News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्समा छनोट भए पनि प्रशासनिक कमजोरीका कारण नेपाली पब्जी टोली प्रतियोगिता खेल्नबाट वञ्चित भएको छ ।
- राष्ट्रिय खेलकुद परिषद्को लङ लिस्टमा नाम नभएको भन्दै खेलाडीहरूलाई सहभागी गराउन सम्बन्धित निकायले अस्वीकार गरेको छ ।
- इस्पोर्ट्स संघहरूको विवाद र समन्वयको अभावले गर्दा छनोट चरण पार गरेका खेलाडीहरूले अन्तर्राष्ट्रिय अवसर गुमाउनुपरेको छ ।
१६ साउन, काठमाडौं । २०औं एसियन गेम्सका लागि कठिन छनोट चरण पार गरेका नेपाली पब्जी टोली अन्तिम प्रतियोगिता खेल्नबाट वञ्चित हुने भएको छ ।
नेपाली पब्जी टोलीले भियतनाममा भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जापानको आइची–नागोयामा हुने २०औं एसियन गेम्समा स्थान बनाएको थियो ।
तर नेपालबाट इस्पोर्ट्स खेल नै एसियन गेम्समा दर्ता नभएपछि छनोट भएर पनि एसियन गेम्स खेल्ने खेलाडीको सपना अधुरै रहने भएको हो ।
नेपलबाट इस्पोर्ट्स खेल एसियन गेम्समा समावेश नभएपछि छनोट भएका खेलाडीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सम्बन्धित निकायसँग एउटै प्रश्न गरे, ‘हामीले छनोट पार गर्दा पनि एसियन गेम्स किन खेल्न नपाउने?’
भियतनाममा इतिहास, नेपालमा निराशा
नेपाली टोलीले जुन १९ देखि २१ सम्म भियतनाममा भएको एसियन गेम्स इस्पोर्ट्स छनोट प्रतियोगितामा २३ टोलीमध्ये सातौं स्थान हासिल गर्नै २०औं एसियन गेम्सका लागि स्थान सुरक्षित गरेको थियो । छनोटबाट शीर्ष ८ टोली एसियन गेम्सका लागि छनोट भएको हो ।
नेपाली टोलीमा समिर कोस्टेल्लो (जेयो), रोहित तामाङ (जोर्डी), दीपेश गुरुङ (डेल्टा एक्स), सौरभ तामाङ (टीएमजी–८) र सोनु कार्की (बाइ बाइ) रहेका थिए ।
तर एसियन गेम्स छनोटको खुसी धेरै समय टिकेन । एसियन गेम्सका लागि नेपालबाट पठाइएको आधिकारिक खेलाडी सूचीमा उनीहरूको नाम नै नरहेपछि उनीहरू प्रतियोगिता खेल्न नवाउने हो।
पत्रकार सम्मेलनमा खेलाडीहरूले आफूहरूले खेल मैदानमा आफ्नो जिम्मेवारी पूरा गरे पनि प्रशासनिक कमजोरीका कारण अवसर गुमाउनुपरेको बताए ।
‘हामीले मिहिनेत गरेर खेलेर छनोट भएर आएका हौं । तर एसियन गेम्स खेल्न जान नपाउँदा निकै दुःख लागेको छ,’ खेलाडीहरूले भने ।
टोलीका व्यवस्थापक होमबहादुर गुरुङले खेलाडीको उपलब्धिभन्दा ठूलो पीडा उनीहरूले पाएको अवसर गुम्नु भएको बताए ।
‘खेलाडीहरूले पाएको अवसर कसरी गुम्न पुग्यो भन्ने प्रश्नले निकै चिन्ता लाग्दो रहेछ । छनोट भएर पनि खेल्न नपाउनु अत्यन्त पीडादायी विषय हो,’ उनले भने ।
दुई संघको विवादको मारमा खेलाडी
नेपालमा अहिले इस्पोर्ट्सका लागि दुई संघ सक्रिय छन् । एकातर्फ अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा) छ भने अर्कोतर्फ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको इस्पोर्ट्स एसोसिएसन अफ नेपाल (इसान) छ ।
नेसा मार्फत नै नेपाली टोलीले एसियन गेम्स छनोट खेलेर जापानको टिकट सुरक्षित गरेको थियो । तर प्रशासनिक समन्वय अभाव र संस्थागत विवादको प्रत्यक्ष असर भने खेलाडीमाथि परेको देखिएको छ ।
‘लङ लिस्टमा नभएकाले खेल्न मिल्दैन’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एसियन गेम्समा सहभागी हुन लङ लिस्टमा नाम अनिवार्य हुने बताएका थिए । ‘एसियन गेम्सका लागि लङ लिस्टमा रहेका खेलाडीले मात्र खेल्न पाउँछन् । पब्जीमा छनोट भएका खेलाडीहरू लङ लिस्टमा छैनन्, त्यसैले उनीहरूको सहभागिता हुँदैन,’ मेहताले बताएका छन् ।
केही समयअघि राखेपका सदस्य–सचिव रामचरित्र मेहता र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले २०औं एसियन गेम्समा नेपालको सहभागिता विवादरहित हुने बताएका थिए ।
तर अहिलेसम्म नेपालबाट २२ खेलका खेलाडीको नाम दर्ता हुँदा इस्पोर्ट्सका खेलाडीको नाम समावेश हुन सकेको छैन । यसले सम्बन्धित निकायको तयारी र समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ ।
एसियन गेम्समा पुग्ने क्षमता मैदानमा प्रमाणित गरिसकेका नेपाली खेलाडी अहिले एउटै जवाफ खोजिरहेका छन् । आखिर आफ्नो गल्तीबिना उनीहरूले जीवनकै ठूलो अन्तर्राष्ट्रिय अवसर किन गुमाउनुपर्यो?
प्रतिक्रिया 4