Comments Add Comment

बालिका सम्मेलन : बाल विवाह र दाइजोविरुद्ध अभियान चलाउने निर्णय

पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो सम्मेलन

२९ मंसिर, वीरगञ्ज । पाँचबुँदे वीरगञ्ज घोषणापत्र जारी गर्दै वीरगञ्जमा आयोजित बालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बाल विवाह र दाइजो प्रथाविरुद्ध शून्य सहनशीलता अपनाउने लगायतका निर्णय गरेको छ ।

घोषणापत्रमा प्रदेश २ को अर्थ राज्यमन्त्री उषा यादव, प्रदेश सभा सदस्य, गाउँपालिका उपप्रमुख, वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, बालिकाका प्रतिनिधिलगायतले हस्ताक्षर गरेका छन् ।

घोषणापत्रमा बाल विवाह र दाइजो कुप्रथाविरुद्ध शून्य शहनशीलता अपनाउने, कहीँ कतै भएको पाइएमा त्यसविरुद्ध आवाज उठाउने, ती कुप्रथा विरुद्धका कानुन पालना गर्ने÷गराउने, पालिका स्तरीय कार्यविधि, योजना निर्माण तथा अभियान सञ्चालन गर्ने उल्लेख छ । साथै पालिका स्तरमा किशोरी समूह, बाल क्लब, सञ्जालहरुको मजबुतीकरण तथा क्षमता विकासमा जोड दिने, यी कु–प्रथालाई दुरुत्साहन गर्ने तत्वहरुको निराकरण गर्न आपसी समन्वय गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

‘बिहे गर्न हतार नगरौं, छोरीको भविष्य बनाऔं’ भन्ने मूल नाराका साथ वीरगञ्जको त्रिजुद्ध माविमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका विभिन्न पालिकाबाट बालिकाहरु आएका थिए । उनीहरुले जनप्रतिनिधिहरुले बालबालिकाका बारेमा ध्यान नदिएको, समाजमा विद्यमान कुप्रथा अन्त्यका लागि कदम प्रभावकारी नचालेको, बालबालिकाले चालेका कदममा समेत होष्टेमा हैसे नगरेको गुनासो गरेका थिए ।

जनप्रतिनिधिहरुले भाषणमा राम्रो कुरा गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको जिल्ला बाल क्लब सञ्जाल पर्साकी अध्यक्ष सिमरन थापाले बताइन् । ‘जनप्रतिनिधिहरु भाषणमा चिल्ला कुरा गर्छन्, तर व्यवहारमा त्यस्तो देखिन्न,’ उनले भनिन्, ‘बालबालिकाका लागि केही गर्नुप¥यो भनेर जाँदा बजेट छैन भनेर पन्छिन्छन् ।’
सम्मेलनमा पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतोले बाल विवाह र दाइजो मात्रै नभएर महिलामाथि हुने हिंसाविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउनुपर्ने बताइन् । ‘बाल विवाह र दाइजो जस्ता महिलामाथि विभेद गर्ने कुप्रथा समाजमा धेरै छन्, हामीले मिलेर त्यस्ता घटनाको उजागर गर्नुपर्छ,’ उनले भनिन्, ‘महिलाले गुणस्तरीय शिक्षा लिएर आर्थिक अवस्था मजबुत नबनाएसम्म यस्ता कुप्रथाहरु समाजमा रहन्छन् । हामी त्यसतर्फ अघि बढ्नुपर्छ ।’

कार्यक्रममा बाल विवाह, दाइजो, अपराध र त्यसविरुद्ध विद्यमान कानुनी प्रावधानका बारेमा जानकारी गराइएको दिव्य युवा क्लबकी कार्यक्रम संयोजक कोपिला चौलागाईले बताइन् ।

एक्सन एड स्थानीय अधिकार कार्यक्रम तथा समुन्नत परियोजना अन्तर्गत बाल विवाह तथा दाइजो अपराधविरुद्ध दिव्य युवा क्लबले बालिका सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पकाहामैनपुर, विन्दवासिनी र पटेर्वासुगौली गाउँपालिका लगायतबाट बालिका र जनप्रतिनिधिहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment