Comments Add Comment

नीति कथाः दान दिएको कुरा अरुलाई सुनाउनैपर्छ ?

आपत बिपतमा परेकालाई राहत दिएको आर्थिक/भौतिक सहयोग गरेको कुरा हामी फोटो/भिडियोमा कैद गरेर दुनियाँलाई देखाउन चाहन्छौं । सामाजिक सञ्जालमा राख्छौं । हामीमा किन यस्तो प्रचारमुखी मनोविज्ञान विकास भएको हो ?

अरुको पीडाबोध गरेर सहयोग गर्नु पक्कै सकारात्मक र प्रशंसनीय काम हो । तर, अहिले त्यसरी सहयोग गर्नेहरु उक्त दृश्यलाई मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा फैलाउन उद्दत रहन्छन् । यसबाट उनीहरुको मनोविज्ञान कस्तो बुझिन्छ भने आफूले सहयोग गरेको कुरामा उनीहरुलाई दम्भ छ । त्यो कुरा उनीहरु दुनियाँलाई देखाउन चाहन्छन् ।

पौराणिक शास्त्रहरुमा असल गुण वा चरित्रबारे भनिएको छ, ‘अरुलाई दिएको दानको कुरा गोप्य राख्नुपर्छ ।’ अर्थात् त्यसलाई प्रचार सामाग्री बनाउनु हुँदैन । सहयोग गर्ने नाममा सेल्फी खिचेर सामाजिक सञ्जालमा फैलाउने लहड चलेको यो जमनामा एउटा सान्दर्भिक नीतिकथा प्रस्तुत गरिएको छ ।

कथा

एक पटक एक पुरुष आफ्ना मित्रसँग कतै हिँडिरहेका थिए । हिँड्दा हिँड्दै उनीहरुले बाटोमा एक भिखारी देखे । भिखारी टिठलाग्दो ढंगले हात फैलाएर बसेका थिए । ती पुरुष भिखारी नजिकै गएर केही दान दिए । त्यहाँबाट अगाडि बढिसकेपछि पुरुषले आफ्ना मित्रसँग फूर्तिसाथ सुनाए ‘म एकदमै मनकारी छु । मलाई गरिब-दीनदुःखी देख्नै हुन्न । मन पग्लिहाल्छ । म वास्तवमा दानी पनि हुँ । मेरो यो स्वभाव मलाई विशिष्ठ लाग्छ । यसमा तपाईं के भन्नुहुन्छ ?’

मित्रले जवाफमा भने, ‘हजुर, कुनैबेला म पनि यस्तै ठान्थे, जो अहिले तपाईं महसुस गरिरहनु भएको छ । आफ्नो महानता प्रदर्शन गर्नका लागि मैले एक विशाल भोज पनि आयोजना गरें । त्यस भोजमा मैले नगरेका सबै व्यक्तिलाई निमन्त्रणा गरेको थिएँ । मलाई के लागेको थियो भने जब उनीहरु मैले आयोजना गरेको भोजमा सरिक हुनेछन्, भरपेट खानेछन्, तृप्त हुनेछन् । तब उनीहरु मप्रति अनुग्रहित हुनेछन् र मेरो महानता सिद्ध हुनेछ ।’ उनले भन्दै गए, ‘जतिबेला भव्य भोज चलिरहेको थियो, म आफ्नो घरको छतमा उभिएको थिएँ । मैले त्यहाँबाट एउटा अनौठो दृश्य देखें ।’

पहिलो पुरुषले उत्सुकताका साथ सोधे, ‘अँ त, के देख्नुभयो ?’

‘एक व्यक्ति बञ्चरो बोकेर रुख काटिरहेको थियो । सायद उनलाई मैले भोज आयोजना गरेेको थाहा थिएन । मलाई यस्तै लाग्यो ।’

पहिलो पुरुषले सोधे, ‘त्यसपछि के भयो ?’

साथी भन्दै गए, ‘मैले आफ्ना सहयोगीलाई ती व्यक्ति भएकोमा पठाएँ र भोजबारे जानकारी दिन लगाएँ । साथै उनीहरुलाई साथै लिएर आउनु पनि भनेँ । सहयोगीहरु तुरुन्तै ती व्यक्तिकहाँ गए । तर, फर्केर आउँदा उक्त व्यक्ति साथमा आएका थिएनन् । उनीहरुले खबर सुनाए कि, ती व्यक्ति मेरो भोजमा आउनका लागि तयार छैनन् ।’

पहिलो पुरुषले जिज्ञासापूर्वक साथीमाथि दृष्टि बिच्छ्याए । साथी भन्दै गयो, ‘मलाई उसको कुरा धेरै अनौँठो लाग्यो । म आफैँ उनीकहाँ गएँ र भोजमा आउनका लागि कर गरेँ ।’

‘अनि के भयो ? के ऊ आयो ?’ पहिलो पुरुषले हतार हतार सोध्यो ।

त्यसपछि उसले उत्तर दिँदै भन्यो ‘म आफ्नो मेहनतको रोटी खान्छु । अर्काको दान, कृपा, भलाईको बोझ मलाई पटक्कै रुचि छैन । हो, उनको जवाफ पाएदेखि नै मैले आफ्नो महानता प्रदर्शन गर्न छाडिदिएँ ।’

तब पहिलो पुरुषले भन्यो, ‘अहो कुरा सही हो, हामी अरुलाई दिएर आफूलाई महान घोषित गर्न लोभिएका छौं । यसरी मनमा स्वार्थ राखेर दिइने कुराको के सार्थकता भो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment