Comments Add Comment

देउवा–पौडेल मिलाउने सिटौलाको प्रयास असफल

आफैं गुटको भेलामा सहभागी भए, पौडेल समूहको अडान कायमै

२ पुस, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति जुटाउन पूर्वमहामन्त्री कृष्ण सिटौलाले थालेको दौडधुप असफल भएको छ । र, बुधबार उनी आफैं पौडेल समूहले बोलाएको बैठकमा सहभागी भएका छन् । यद्यपि सिटौलाले आफू दुबै गुटमा नरहेको धारणा राखेका थिए ।

वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा बसेको बैठकले प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने अडान दोहोर्‍याएको छ ।

बैठकमा वार्ता टोलीका सदस्यहरुले गरेको ब्रिफिङअनुसार अरु विषयमा सहमति जुटे १४ औं महाधिवेशनको कार्यतालिका बनाउन संस्थापन पक्ष सहमत देखिएको छ । पौडेल समूहले मंसिरभित्र महाधिवेशन गरौं भनेको छ भने संस्थापन पक्षले फागुन २०७७ भनेको छ । यसमा धेरै विवाद नहुने नेताहरुको दाबी छ ।

तर अरु विषयमा मिलेको छैन ।

संस्थापन पक्षले ४१ वटा केन्द्रीय विभाग गठन गर्ने र संगठन, प्रचार, विदेश र जनसम्पर्क आफैंसँग राख्ने प्रस्ताव गरेको छ । तर पौडेल समूहले विधानअनुसार २८ विभाग गठन गर्नुपर्ने र भागवण्डा नेता पौडेलले अघि सारेको नाबुँदे सूत्रमा भनिएअनुसार हुनुपर्ने अडान लिएको छ । एक नेताका अनुसार नौबुँदेमा मुख्यमुख्य विभागहरु दुबैतिर पारेर १४/१४ वटाको समूह बनाइएको छ ।

बोहाराटारको भेलामा डा. रामशरण महतलगायतका नेताहरुले त कार्यकाल सकिने बेलामा विभागहरु गठन गर्न आवश्यक नभएको धारणा राखेका थिए । नेता कृष्ण सिटौलाले भने ४१ वटा विभाग बनाउने प्रस्ताव आफूलाई मान्य नहुने, तर विधानअनुसार २८ बनाउँदा आफू तटस्थ बस्ने बताएका छन् ।

तरुण दलबारे धेरै विवाद छैन तर नेविसंघबारे सहमति जुट्ने संकेत देखिएको छैन ।

तरुण दलमा देउवा निकट जितजंग बस्नेत सभापति छन् भने पौडेल समूहका भुपेन्द्रजंग शाही महामन्त्री । तीन पदाधिकारी मात्र भएको तरुण दलले आफ्नो कार्यकाल गुजारिसकेको छ, जहाँ अध्यक्ष र महामन्त्रीको विवाद उत्कृर्षमा पुगेको छ ।

संस्थापन पक्षले ६ महिना म्याद थप्ने प्रस्ताव गरेको छ भने पौडेल समूहले अधिवेशन गराउन विधानअनुसार ९५ सदस्यीय कमिटी बनाउनुपर्नेमा जोड दिएको छ ।

बढी विवाद नेविसंघमा छ । नैनसिंह महर नेतृत्वको कार्यसमिति भंग भइसकेको छ । अहिले सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई सभापति बनाउन चाहेका छन् । संस्थापन, पौडेल, सिटौला र विजय गच्छदार समूहलाई महामन्त्री दिने उनको प्रस्ताव छ । तर पौडेल समूह यो मान्न तयार छैन ।

उसले नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व पाउनुपर्ने र चार महामन्त्री राख्न नहुने अडान लिएको छ । सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षमा भागवण्डा गर्ने पौडेल समूहको प्रस्ताव छ । यसमा सिटौलाको भने सहमति छैन । किनकी भंग भएको कार्यसमितिमा सिटौला समूहबाट महामन्त्री थिए ।

यस्तै पौडेल समूहले नरहरि आचार्य नेतृत्वको समितिले बुझाएको क्रियाशील सदस्यताहरुको नाम र संख्या तत्काल सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ । यो नभई कार्यतालिका बनाउन नमिल्ने पौडेल समूहले बताएको छ । तर पार्टीको अन्तरिम संरचना निर्माणका क्रममा भएको छलफलमा संस्थापन पक्षले यसको हार्डकपी हराएकोले नयाँ बनाउनपर्ने बताउँदै आएको छ ।

सहमतिको प्रयास असफल भएपछि बुधबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी पुस ४ लाई सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment