
२७ मंसिर,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पदको दुरुपयोग गर्दै अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित उनकी श्रीमति सबिता, जेठान नविनकुमार गौली, जेठानकी श्रीमति सकुन्तला गौली र जेठानका छोरा शुलभ गौलीमाथि अख्तियारले मुद्धा दायर गरेको हो ।
बस्नेतले गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । भोजपुरको षडानन्द नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ धुम्रबाराही बस्दै आएका निज बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।
विराटनगर भन्सार कार्यालयका तत्कालिन प्रमुख अधिकृत समेत रहेका बस्नतेले विदेशबाट आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा घुस लिएको तथ्य प्रमाणित भएको दाबीसहित अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।
बस्नेतले बिभिन्न ब्यापारी, क्यारिङ्ग ब्यबसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस लिने गरेको र उक्त रकम बिभिन्न पेशा तथा व्यवसाय गर्ने व्यक्तिहरु एवं भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान, जेठानकी श्रीमती, जेठानको छोरा र आफ्नै श्रीमतीको नाममा विभिन्न बैंक खातामा पठाउने गरेको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले बस्नेतका जेठान नविनकुमार गौली विरुद्ध ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँको मागदाबी सहित मुद्धा दायर गरेको छ ।
बस्नेतकी श्रीमती सबिता गौली बस्नेतको नाममा श्रोत नखुलेको घरजग्गा लगायत चल अचल सम्पत्तिहरु राखेको पाइएकोले उनको नाममा रहेको चल अचल सम्पत्तिहरु जफत गर्ने दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
बस्नेतले जेठान नविनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र उनको छोरा शुलभ गौलीको नाममा समेत श्रोत नखुलेको रकम बैंक खाताहरुमा पठाउने गरेको र निजहरुको नाममा चल अचल सम्पत्ति खरिद गरिएको र होटल व्यवसाय समेतमा लगानी गरेको पाइएको भन्दै अख्तियारले उनीहरु विरुद्ध पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।
ज्वाँई जेठानविरुद्ध घुस लिएको मुद्दा
विराटनगरका तत्कालीन भन्सार प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध घुस लिएको अर्को मुद्दा पनि दायर भएको छ ।
बस्नेतले विराटनगर भन्सार कार्यालय प्रमुख हुँदा क्यारिङ व्यावसायीसँग १७ लाख घुस लिएको अख्यितार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ ।
बस्नेतले घुस बापमत लिएको रकम पनि आफ्ना जेठान नविनकुमार गौलीको नबिल बैंकको खातामा जम्मा गर्ने गरेको अयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । आयोगले बस्नेत र गौली दुबै विरुद्ध घुस/रिसवत सम्बन्धी अभियोजन दर्ता गरेको छ ।
प्रतिक्रिया 4