभावकाबीच पनि खुशी भएकोमा नै गर्व गर्छन् । उनी भन्छन् ‘दुख जीवनको अर्काे पाटो हो । यो जहाँपनि हुन्छ । हामी यसकारण भिन्न छौं हामी दुःखका बीच पनि खुशी छौं ।’

पम्पाले सामान्यतया आफ्नो सांस्कृतिक पोषाक छाडेको धेरै समय भइसकेको छ । उनी भन्छन् ‘जे सजिलो लाग्छ त्यही लगाउने हो । सांस्कृतिक कार्यक्रममा जाँदा आफ्नै पहिरनमा जान्छु, नत्र सर्ट, पाइन्ट र बख्खु नै हो पहिरन । बख्खु, केतुङ र पाङ्देन लगाएका महिलाहरुले आफ्नो संस्कृति जोगाएका छन् । केटाहरुले बख्खुबाहेक अरु पोषाक बिर्सिइसकेका छन् । चार्डपर्वमा बाहेक अरु समय आधुनिक पहिरनहरु बख्खु र पाइन्टहरु लगाउने गरेका छन् ।

खेतीले पुग्दैन खान

त्यहाँका मानिसहरु खेती पनि गर्छन् । तर, त्यो खेतीले उनीहरुलाई खान पुग्दैन । त्यसैले उनीहरुको मूल पेशा भेँडा च्याङ्ग्रा पाल्ने नै हो । उनीहरु एउटै घरमा ६० देखि २०० वटासम्म भेँडा च्याङ्ग्राहरु पाल्ने गर्छन् । यही नै उनीहरुको गुजारा टार्ने मेसो हो । खेतीको हिसाबले आलु, फापर र गहुँको उत्पादन हुने गरेको छ । तर, ती खेतीहरु पर्याप्त नहुने भएकोले भेँडा र च्यांग्रा बेचेको पैसाले नै दैनिक आवश्यक पर्ने खाद्यान्नहरु किन्ने गरेको अध्यक्ष गुरुङ बताउँछन् । अहिले गाउँपालिकाकै पहलमा वडा नं ५ ताङ्ग्यामा ५/६ सय रोपनीमा स्याउ लगाइएको छ । यही वर्षदेखि नै ती क्षेत्रमा स्याउ फल्ने विश्वास गाउँपालिकाले लिएको छ ।

गर्जाे टार्न विदेश

गाउँपालिकाको तथ्यांक अनुसार हरेक गाउँबाट एक दर्जनजति मानिसहरु वैदेशिक रोजगारीको लागि जाने गरेका छन् । उनीहरु पारिवारिक खर्च टार्नकै लागि त्यहाँ जाने गरेका हुन् । उनीहरुमध्ये प्रायः युरोपियन मुलुकहरु तिर जाने गरेको स्थानीय बताउँछन् ।

हिन्दु र बौद्ध धर्मको संगम

मुस्ताङ जिल्लाको नाम आउने बित्तिकै यो एउटा सांस्कृतिक हबको रुपमा चिनिन्छ । त्यसमा पनि अहिले स्थानीय तह अनुसार लो-घेकर दामोदरकुण्ड गाउँपालिका त झनै हिन्दु र बौद्ध संस्कृतिको हबकै रुपमा मान्न सकिन्छ । एकातिर हिन्दु धर्मको पवित्र शालिग्राम पाइने कालीकण्डकीको शिरभाग दामोदर कुण्ड यही गाउँपालिकामा पर्छ भने अर्काेतर्फ विभिन्न ऐतिहासिक बौद्ध गुम्बाहरुले पर्यटकहरु लोभ्याउने गरेका छन् । यही दुई महत्वपूर्ण धार्मिक केन्द्रको नामबाट नै गाउँपालिका राखिएको छ । लो-घेकर गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा भएको गाउँपालिकाको दाबी छ । यो ८०० वर्षभन्दा पुरानो रहेको स्थानीय जनविश्वास छ ।

अर्काेतर्फ घमी सेदुव धकैलिङ पनि यो क्षेत्रको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र हो । यो करीब ४५० वर्ष जति पूरानो रहेको विश्वास गरिन्छ । यो गुम्बा भित्र पनि बुद्ध, मैत्रेय र हे बज्रका मूर्तिहरु छन् । साथै राम्रा राम्रा थाङ्काहरु पनि छन् । घिलिङ गुम्बाको थाङ्काहरु हराएपछि यस गुम्बामा दर्शन गर्न निकै कडाई गरिएको छ । जो सुकैलाई प्रवेश गर्न दिन चाहँदैनन् । वर्षभरीमा गुम्बाबाट हुनुपर्ने परम्परा अनुसारको धार्मिक कार्यहरु नियमित रुपमा गरिएको गुम्बाहरु मध्ये यो पनि एक हो ।

त्यस्तै, यही गाउँपालिकाको वडा नं १ मा पर्ने चराङ धोन्दुब धकेलिङ पनि उपल्लो मुस्ताङ्गको सबैभन्दा राम्रो र आवश्यक कोठाहरुले सुसज्जित पुरानो गुम्बा हो । तर, लामा (रिम्पोछे) को अभावमा यस गुम्वाको दयनीय अवस्था यथावतै छ ।

यस बाहेक चुङ्सी गुफा (पद्म सम्भवको गुफा), लुरीको काबुङ गुफा, यारा काबुङ, ताङ्गे काबुङ जस्ता गुम्बाहरु चर्चित गुम्बाहरु पाइन्छ । यही गुम्बाभित्र नै स्तुपा र पेन्टिङहरु समेत अझै पाउन सकिन्छ । अध्यक्ष गुरुङले ती सम्पदाहरुलाई अहिले गाउँपालिकाले संरक्षण गरेर राखेको बताएका छन् । सुर्खाङ गाविसको धारागाउँ नजिकै पर्ने गुफाभित्र रहेको लुरी गुम्बा पनि धेरै पुरानो हो। झयाम्पा गुम्बा, थुक्छेन (धुवाछेन) गुम्बा अति पुराना गुम्बा हुन्। थुक्चेन गुम्बा यहाँका गुम्बामध्ये विशाल गुम्बा हो र यसपछिको दोस्रो गुम्बा चाहिँ झयाम्पा गुम्बा हो । झयाम्पा गुम्बामा निकै ठूलो मूर्ति रहेको छ । चराङको दोर्जेलिङ गुम्बा, घमी सेदुव धकैलिङ गुम्बा, छोदे गुम्बा आदि पनि तीन सय वर्ष गावैका छन् ।

गाउँपालिकाको स्वास्थ्यको स्थिति

स्वास्थ्यको कुरा गर्दा गाउँपालिकाको चराङ, घमी र सुर्खाङमा एक एक वटा स्वास्थ्य चौकीहरु रहेका छन् । हरेक गाउँबाट डेढ घण्टा वा दुई घण्टाको दुरीमा स्वास्थ्य चौकी पुग्न सकिने अवस्था छ । अहिले हरेक ठाउँमा सडक सञ्जाल जोडिएकोले यसले झनै सहजता सिर्जना गर्ने गाउँपालिकाको विश्वास छ । अहिले गाउँपालिकाको सबै ठाउँमा कच्ची पुगिसकेको छ ।

ध्ये खोला वरिपरीको जनजीवन

गाउँपालिकाको केन्द्रदेखि दक्षिण क्षेत्रमा ध्ये खोलाको किनारमा ध्ये गाउँ रहेको छ । त्यस्तै, दक्षिण पश्चिम क्षेत्रमा ताङ्ग्या गाउँ छ । यी गाउँहरुलाई कालीगण्डकीले बीचमा काटेको छ । यो क्षेत्रमा बिजुलीको अभाव छ । तीन कक्षासम्मको लागि मात्रै विद्यालयको व्यवस्था गरिएको छ ।  ध्ये गाउँमा त न विद्यालय छ न त स्वास्थ्य इकाइहरु नै । उनीहरु पढ्नको लागि र अध्ययन गर्नको लागि ताङ्ग्या आउनु पर्ने बाध्यता छ । थप अध्ययनको लागि भने उनीहरु चराङ आउनुपर्ने बाध्यता छ ।

यसबाहेक वडा नं ४ को ढिसुर्खाङमा पनि स्तरीय सडकको अभाव छ । टेलिकमको टावर पुर्‍याएपछि सञ्चार सुविधाले यो गाउँ जोडिएको छ । स्वास्थ्य सेवाको लागि एउटा स्वास्थ्य चौकी र १-३ को आधारभूत विद्यालयहरु सञ्चालन छन् । वर्षमा ६ महिना यो वडामा ट्याक्टर तथा जीप सञ्चालनमा आउँछ । अर्काे तर्फ गाउँपालिकाको केन्द्रबाट उत्तर पुर्वी क्षेत्रमा रहेको यस गाउँ जोमसोमबाट कालीगण्डकी कोरिडोर हुदै आउँदा सवैभन्दा पहिला आउने सदरमुकामबाट नजिकै रहेको छ । यो गाउँमा केही समय अघि मात्रै केन्द्रिय विद्युत प्रशारण लाईनबाट जोडिएको र सञ्चारको सुविधा सामान्य रहेको छ ।

कालीगण्डकी कोरिडोरको राजमार्गदे छुने घिलिङ यो गाउँपालिकाको एउटा सुगम गाउँ हो । यस वडामा पर्ने अर्को गाउँ ढाक्मर हो जुन पश्चिम तिर पर्छ । ढाक्मर गाउँ कच्ची सडकले जोडिएको छ । यो वडामा पनि केन्द्रिय विद्युत प्रशारण लाईन जोडिएको छ । यस वडामा एक स्वास्थ्य चौकी छ भने १-३ सञ्चालन भएको २ वटा आधारभूत विद्यालय छ ।

धार्मिक संस्कारहरु

तत्कालीन जिल्ला विकास समितिले तयार पारेको विवरण अनुसार यो जिल्ला र गाउँपालिकामा पनि काङसोए, त्योन्साङ (ल्हवसाङ) लगायतका विभिन्न संस्कारहरु मान्ने गरिएको छ । मुस्ताङ जिल्लाको पाश्र्वचित्रमा उल्लेख भए अनुसार उनीहरुले मनाउने विभिन्न संस्कारहरु निम्नलिखित छन् ।

क) काङसोए :(थप्नु र बढ्नु) हरेक महिनाको १४ गते प्रायः सबै जना गुम्वामा हुन्छन् । (महांकाल, महाकालीको)

ख) त्योन्साङ (ल्हवसाङ) : यसको अर्थ देव देवतालाई धुप चढाउनु हो । विशेषगरी महांकाल र फूर्वा (बज्रदेव) को पूजा गर्ने संस्कार हो यो । यो हेमन्त ऋतु (कार्तिक/मंसिर) र गृष्म ऋतु (वैशाख/जेठ) वर्षको २ पटक त्योन्साङ पिसाङ हुन्छ । अलिक धनी खान्दानीहरुले साह्रै मेहनत र खर्च गरी बनाएको तोर्मा सोही बेला फेरि दराजमा बन्द गरी राख्दछन् । त्यसरी राखिएमा हरेक महिना काङसोए पूजा गरिनुपर्छ ।

ग) चेक्षेम : यो वर्षको छैठौं महिनाको चौथो दिनमा गरिन्छ । यो पूजा ४ दिनसम्म चल्छ । यी ४ दिनमा छेल्ह (अभितायु), त्रिदेवको पूजा हुन्छ ।

घ) धुवच्वु : तिव्बती नवौं महिनाको २९ मा घमि, चराङ, घिलिङमा र ११ औं महिनाको २९ मा लोमान्थाङमा गरिन्छ । यसदिन के घो (हे बज्र) को पूजा हुन्छ । गाउँको प्रत्येक परिवारबाट आवश्यक सामग्री उठाइन्छ ।

ङ) मोन्लम छोग्पा : यो सामूहिक पूजा यस क्षेत्रको उत्कृष्ट धार्मिक संस्कार हो । घमि, घिलिङ, ढाकमा, चराङ आदि ठाउँमा नयाँ वर्ष १ देखि १५ सम्म र लोमान्थाङमा १२ औं महिनाको १ देखि ७ सम्म वर्षभरीमा मृत व्यक्तिहरुको आत्मा शान्तिको लागि एकै ठाउँमा भेला भई माला जपी धार्मिक पुस्तकहरु वाचन गर्दछन् । पुस्तक वाचन गर्न नसक्नेहरु मोन्लम -स्तुति वाचन) गरी सहभागी हुन्छन् ।

च) सघो नमघो (मूल ढोकामा भेंडाको सिंग) : प्रायः जसो सबै घरमा देखिन्छ । भूतप्रेत जाग्न नसक्ने विशेष गरिचार दिशा जहाँ भएपनि शुभ हुने । यसमा पाँच किसिमका रंगीन धागो प्रयोग हुन्छन् । मानिसको जीवन पञ्चतत्वले बनेको र यसको प्रतिकको रुपमा उपयोग गरिन्छ । ज्योतिषी, ढावा जसले बनाए पनि मुख्य लामा वा अधिकार प्राप्त व्यक्तिले हुम्ने ( पवित्र धारणा) गरेपछि मन्त्र राखिन्छ ।

छ) अन्य विशेष धार्मिक सम्पदा : धारल्योन घोम्पो ४०० वर्ष पुरानो (ङवाङ मोनमले बनाएको) खाता ग्रहण । व्योमेवर छोर्देन लोमान्थाङ (व्योगेधोर्जे सिंगी) केही अशुभ हुने आशंका भएमा त्यसको परिक्रमा गरेर शान्त (ग्रह शान्त) हुने । सबै तिव्बती भाषीहरु केन्द्रीय तिव्बतलाई आफ्नो संस्कृतिको मुहानको रुपमा हेर्दथे । त्यसैले लोमान्थाङलाई लोवाहरुले आफ्नो संस्कृतिको मुहान, उपल्लो मुस्ताङका जातिहरुलाई उक सूत्रमा आवद्ध गर्ने सम्बन्ध दह्रो तत्व साझा धार्मिक आस्थाको रुपमा मान्दछन् । उपल्लो मुस्ताङ दुई भौगोलिक अवस्थाले गर्दा दक्षिणी सांस्कृतिक प्रभाववाट अछुतो रहेको साथै तिब्बतसितको बढी सम्पर्कले गर्दा तिव्बती संस्कृतिवाट प्रभावित भएतापनि आफ्नो स्थापित परम्परा तथा जीवनशैलीलाई जीवन्त राख्न सफल भएको छ ।

तस्विर सौजन्य : दामोदरकुण्ड गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment