Comments Add Comment

पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं, जित्यो १० लाख

१ पुस, काठमाडौं । मोबाइल तथा कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’ लाई लिएर नेपालमा बारम्बार विवाद उब्जिन्छ । सरकारले प्रतिबन्ध पनि लगाउने निर्णय गर्‍यो ।

तर त्यही पब्जीको एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाली खेलाडीहरुको टिमले पुरस्कार जितेको छ ।

साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्टि्रक्स’ले सहभागिता जनाएको थियो । ३२ राष्ट्रहरुले भाग लिएको प्रतियोगितामा नेपाली टिम सातौं भयो र १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) जित्न सफल भयो ।

बनाना कल्चर नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।

पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर प्राप्त गर्‍यो ।

यसैगरि दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर पाएको छ भने तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ । चौंथो, पाचौं र छैटौंको पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार र १२ हजार डलर थियो ।

सहभागी टिमलाई दुई समूहमा बाँडेर खेलाइएको थियो । ‘टिम ए’ मा मध्यपूर्व र उत्तर अफ्रिकाका टिमहरु थिए भने बाँकी टिमहरु ‘बी’ मा थिए ।
समूह चरणमा नेपाली टिम ५६ अंकसहित दोस्रो भएको थियो । फाइनलमा भने ४७ अंक मात्र ल्याएर सातौं बन्न पुग्यो ।

पहिलो भएको रसियाको टिम युनिकले १११ अंक ल्याएको थियो ।

नेपालमा केही समयअघि सरकारले प्रब्जी खेलमाथि प्रतिबन्ध लगाएको थियो । तर, पछि अदालतले उक्त प्रतिबन्ध हटाइदिएको छ ।

पब्जी विश्वभरका किशोरकिशोरी तथा युवाहरुमा लोकपि्रय एउटा अनलाइन गेम हो । तर कुलतमा फसाएको भनेर विभिन्न देशले यसलाई प्रतिबन्ध पनि लगाएका छन् । पब्जीको लत लागेका किशोरहरुमा मानसिक समस्याहरु देखिने गरेका छन् ।

पब्जीको पूरा नाम ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ हो । सन् २०१७ मा मात्रै आएको यो गेम ‘ब्यालट रोयल’ बिधामा पर्छ । यो एकसाथ धेरैजनाले खेल्न सकिन्छ ।

तस्वीर : इलिमेन्ट्रिक्स’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment