News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा घरेलु फुटबल गतिविधि ठप्प भएपछि नेपाली खेलाडीहरू पछिल्लो समय भुटानको फुटबल लिगमा व्यावसायिक अवसर खोज्न बाध्य भएका छन् ।
- रश्मी कुमारी घिसिङ र गीता राना लगायतका धेरै नेपाली महिला खेलाडीहरू अहिले भुटानी क्लबबाट नियमित रूपमा लिग खेलिरहेका छन् ।
- नेपाली डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर एरिक विष्ट आउँदो सिजनका लागि बंगलादेशको फोर्टिस एफसी लिमिटेडमा अनुबन्ध भएका छन् ।
१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेपछि नेपालको फुटबल गतिविधि अहिले शून्य छ । त्यसअघि नै लामो समयदेखि शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग हुन सकेको थिएन ।
एन्फाले गत वर्ष बल्लतल्ल सुरु गरेको राष्ट्रिय लिग पनि पर्यटन भिसामा रहेको विदेशी खेलाडी खेलाएपछि स्थगित भएको थियो ।
नेपालको घरेलु फुटबल शुन्य बनेपछि अहिले फुटबल खेलाडी देखि रेफ्री प्रशिक्षकहरु सबै बेरोजगार गरिरहेको छ । तर केही नेपाली खेलाडीहरु भने अहिले भुटानको लिग खेल्न व्यस्त छन् ।
पछिल्लो समय भुटानको फुटबलले प्रगति रहेको छ र नेपाली खेलाडीको गन्तव्य पनि विगत केही वर्ष यता भुटान बनिरहेको छ । यसअघि केही संख्यामा मात्र नेपाली खेलाडी भुटानको लिग खेल्न गएपनि अहिले भने नेपाली खेलाडीको संख्या बढ्दो छ ।
भुटानी लिगमा खेल्ने पुरुष खेलाडीको तुलानामा महिला खेलाडीको संख्या बढी छ । नेपाली राष्ट्रिय टिमका रश्मी कुमारी घिसिङ र गीता राना भर्खरै ट्रान्सपोर्ट युनाइटेड लेडिझ टिममा अनुबन्ध भएका छन् ।
यसअघि नै नेपालका दीपा शाही, समिक्षा घिमिरे, अनिता केसी र मिना देउबा ट्रान्सपोर्ट युनाइटेडबाट भुटानको महिला राष्ट्रिय लिग खेलिरहेका छन् । त्यसमा रश्मि र गीता थपिएपछि एकै टिममा नेपाली खेलाडीको संख्या ६ पुगेको छ ।
ट्रान्सपोर्टमा मात्र होइन अन्य टिममा पनि नेपाली महिला खेलाडी छन् ।

पारा एफसीको महिला टिममा नेपाली राष्ट्रिय टिमका दुई मिडफिल्डर रेनुका नगरकोटे र सरु लिम्बु आबद्ध भएर खेलिरहेका छन् ।
यस्तै डिफेन्डर पुजा राना थिम्पु सिटीको महिला टिममा अनुबन्ध भएकी छिन् । उनले यसअघि नै भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज टिमबाट खेलिसकेकी छिन् ।
यस्तै भुटानको पुरुष लिगमा पनि नेपाली खेलाडीहरु खेलिरहेका छन् ।
सन्तोष खत्री फेरि ट्रान्सपोर्ट युनाइटेडबाट खेल्नका लागि भुटान पुगिसकेका छन् । यस्तै गोलकिपर टिकेन्द्र थापा त्यही क्लबबाट लिग खेलिरहेका छन् ।
यस बाहेक चेन्जो ग्याल्त्सेन कप्तान रहेको थिम्पु एफसीबाट कृतिश रत्न छुन्जु र गोलकिपर प्रमिजय गच्छादार खेलिरहेका छन् ।
नेपालमा फुटबल गतिविधि नहुँदा भुटानी लिगमा खेलाडी जाने क्रम बढिरहेको छ । यसमा अरु संख्या पनि थपिन सक्नेछ ।
भुटानको लिग खासै चर्चित र ठूलो नभएपनि त्यहाँ नियमित रुपमा लिग भइरहेको छ । जसले गर्दा स्थानिय खेलाडी देखि विदेशी खेलाडीहरुले त्यहाँ गएर खेलिरहेका छन् । यस्तै एकै टिममा धेरै विदेशी खेलाडीले खेल्न पाउने भएकोले पनि नेपाली खेलाडीहरुले पनि भुटानमा अवसर पाइरहेका छन् ।
भाषा, संस्कृति र भौगोलिक निकटताका कारण पनि नेपाली खेलाडीका लागि भुटान सहज गन्तव्य बनेको छ । फुटबल खेल्नुका साथै आर्थिक रुपमा पनि आर्जन हुने भएकोले नेपाली खेलाडीको लागि यो राम्रो अवसर बनेको छ ।
यसअघि पुरुष फुटबलहरु मात्र गइरहेको भएपनि पछिल्ला वर्षहरुमा भने भुटानको लिगमा नेपाली महिला खेलाडीको सहभागिता पनि बढिरहेको छ ।

नेपालमा महिला लिग व्यवस्थित नहुँदा कम्तीमा भुटानी लिगमा नेपाली खेलाडीहरुले आफ्नो कला देखाउने अवसर पाएका छन् ।
महिला फुटबलरहरूका लागि पनि भुटानी लिग अहिले महत्वपूर्ण अवसर बनेको छ ।
यसअघि राष्ट्रिय टिमकै अनिता बस्नेत, हिरा भुजेल र निशा थोकर मलेसियाको महिला लिग खेल्न गएका थिए ।
छिल्लो समय नेपाली महिला खेलाडीले भारत, बंगलादेश र भुटानको लिग खेल्दै आएका छन् ।
नेपाली महिला फुटबलकी गोल मेसिन सावित्रा भण्डारी साम्बाले दक्षिण एसिया देखि युरोप हुँदै अष्ट्रेलियासम्मको लिग खेलिसकेकी छिन् । उनले फ्रान्सको समेत लिग खेलिसकेकी छन् ।
छिल्लो समय न्युजिल्यान्डको वेलिङ्गटन फोनेस्किमा अनुबन्ध भएर अष्ट्रेलियाको लिग खेल्ने क्रममा घाइते भएपछि घुँडाको शल्यक्रिया गराएकी सावित्रा हाल मैदान पर्कनका लागि रिह्याबमा व्यस्त छिन् ।

बंगलादेशी क्लबमा अनन्त र एरिक
भुटानमा मात्र होइन अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशी क्लबमा पनि नेपाली खेलाडीहरु अनुबन्ध भएका छन् ।
राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर एरिक विष्ट बंगलादेशको फोर्टिस एफसी लिमिटेडमा अनुबन्ध भएका छन् । दुवै खेलाडी आउने सिजनको बंगलादेश फुटबल लिगका लागि अनुबन्ध भएका छन् ।
बंगलादेशको लिग करिब ६ महिला सञ्चालन हुनेछ । लिग अगष्ट अन्तिमदेखि सुरु हुने भएपनि दुवै खेलाडी बंगलादेश पुगेर प्रशिक्षण गर्न थालिसकेका छन् ।
फोर्टिस एफसीले लिगअघि एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल पनि खेल्दैछ । च्यालेन्ज लिगको प्रारम्भिक चरणमा फोर्टिसले अगष्ट ११ मा कीर्गिस्तानको मुरास युनाइटेडसँग खेल्नेछ ।

प्रतिक्रिया 4