Comments Add Comment

सौराहामा पुस १० देखि हात्ती महोत्सव

२७ मंसिर, चितवन । चितवनको सौराहामा १६ औं संस्करणको हात्ती महोत्सव हुने भएको छ । आगामी पुष १० गतेदेखि १८ गतेसम्म हात्ती महोत्सव आयोजना गर्न लागिएको आयोजक क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ ।

सौराहामा शुक्रबार पत्रकार सम्मेलन गरेको आयोजकले यसपटकको महोत्सव नौ दिनसम्म चल्ने जानकारी दियो । हरेक अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न भन्दै सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले यस अगाडि संस्करण ६ दिनसम्म चल्ने गरेको भए पनि यसपटक बढाएर नौ दिन बनाइएको बताए । हात्ती महोत्सवसँगै नेपाल भ्रमण वर्ष २०२० लाई पनि स्वागत गर्ने भट्टराईले बताए ।

महोत्सवको मुख्य आकर्षणमा हात्तीको वनभोजसँगै हात्तीको छावाहरुको फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ तथा हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् ।

सुरुमा हात्ती दौडको नाममा चल्ने महोत्सवलाई पछि हात्तीका गतिविधीहरु थप गरेर हात्ती महोत्सव बनाइएको हो । हात्तीको फास्टवाक नाम दिइएको प्रतियोगितामा ३० वटा हात्तीहरु सहभागी हुनेछन् । यस्तै हात्ती पोलोमा ४ टोली तथा हात्तीको छावाहरुको फुटबल प्रतियोगितामा पनि समान ४ टोली नै सहभागी हुनेछन् । हात्ती सुन्दरी प्रतियोगितामा भने ५ टोली सहभागी हुने बताइएको छ ।

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment