Comments Add Comment

आईएमई साहित्य महोत्सवमा ढकालले भने-भाषा, साहित्यको सम्बर्द्धन सबैको कर्तव्य

२७ मंसिर, पोखरा । आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली भाषा र साहित्यको संरक्षण एवम् सम्बर्धन गर्नु सबै नेपालीको कर्तव्य हो भएको बताएका छन् ।

शुक्रबारदेखि पोखरामा शुरु भएको आइएमई साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने- आफ्नो भाषा र साहित्य सबै नागरिकलाई सबैभन्दा प्यारो लाग्ने विषय हो त्यसैले यसको संरक्षण र सम्बर्द्धन गर्नु सबै नागरिकको कर्तव्य हो ।

दक्षिण एसियाका प्राय सबै देशका साहित्यकार लेखक तथा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको सो महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।

उक्त महोत्सवको मुख्य आयोजक आइएमई समूहका अध्यक्ष ढकालले संसारका सबै व्यक्तिलाई आफ्नो भाषा, साहित्य, संस्कार र संस्कृतिप्रति माया र श्रद्धा भएजस्तै नेपालीललाई पनि भएको बताए ।

सो समारोहमा उनले चिनियाँ दार्शनिक तथा विचारक कन्फ्युसियसलाई एक पटक कसैले तपाईँलाई  देशको कार्यकारी प्रमुख हुनुभयो भने के गर्नुहुन्छ भनी सोधेको प्रश्नमा उनले आफूले सबैभन्दा पहिला आफ्नो देशको भाषालाई राम्रो र समृद्ध बनाउँछु भनेको प्रसंग उल्लेख गर्दै भने- आफ्नो भाषाप्रतिको यो भन्दा ठूलो माया अरु केही हुन सक्दैन ।

मानिसको बोल्न र लेख्न पाउने स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण हो र मानिसको विचार सबैभन्दा शक्तिशाली वस्तु हो भन्दै ढकालले सही, सत्य र शान्त विचारले ठूला शासक र शक्तिलाई परास्त गर्न सक्छ भन्ने तथ्य अहिंसावादी नेता महात्मा गान्धीबाट सिक्न सकिने उदाहरण पेश गरे ।

‘नागरिकको यस्तो स्वतन्त्रता र विचारहरुलाई मुखरित गरिदिने बलियो साधन भाषा र साहित्य हो,’ उनले अगाडि भने,’ समाजसित साहित्यको घनिष्ट सम्बन्ध रहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले समाज जति उन्नत र सुखी हुन्छ, त्यति नै त्यस देशका नागरिकको जीवन पनि समृद्ध र सम्पन्न हुन्छ ।’

राष्ट्रिय समृद्धिमा भाषा र साहित्यको समृद्धि जोडिने उनको तर्क थियो । ‘लेखक, साहित्यकार एवम् पत्रकारहरुसँग समाज बदल्नसक्ने क्षमता हुन्छ,’ उनले भने,’उनीहरुका सही सिर्जना र कर्तव्यबोधलेे समाज र शासकको आँखा खोलिदिन्छ र समाज र देशलाई सकारात्मक परिवर्तनका लागि उत्प्रेरित गर्दछ ।’

उनलेे पत्रकारिता मानवीय स्वतन्त्रता र विचारलाई मुखरित गरिदिने प्रभावकारी विधा भएको बताए ।

‘मलाई लाग्छ अहिलेको विश्व कुनै मिसाइलको होइन सूचनाको युद्ध लडिरहेको छ । जो सुसूचित छ, त्यो बलियो र अगुवा हुन्छ,’ उनले भने ।

स्वदेश र विदेशमा समेत नेटवर्क भएको ठूलो कर्पाेरेट हाउस पनि मानवीय जीवनमा भाषा, विचार, पत्रकारिता, साहित्य र सूचनाको महत्वलाई थप उजागर गर्न सहयोग मिलोस भनेर यो महोत्सवको आयोजना गर्ने गरेको धारणा राखे ।

‘हामीले पनि हाम्रो सानो पहलले हाम्रो भाषा, साहित्य तथा लेखन संस्कृतिको जगेर्ना गर्न सकौँ भनेर यो वौद्धिक कार्यक्रममा सहयोग गर्दै आएका हौं,’ उनले भने ।

महोत्सवको आयोजनाले विचार र साहित्यको मन्थनमा सानै भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको उनँले बताए ।

आइएमईका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले यो महोत्सव चार दिनसम्म सञ्चालन हुने जानकारी दिए । उनकाअनुसार दक्षिण एसियाका प्राय सबै देशका साहित्यकार लेखक तथा पत्रकारहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment