Comments Add Comment

निर्माण व्यवसायी संघ पर्सामा विवाद : किन भयो दुई ठाउँमा साधरण सभा ?

३० मंसिर, वीरगञ्ज । निर्माण व्यवसायी संघ पर्साको आन्तरिक विवाद छताछुल्ल भएको छ । अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने समयमा संघभित्रको आन्तरिक कलह बाहिरिएको हो ।
संघको १६ औं साधरण सभा अध्यक्ष रामाकान्त चौरसिया र प्रथम उपाध्यक्ष दिवाकर पटेल पक्षले छुट्टाछुट्टै गरेका छन् । अध्यक्ष चौरसिया पक्षले मंसिर २७ गते शुक्रबार नगर सभा गृहमा १६ औं साधरण सभा र ११ औं अधिवेशनको आयोजना गरे भने असन्तुष्ट प्रथम उपाध्यक्ष पटेल पक्षले मंसिर २९ गते पदम पार्टी प्यालेसमा साधरण सभा गरेका छन् ।

दुवै पक्षले एक–अर्कालाई संघको विधान विपरित गएको आरोप प्रत्यारोप लगाइरहेका छन् । अध्यक्ष चौरसियाले आव्हान गरेको साधरण सभा निर्माण व्यवसायी संघ नेपालका उपाध्यक्ष सुरेन्द्र सिंहले गरेका थिए । सरकारले चौतर्फी रुपमा निर्माण व्यवसायीमाथि आक्रमण गरिरहेको र निर्माण कम्पनी टाट पल्टने अवस्थामा पुगेको उनले बताएका थिए ।

उनले यस्तो अवस्थामा एक भएर समस्याको समाधान खोज्न आव्हान गरेका थिए । तर अर्को पक्षले केन्द्रिय उपाध्यक्षको आग्रहलाई टेरेनन् । उद्घाटनसत्रपछि विवाद भएका कारण साधरणसभा सम्पन्न हुन सकेन । चौरसिया पक्षले मनोमानीपूर्ण तरिकाले साधारणसभा गरेपछि संघमा भाँडभैलो भएको आरोप असन्तुष्ट पक्षको छ ।

बहुमत व्यवसायीलाई समेटेर प्रथम उपाध्यक्ष पटेलले आइतबार साभरण सभा गराए । साधरण सभामा द्वितीय उपाध्यक्ष हिरालाल पटेल, कोषाध्यक्ष उमेश क्षेत्री, सहकोषाध्यक्ष महताव आलम, कार्य समिति सदस्य राजकिशोर पटेल, फिरोज खान, पारस ठाकुर, प्रेम सर्राफ, सूर्य कोइराला, धुरेन्द्र पटेल, राजु पटेल, लालबाबु पटेल, प्रदीप यादव लगायत १४ जना कार्य समिति सदस्य सहभागी भएको दाबी उनीहरुको छ ।

अध्यक्ष चौरसिया पक्षले गरेको साधारणसभा अवैधानिक रहेको दाबी प्रथम उपाध्यक्ष पटेलको छ । ‘२१ जना कार्य समिति सदस्य मध्ये १४ जना सदस्य र ४ सय साधरण सदस्य मध्ये २ सय २० जना साधारणसभामा सहभागी भएका छन्,’ पटेलले भने, ‘संस्था लोकतान्त्रिक पद्धतिबाट चल्ने हो । नेतृत्वले हैकमवादी शैलीले चलाउन खोज्छन भने हामीलाई मान्य हुँदैन ।’
उनीहरुले साधरणसभा स्थगित गर्न अदालतमा दिएको मुद्धा विचाराधीन छ ।

विवादको चुरो : नेतृत्वको चुनाव

संघको नयाँ सदस्यता शुल्क ५ हजार रुपैयाँ थियो । चौरसिया अध्यक्षमा निर्वाचित भएपछि सबैको सहमतिमा नयाँ सदस्यता शुल्क ५१ हजार कायम गरेको थियो । तर नयाँ सदस्यसँग १५ हजार रुपैयाँ मात्रै लिएर सदस्यता दिइएको थियो ।

बोर्डको बैठक विना अध्यक्ष र सचिवले मिलेर १५ हजार रुपैयाँ लिएर बाँकी किस्ताबन्दीमा तिर्न लगाउने व्यवस्था गरेको उनीहरुको भनाइ छ । अध्यक्षका प्रत्यासी समेत रहेका सचिव सुरेश पटेललाई सहयोग पु र्याउन अवैधानिक तरिकाले ८० जनालाई सदस्यता दिएको आरोप असन्तुष्ट पक्षको छ ।

बहुमत बोर्ड सदस्य र पदाधिकारी सहभागी आइतबारको साधारणसभाले यसअघिको सदस्यता शुल्क ५१ हजार रुपैयाँ कायम रहने र अब आउने सदस्यसँग ५ हजार १ सय रुपैयाँ लिने निर्णय गरेको छ ।

अध्यक्ष चौरसिया भन्छन- भोटको राजनीति गरेको छैन

पर्सामा हाल दुई गुट मध्ये कुन पक्षको साधरणसभा आधिकारिक रु भनेर बहस भइरहेको छ । अध्यक्ष चौरसियाले आफूले आयोजना गरेको साधरणसभा नै आधिकारीक र प्रक्रियागत रहेको दाबी गरेका छन् । ‘कात्तिक २२ गते बोर्ड बैठकबाटै मंसिर २७ गते साधरणसभा गर्ने निर्णय भएको हो । १ हजार रुपैयाँ शुल्क तिरेर ३ सय ८० जना सदस्यले सदस्यता नविकरण गरेका छन्,’ चौरसियाले भने, ‘३ सय २१ जना साधरण सदस्य साधरणसभामा सहभागी छन् । ’

भोटको राजनीति गरेको असन्तुष्ट पक्षको आरोप सही नभएको दाबी उनले गरे । ‘पहिला ५ हजार रुपैयाँ सदस्यता शुल्क हुँदा पनि १ हजार रुपैयाँ लिएर बाँकी किस्तामा तिर्ने चलन थियो । संघलाई मजबुत बनाउन ५१ हजार रुपैयाँ सदस्यता शुल्क कायम गरियो,’ अध्यक्ष चौरसियाले भने,

‘एकैपटक तिर्न गाह्रो हुने भएकोले विगतमा जस्तै किस्तामा तिर्न कबुलियत नामा गराएर सदस्यता दिन लागेका हौं । त्यो पनि साधरण सभामाले पास गरेपछि मात्रै न सदस्यताले आधिकारिता पाउने हो ।’

३३ प्रतिशत बहुमत सदस्यको मागपछि ‘विशेष साधरण सभा’ त्यो पनि एक महिना पहिले नै सूचना निकालेर बोलाउन सकिने विधानमा व्यवस्था भएकोले अर्को पक्षले आवेशमा आएर गरेको साधरण सभा आधिकारिक नहुने दाबी उनको छ ।

साधरणसभाकै दिन छानविन समिति

शुक्रबारको साधरण सभा अघि विवाद समाधानको प्रयास नै नभएको भने होइन । विवाद समाधानका लागि जिल्ला प्रशासनमा समेत छलफल भएको स्रोतले जनाएको छ । मंसिर २७ गते बिहानै पनि सदस्यता शुल्कका सम्बन्धमा छानविन गर्न ५ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

निवर्तनमान अध्यक्ष मोहन यादव, अध्यक्ष रामाकान्त पटेल, प्रथम उपाध्यक्ष दिवाकर पटेल, सचिव सुरेश पटेल र कोषाध्यक्ष उमेश क्षेत्री सदस्य रहेको समितिले छानविन गर्ने भनिएको थियो । तर छानविन समितिमा उपाध्यक्ष दिवाकर पटेल पक्षले हस्ताक्षर नै नगरेको चौरसिया बताउँछन् ।
‘अग्रजको सल्लाह अनुसार हामीले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर छानविन समिति गठन गरेका थियौं । तर उनीहरु सहमतिमा आएर हस्ताक्षर गरेनन् । त्यसपछि हामीले साधरणसभा ग र्यौं ।’ अध्यक्ष चौरसियाले भने ।

छानविन समितिले औपचारिक रुप लिएर काम सुरु नगर्दै साधरण सभाको उद्घाटन गरिएपछि असन्तुष्ट पक्ष विच्किएको कतिपयको बुझाइ छ । अध्यक्ष तथा सचिवले गैरजिम्मेवार तरीकाले सदस्यता वितरण गरेकाले सदस्यता खारेज गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ ।

संघका सल्लाहाकार सुमित रौनियार गुट उपगुटमा विभाजित हुनु भन्दा संघलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताउँछन् । ‘सल्लाहाकार समितिसँग सल्लाह पनि गरेनन्, हतारमा दुवै पक्षले साधरणसभा गरेका छन् । संघको ३२ वर्षको ईतिहासमा यस्तो कहिल्यै भएको थिएन ।’ पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारले भने ‘ तर अझै केहि विग्रेको छैन, संगठनलाई मजबुत बनाउन दुवै पक्ष मिलेर जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment