Comments Add Comment

प्रदेश ५ का १२ सहित ३४ सहकारीले पाए प्रोबेशन ब्राण्ड

३ पुस, बुटवल । वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्रदेश ५ का १२ सहित देशभरबाट ३४ सहकारीले पाएका छन् ।

सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रमअन्तर्गत ५१ वटा सूचकहरु मूल्यांकन गरेर गुणस्तर सुनिश्चितताको प्रोबेशन ब्राण्ड दिने गरेको छ ।

प्रोबेशन ब्राण्ड प्राप्तिका लागि देशभरका दुई सय सहकारीहरु प्रकृयामा रहेकामा ४४ वटाले यस वर्ष प्रतिस्पर्धा गर्दा ३४ वटा सफल भएका नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले जानकारी दिए ।

भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम, संस्थाको जगेडा कोष कूल पुँजीको ५ प्रतिशतभन्दा बढी भएको, व्यवस्थापन खर्च कूल आम्दानीको ५ प्रतिशतभन्दा बढी नगर्ने, कूल पुँजीको १० प्रतिशत तरलता अनिवार्य भएको, एक वर्षभन्दा बढी भाखा नाघेको ऋणलाई शतप्रतिशत डुबन्त कोषमा राखेको लगायत ५१ वटा सूचकहरु पालना गरेका उत्कृष्ट सहकारीहरुले मात्रै यो ब्राण्ड पाउने नेफ्स्कुनका अध्यक्ष बस्नेतले जानकारी दिए ।

‘प्रोबेशन ब्राण्ड पाउन सहकारीको कारोबार सहितको प्रतिवेदन हरेक महिना सहकारी विभाग र नेफ्स्कुनमा पठाएको हुनुपर्छ, लगातार दुई महिना मासिक प्रतिवेदन नबुझाउने सहकारीहरु ब्राण्ड पाउने प्रतिस्पर्धामा योग्य हुँदैनन्,’ बस्नेतले भने, ‘हरेक वर्ष निर्धारित ५१ वटा सूचकहरुमा उत्तीर्ण भएमात्रै प्रोबेशन ब्राण्डको नवीकरण हुन्छ अन्यथा अघिल्लो वर्ष पाएको ब्राण्ड पनि खोसिन्छ ।’

कुन-कुन सहकारीले पाए ?

प्रोबेशन ब्राण्ड पाउनेमा प्रदेशगत हिसाबले प्रदेश ५ सबैभन्दा अगाडि छ । प्रोबेशन ब्राण्ड पाउने सहकारीहरुमा रुपन्देही देवदहको कोलिय-देवदह, तिलोत्तमा शंकरनगरको सामूहिक विकास र कोटिहवाको जनउत्थान साकोस छन् । यस्तै गुल्मीको लेकाली स्वावलम्वन, नवलपरासी पश्चिमका लुम्बिनी र सयपत्री, दाङका महाप्रभु र हरियाली, प्यूठानको फूलबारी, बर्दियाका सिको र हाम्रो मध्यवर्ती तथा कपिलवस्तुको सिनर्जी साकोस रहेका छन् ।

यस्तै मकवानपुरका सक्रिय महिला, महिला जनचेतना, महिला जागरण र  महिला मिलन, काठमाडौंको ऐंचो पैंचो, दोलखाका एकीकृत फ्रेण्डसिप, शिक्षक कल्याण र जनमुखी, मोरङका सुन्दरपुर र गछिया, सल्यानको ग्रामिण, रामेछापको नवजागरण, नवलपुरको नवप्रगती पृथ्वी र परोपकार साकोसले पनि प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् ।

रौतहटको नवविकास, गोरखाका भिमकुल र सप्तकोशी, मोरङका लेटाङ र विरेन्द्रनगर सुर्खेतको शिखर, धादिङको श्रोत परिचालन, भक्तपुरको सामूहिकले पनि प्रोबेशन ब्राण्ड पाएका छन् ।

पुस २ गते निर्णय भएको प्रोबेशन ब्राण्डको प्रमाणपत्र पुस ४ गते काठमाडौंमा हुने नेफ्स्कुनको केन्द्रीय साधारणसभामा वितरण गरिनेछ ।

यो ब्राण्ड पाउन पुँजीको आधारमा वर्ष दिनमा ५ करोडसम्म कारोबार गर्ने साकोसले ७५ हजार, ५ करोडदेखि १० करोड कारोबार गर्नेले एक लाख र १० करोड माथि पुँजी भएको सहकारीले एक लाख ५० हजार शुल्क बुझाउनुपर्ने नियम छ ।

यो ब्राण्ड पाउने सहकारी शेयर सदस्य र बचतकर्ताहरुको विश्वासिलो र भरपर्दो रोजाइमा पर्ने सामूहिक विकास साकोसका वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनी बताउँछन् । ‘यो ब्राण्ड पाउने सहकारीहरु नीति, नियम, विधि र प्रविधिका आधारमा चलेका हुन्छन्, व्यक्ति विशेषको निर्णयको भरमा होइन भन्ने विश्वास शेयर सदस्य र बचतकर्तामा हुन्छ,’ मरासिनीले भने ।

प्रोबेशन ब्राण्ड के हो ?

पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन)-साकोसहरुको गुणात्मक वृद्धिका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले विकास गरेको राष्ट्रिय स्तरीकरण कार्यक्रम हो । नेफ्स्कूनले आफ्नो २५औं स्थापना दिवस एवम् २१ औं वार्षिक साधारण सभाबाट आफ्ना साकोसहरु लक्षित राष्ट्रिय गुणस्तर प्रमाणीकरण कार्यक्रम पारित गरी लागू गरेको हो ।

प्रोबेशन कार्यक्रममा सफल साकोसहरुले नेपाल सरकार सहकारी विभाग र नेफ्स्कूनले संयुक्त रुपमा प्रदान गर्ने प्रमाणीकरण चिन्ह प्राप्त गर्दछन् । यसले साकोसहरुको वित्तीय अवस्था मापन एवं सुनिश्चितताको लागि विशेषतः दुईवटा क्षेत्र र तिनको परीक्षणका लागि दुईवटा औजार ‘पर्ल्स’ र ‘हिमाल’ प्रयोग गर्दछ ।

वित्तीय क्षेत्र मापनमा पर्ल्स र व्यवस्थापकीय कुशलतामा हिमाल विश्लेषण प्रणाली प्रयोग गरिन्छ । पर्ल्समा हाल रहेका ५० मध्ये १५ वटा आधारभूत सूचक र हिमालका ३५ सूचकको आधारमा मापन र सुधारका प्रयासहरु गरिन्छ । शुरुमा १८ महिनाको कार्यक्रम संस्थाको आवश्यकता र क्षमताको आधारमा बढाउन सकिनेछ । साकोसहरु प्रोबेशन कार्यक्रममा सीधै सहभागी हुन पाउनेछन् ।

२०७६ साउन मसान्तसम्म कुल १९५ बचत तथा ऋण सहकारी संस्थाहरु प्रोबेशन कार्यक्रममा आबद्ध छन् जसमध्ये २१ वटा राष्ट्रिय प्रमाणीकरण प्राप्त गर्न सफल भएका छन् ।

देशभरका विभिन्न प्रकृतिका ३४ हजार बढी सहकारीमध्ये बचत तथा ऋणको कारोबार गर्ने सहकारी १५ हजारभन्दा बढी छन् । प्रदेश ५ मा मात्रै ४ हजार बढी सहकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment