Comments Add Comment

मलेसियाको जेलमा सोमकुमार : न बाबुआमाको नाम याद छ, न गाउँ

२८ मंसिर, काठमाडौं । मलेसियाको अध्यागमनसँग सम्बन्धित जेल (लेन्ग्गेन इमिग्रेसन डेटिन्सन सेन्टर) मा ११ जना नेपाली छन् । उनीहरु मध्ये एक हुन्, सोमकुमार तामाङ ।

मलेसिया भ्रमण रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल नेतृत्वको टोलीले यो जेलमा पुगेर नेपालीहरुसँग कुरा गर्ने क्रममा सोमकुमारलाई पनि भेट्यो । तर सोमबार न नेपाली भाषा बोल्न सक्छन्, न बुझ्छन् ।

बरु मलेसियन भाषा फरर बोल्छन् ।

अध्यागमन अधिकारीहरुले बताएअनुसार तामाङले आफनो राष्ट्रियता नेपाली लेखाएका छन् । उनी अवैध रुपमा मलेसियामा काम गर्ने क्रममा पक्राउ परेका हुन् । उनीसँग आफनो कुनै पनि परिचय खुल्ने कुनै कागजात पनि छैन ।

‘जेलमा रहेका सबै नेपालीसँग छलफल गरी उनीहरुका परिवारसँग कुरा गरायौं । जेलसम्मको यात्रा र त्यहाँ भोगेको दुःख सुन्यौं,’ भुसाल भन्छन्,’ त्यही क्रममा सोमकुमार पनि भेटिएका हुन् । तर उनी नेपाली भाषा फिटिक्कै बुझ्दैनन् ।’

उनले बाबुआमा र गाउँको नाम पनि थाहा छैन । उनले तामाङ भाषा समेत बुझेनन् । आफ्ना भिनाजु गंगावीर तामाङले १७ बर्षअघि आफूलाई मलेसिया ल्याएको मलेसियन भाषामा उनले बताए । उनका भनाइअनुसार भिनाजु बितिसके ।

‘मलेसिया आउँदा १४ बर्षका थिएँ भन्छन्,’ भुसालले भने, ‘अर्कैको पासपोर्टमा उनको फोटो टाँसेर ल्याएको भन्ने छ । तर त्यसलाई पुष्टि गर्न सक्ने आधार छैन ।’ तामाङले साथीका रुपमा डम्बरबहादुर बस्नेतको नाम दिएका छन् ।

मलेसिया बसाईका क्रममा इन्डोनेशियन केटीसँग बिहे गरेका उनी जोहरबारुस्थित प्लाष्टिक कम्पनीमा काम गर्थेँ । भुसालले भने, ‘हामीले परिवारसँग कुरा गराउन खोज्दा उनले इन्डोनेसियन सालीलाई फोन गरी नेपाली राजदूतावासमा गएर आफूलाई छुटाउन आग्रह गरे । तर राजदूतावासका साथीहरुले उनी नेपाली भएको कुनै प्रमाण फेला पार्नुभएको छैन ।’

वैदेशिक रोजगार विभागले सोमकुमारबारे कुनै जानकारी भए खबर गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अवैध रुपमा लुकेर बस्दा वर्षौंसम्म परिवारसँग सम्पर्कविहीन हुनु परेका घटनाहरु यसअघि पनि सार्वजनिक भएका थिए । तर सोमकुमारको हकमा उनी नेपाली हुन् वा होइनन् भन्ने प्रष्ट नभएकाले जेलबाट छुटाएर तत्काल स्वदेश फर्काउन सक्ने अवस्था नभएको भुसालले बताए ।

साथै उनले नेपाली कामदारहरुलाई ‘ओभर स्टे’ हुने गरी मलेसिया नबस्न समेत आग्रह गरे । ‘मलेसियाले दिएको सुविधा बमोजिम यही डिसेम्बरभित्र नेपाल र्फकन समय छ,’ उनी भन्छन्, ‘नेपालमा आफन्तले बाटो हेरिरहेको भुल्न हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment