Comments Add Comment

‘पृथ्वीनारायण शाहलाई थुक्नेले इतिहास पढेकै छैन’

३० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख प्रा. डा. शंकर थापा इतिहास अध्ययन, अनुसन्धानमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिन्छन् । पटना विश्वविद्यालयबाट ‘हिस्टोरीकल स्टडी अफ अग्ररियन रिलेसन्स इन नेपालः ओनर्स–कल्टिभेटर्स इन अ ट्रेडिस्नल एग्रिकल्चर’ शीर्षकमा विद्यावारिधी उनी इतिहासको महत्व नबुझ्दा सम्मान गर्नुपर्ने ऐतिहासिक पात्रकै अपमान भइरहेको बताउँछन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन समेत रहिसकेका थापा पृथ्वीनारायण शाहले जुद्ध शमशेरले जति पनि महत्व नपाएको बताउँछन् । उनको प्रश्न छ– जर्मनीका विस्मार्कलाई एकीकरणकर्ता मान्ने अनि पृथ्वीनारायणलाई चाहिँ थुक्ने ?

इतिहासलाई महत्व नदिनेहरूकै बोलवाला रहेका कारण रामशाह पथबाट राष्ट्रिय संग्रहालय हटाएर न्यायाधीशहरुका लागि गाडी पार्किङ बनाउने निर्णय भएको उनको भनाइ छ । तर, हजारौं वर्ष पुराना प्रमाणहरू संग्रहित संग्रहालयलाई त्यहाँबाट सार्नै नहुनेमा उनको जोड छ ।

राष्ट्रिय संग्रहालय रहेको भवन भारतले बनाइदिएको हो । मित्रताको चिनो भएकाले पनि त्यसलाई भत्काउनु हुँदैन

इतिहास अध्ययन र यसको महत्वबारे प्रा.डा. थापासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

सेमेस्टर प्रणाली सुरु भएपछि इतिहास विभागमा विद्यार्थी संख्या घट्छ भन्ने लागेको थियो, तर कक्षा विहान राखेपछि घटेनन् । अहिले एमएमा १६ र पिचएचडीमा पाँच विद्यार्थी छन् । बरु अघिल्ला वर्षहरुको तुलनामा इतिहास पढ्नेको संख्या बढ्दै गएको छ ।

पढाइ सकिएलगत्तै जागिर नपाइने, कमाइ गर्न नसकिने भएकाले इतिहासमा अरु विषयमा जस्तो आकर्षण हुँदैन । इतिहास पढेकाले पनि विश्वविद्यालय, लोकसेवा आयोगलगायतका ठाउँमा जागिर पाउँछन्, तर एकदमै न्यून । त्यसैले, तत्काल कमाउन नपर्ने र ज्ञान नै लिन खोज्नेहरूले मात्र इतिहासमा बढी रुचि देखाएको पाइन्छ ।

तर, इतिहास भनेको हाम्रो पहिचान हो । हामीले इतिहास बिर्स्यौं भने इतिहासले हामीलाई बिर्सन्छ । त्यसैले इतिहास भनेको नपढी नहुने विषय हो । इतिहास कसैले चाहँदैमा नामेट हुने विषय पनि होइन । कसैलाई मन परे पनि नपरे पनि राणाकाल वा पञ्चायतकाल थिएन भन्न सकिँदैन ।

अहिले कतिपय मान्छेहरू पृथ्वीनारायण शाहलाई थुकेर हिँड्छन् । थुकेर उनलाई के हुन्छ ? नेपाल एकीकरण गर्ने त उनै हुन् नि । कसैले माने पनि, नमाने पनि इतिहास भनेको इतिहास नै हो ।
यो पनि पढ्नुहोस ‘सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको सूचीमै त्रुटि छ’

एकीकरणताका ‘जर्मनी भनेको भौगोलिक अनुभूति मात्रै हो’ भनिन्थ्यो । टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई अटो भोन विस्मार्कले एकीकृत गरे । पृथ्वीनारायणलाई थुक्नेले पनि ‘विस्मार्कले जर्मनी एकीकरण गरे’ भनेर पढ्छ । विस्मार्कलाई एकीकरणकर्ता मान्ने अनि पृथ्वीनारायणलाई थुक्ने ?

पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपाललाई अंग्रेजले ख्वाप्प खान्थ्यो वा भारतको एउटा प्रान्त हुन्थ्यो । त्यसकारण एकीकरण हुनु र नहुनुको फाइदा वा घाटा बुझ्नु पर्छ ।

धेरै नेपालीमा इतिहासको ज्ञान छैन । ज्ञानको अभावमा आ–आफ्नो स्वार्थका लागि इतिहासको अपब्याख्या भइरहेको छ ।

आन्दोलनका बेला पृथ्वीनारायण शाह, महेन्द्र आदिको शालिक ढालियो । त्यो राजनीतिक कुरामा मलाई केही भन्नु छैन, तर न्यूरोडमा त अहिले पनि जुद्धशमशेर राणाको शालिक जस्ताको तस्तै छ । जुद्ध शमशेर त झन् सहिद बनाउने शासक हुन् नि !

हामीले सबैको योगदान हेर्ने हो । अंग्रेजको फौज आउँदा लडेर हराउने पृथ्वीनारायण शाहको योगदान विर्सन मिल्दैन ।

नेपालले हरिद्वारमा मान्छे बेच्थ्यो

पृथ्वीनारायण शाहले केही दुरुपयोग गरेका छैनन् । दुई–चार जना मान्छे नकाटी त लडाइँ नै हुँदैन ।

अठारौं शताब्दीको अन्त्यमा नेपालले कुमाउ र गढवालमा आफ्नो शासन स्थापना गर्‍याे । त्यहाँ नेपालीहरूले यति मान्छे काट्थे रे भनीसाध्य छैन ।

त्यतिबेला हरिद्वारमा नेपाली चौकी थियो । नेपालको बडा हाकिमले गाउँ–गाउँबाट जबरजस्ती मान्छे बटुलेर ल्याएर चौकी अगाडि लाइन लगाएर राख्थे । दुईदेखि दश रुपैयाँमा मान्छे बेच्थ्यो नेपालले, बोका बेचे जस्तो । उनीहरूलाई दास बनाउन बेचिन्थ्यो । त्यसमा केटाकेटी, तन्नेरी, बुढा सबै हुन्थे ।

हामीले विरोध गर्ने भनेको त्यस्तो कामको हो, पृथ्वीनारायण शाह जस्तोको होइन ।

काठमाडौंका नेवार साथीहरू पृथ्वीनारायणले नेवार राज्य खत्तम पार्‍याे भन्छन् । तर, अहिले आएर काठमाडौं राज्य गयो, पूर्वको किराँत राज्य गयो, भन्नुको अर्थ छैन ।

अमेरिकामा पनि लाखौंलाख कालाहरुलाई काटेर, गोली ठोकेर मारियो । त्यहाँ कालाले गोराविरुद्ध आन्दोलन गर्दैनन् त ।

यो सब हुनुको पछाडि हामी कहाँ इतिहासको ज्ञानको अभाव हो । तर, यसो भन्दा क्षेत्री वा बाहुन भएर यस्तो बोल्यो भन्छन् । इतिहासको प्राध्यापकको हिसाबले मलाई राई, नेवार वा वाहुनसँग केको इर्श्या ?

खै सुगौली सन्धिको प्रति ?

सुगौली सन्धिको ‘कपी’ भेटिएन भन्ने समाचार आएको छ । त्यो नेपाल सरकारको सम्बन्धित निकायमा हुनै पर्ने हो । छैन भने बेचेको हो की हराएको हो ? जनतालाई भनिदिनु पर्‍याे नि । त्यो कसको हातमा हुनुपर्ने र किन भएन भनेर सरकारले छानविन किन नगरेको ?

नक्सा, अंग्रेजसँग भएका पत्रचार, ऐतिहासिक दस्तावेजकै आधारमा कहाँसम्म हाम्रो भूभाग हो भन्ने हो । तर हामी कहाँ त्यही कुराको अभाव छ । हामी कहाँ यस्ता समस्या प्रशस्त छन् ।
यो पनि पढ्नुहोस ‘ओलीले मोदीलाई सोध्न सक्नुपर्छ, सुगौली सन्धि मान्ने कि नमान्ने ?’

सरकारले हाम्रो सिमाना यहाँसम्म हो भनेर प्रस्ट भन्न सक्नुपर्छ । विभिन्न सञ्चार माध्यममा आएका समाचारअनुसार भारतले हाम्रो भूभाग मिचेको छ । यस विषयमा सरकारको दृष्टिकोण के हो ? जनतालाई थाहा छैन ।

उत्तरी छिमेकी चीनले दक्षिण एसिया हेर्ने छुट्टै युनिट बनाएर काम गर्छ । जस्तो, दक्षिण एसिया सम्बन्धी नीति बनाउनु पर्दा सिचुवान युनिभर्सिटीको साउथ एसिया स्टडी सेन्टरको कुरा लिइन्छ । नेपालको पारा भने ठीक उल्टो छ । इतिहास सम्बन्धी नीति बनाउनु पर्दा जीवनमा इतिहास भन्ने चिज नपढेको व्यक्तिसँग सुझाव लिइन्छ ।

शिक्षामा लगानी गरेर के काम भन्ने व्यक्तिहरू निर्णायक तहमा पुगे भने बडा गाह्रो हुने रहेछ । हुन पनि, शिक्षा क्षेत्रमा आज एक अर्ब लगानी गरेर भोलि दुई अर्ब त हुँदैन ।

संग्रहालय सार्नु दिमागी दिवालियापन

न्यायाधीशहरुको गाडी राख्ने ठाउँ बनाउन राष्ट्रिय संग्रहालय भत्काउने समाचार आएको छ । यो गर्नै नहुने काम हो । त्यहाँ १२ सय वर्ष पुराना किताबहरू छन् । पातमा लेखिएका किताबहरू पनि छन् । जुन हल्लाउँदा वा अर्को ठाउँमा सार्दा भाँचिन्छन्, धुलो हुन्छन् ।

जहाँ मन लाग्यो त्यहाँ सार्ने जिनिस नै होइन, राष्ट्रिय संग्रहालय । त्यो पनि पार्किङस्थल बनाउनका लागि त सार्नै मिल्दैन । संग्रहालयको महत्वको अगाडि पार्किङ कुनै समस्या नै होइन । पार्किङ सर्वोच्च अदालतको पछाडि बनाउँदा हुन्छ । अण्डर ग्राउण्ड पार्किङ बनाउँदा पनि भयो ।

राष्ट्रिय संग्रहालय रहेको भवन भारतले बनाइदिएको हो । मित्रताको चिनो भएकाले पनि त्यसलाई भत्काउनु हुँदैन ।

त्यो भवनमा पुराना कागजपत्र सुरक्षित राख्न चाहिने तापक्रम र आद्रता नियन्त्रण प्रणालीयुक्त विशेष प्रकारको कक्ष जर्मन सरकारले बनाइ दिएको छ । भारत र जर्मनीले संग्रहालयको महत्व बुझेरै भवन बनाइदिएका हुन् । उनीहरूले खोलामा फाल्ने पैसा यसमा लगाएका होइनन् ।

नेपालको संग्रहालय भनेको विश्वकै सम्पत्ति हो, जहाँ संसारभरबाट मान्छे आएर अनुसन्धान गर्छन् । यसलाई भत्काउने, सार्ने कुरा दिमागी दिवालियापनको उपज हो ।

संसारमा कहीँ पनि राष्ट्रिय संग्रहालय जस्तो विषयमा खेलवाड हुँदैन । जुन ठाउँमा छ, त्यहीँ राख्छन् । बरु आवश्यक परे अरु संरचना हटाउँछन् । इतिहास नै चाहिँदैन भने त के भन्नु र खै ?
यो पनि पढ्नुहोस त्यसपछि दशरथ रंगशालामा सन्नाटा छायो…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment