+
+
Shares

वैदेशिक रोजगारबारे स्वेतपत्र जारी गर्न कांग्रेस सांसद संग्रौलाको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १५:५४

१ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्थाबारे तत्काल स्‍वेतपत्र जारी गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार एक विज्ञप्ति जारी गरी उनले यी कार्यक्रममा रहेका समस्या पहिचान गरी अल्पकालीन र दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन पनि माग गरेकी छन् ।

नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकको जिम्मा पाएकी उनले वैदेशिक रोजगारी, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक  सुरक्षा कोषका विषयमा विभिन्न समस्या पनि औल्याएकी छन्‍ । सरकारले युएई, मलेसिया, जापान र मरिसस लगायतका श्रम गन्तब्य मुलुकसँग श्रम सम्झौता, सम्झदारी, सहमति गरे पनि कार्यान्वयन नगरेको, मलेसिया जाने कामदारसँग मेनपावरले सेवा शुल्क नलिने भने पनि कानुनी छिद्र प्रयोग गर्दै बिचौलियामार्फत लाखौं पैसा असुली रहेका सांसद संग्रौलाले उल्लेख गरेकी छन् ।

त्यस्तै जापानसँग सम्झदारी गरिएका भए पनि सोचे अनुसार नेपाली कामदार जान नपाएका, भाषा परीक्षा र सीप परीक्षणका प्रक्रिया नै झन्झटिला भएका कारण धेरै नेपाली रोजगारीका लागि जापान जान सक्ने नदेखिएको उनले उल्लेख गरेकी छन् ।

सामाजिक सुरक्षा योजना सफल बनाउनुपर्नेमा मन्त्रालय र कोष मौन बसेका कारण योजना नै अलपत्र पर्ने देखिएको सांसद संग्रौलाले बताएकी छन् । सामाजिक सुरक्षा योजनालाई सफल बनाउन सरकारले व्यवसायीलाई फकाउने, थर्काउने वा के रणनीति लिएर काम गरिरहेको भन्ने प्रष्ट नपारेको पनि उनले उल्लेख गरेकी छन् ।

नियमअनुसार २ प्रतिशत रोजगारदाता, १ प्रतिशत श्रमिकको पैसा जम्मा गर्नु पर्नेमा कतिपय रोजगारदाताले ३ प्रतिशत नै श्रमिकको खाताबाट पैसा काटेको सुन्नमा आएको भन्दै संग्रौलाले तत्काल जाँच गरी अनियमिततामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक वर्षको मध्यसम्म पनि रोजगारी सिर्जना र बेरोजगारका लागि नयाँ कार्यक्रम ल्याउन नसकेको भन्दै यो कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारको जिम्मेवारी र भूमिका स्पष्ट पार्न आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?